अपराधजन्य गतिबिधि सोच्न पनि सक्दिन, सत्यको कसीमा आरोपहरु स्वतः खण्डित हुनेछन्

बैशाख ६, काठमाडौं । बालुवाटारको सरकारी जग्गा खरिद गरेको आरोपमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले दोस्रो वक्तब्य मार्फत प्रष्टिकरण दिएका छन् । 

आज साँझ विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले आफुले उक्त जग्गा नवलपरासी स्थित बर्दघाटको जग्गा बेचेर खरिद गरेको जिकिर गरेका छन् । पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको दावि गरेका छन् । 

 

null

‘२०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० (साविक तिलकपुर गाउँ विकास समिति वडा नं. ३) मा पूर्व पश्चिम राजमार्ग नजिकै मेरो श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा विक्रि गरी प्राप्त उक्त श्रोतबाट उक्त जग्गा खरिद गरिएको र त्यत्तिबेला म विष्णुप्रसाद पौडेल मन्त्री, सांसद वा कुनैपनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको ब्यहोरा पनि अवगत गराउन चाहन्छु ।’ महासचिव पौडेलले भनेका छन् । 

उनले जग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष आफूलाई स्वीकार्य हुने समेत जनाएका छन् । 

पौडेलले छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद आएपछि पौडेलले असोजमा बर्दघाटको जग्गा बेचेर पुसमा बालुवाटारमा जग्गा खरिद गरिएको जिकिर गरेका छन् । 

साथै उनले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सहयोग गर्ने र गरिरहेको समेत जनाएका छन् ।  

पूर्वअर्थमन्त्री समेत रहिसकेका महासचिव पौडेलले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले चालेको कदमलाई आफुले स्वागत गरेको प्रष्ट पारेका छन् । 

‘यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन होस र छानविनका निष्कर्षहरु कार्यन्वयन होउन् भन्ने अपेक्षा गर्दछु । र राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षहरुप्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाएका आरोपहरु पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु साथै सत्यको कसीमा ती आरोपहरु स्वतः खण्डित हुनेछन् ।’ उनले वक्तब्यमा भनेका छन् । 

साथै पौडेलले बालुवाटारको उक्त जग्गाबारे २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएपछि र त्यसपछि मन्त्री हुँदा पनि सम्पत्ति विवरणमा खुलाउँदै आएको बताएका छन् ।  

उनले सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई कीर्ते गर्ने वा गराउने कार्यमा आफू र आफ्नो परिवारको प्रत्यक्ष अप्रत्यक्ष संलग्न नरहेको र यस्तो अपराधजन्य गतिविधि सोच्न समेत नसकिने बताएका छन् । 

यसअघि पनि पौडेलले विज्ञप्तिमार्फत जग्गा घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । तर यो विषयले थप उग्ररुप लिइरहँदा पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज समेत उठ्न थालेको छ । 

उनले २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको समेत जनाएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *