भोल्टेजको समस्या बढदै, प्राधिकरण बेखबर
“
असार २१, चन्द्रपुर । जिल्लाको चन्द्रपुर नगरपालिका क्षेत्रमा दिनप्रतिदिन न्यून भोल्टेजको समस्या बढदै जान थालेको स्थानीयले बताएका छन् । दैनिक जसो विद्युतीय उपकरण चलाउनेहरु विद्युतको भोल्टेजका कारण हैरान बन्दै जान थालेको भएपनि बिधुत प्राधिकरण कानमा तेल हालेर बसेको उनिहरुले आरोप समेत लगाएका छन् । पछिल्लो केही समय यता आएर चन्द्रपुर नगरपालिका क्षेत्रमा दैनिक जसो धेरै समय लोडसेडिङ हुने गरेको छ ।
एकातिर लोडसेडिङको समस्या अनि अर्कोतिर न्युन भोल्टेजको समस्याले बिधुत प्रयोग गर्ने सबैलाई कष्टमात्र दिएको चन्द्रपुर नगरपालिका ४ का स्थानीय बासिन्दा तथा व्यापारी राजु तिवारीले बताए । न्युन भोल्टेजका कारण आफुले बेच्ने गरेको टिभि, फ्रिज, पंखामा समेत समस्या देखा पर्न थालेको र यसको समाधान प्राधिकरणले छिट्टै गर्नुपर्ने तिवारीले बताए । एक त साबिकको भन्दा लोडसेडिङ पनि धेरै गर्ने अनि बत्ति दिएको बेला पनि न्युन भोल्टेज दिएर दुख मात्र प्राधिकरणले दिने गरेको चन्द्रपुर ९ सिन्दुरेघारीका स्थानीय बासिन्दा तथा शिक्षक कृष्ण दुलालले बताए । यता चन्द्रपुर नगरपालिकाको मुख्य बजार चन्द्रनिगाहपुरमा समेत धेरै बिजुली कटौती हुने गरेको र कहिले २०० भोल्ट आउने गरेको त कहिले १४० भोल्ट आउने गरेकाले सर्वसाधारण हैरान बनेका छन् ।
नगरबासिले प्रयोग गर्ने विधुतीय सामाग्री न्युन भोल्टेजका कारण बिग्रन थालेपछि उनिहरु आक्रोसित बन्दै गएका छन् । नगरका विभिन्न स्थानमा संचालनमा रहेका साना कलकारखाना, मिल, रेडियो स्टेशन, प्रिन्टिङ प्रेस, स्वास्थ संस्था संचालनमा समेत समस्या देखापर्न थालेको भएपनि चन्द्रनिगाहपुरमा रहेको विद्युत प्राधिकरणको शाखाले ध्यान नदिएका कारण आर्थिक क्षति ब्यहोर्न बाध्य भएका छन् ।
“