टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

माघ ११, काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्पमा परि कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । 

६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो । 

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ । भूकम्पबाट टर्कीस्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायका अनुसार, भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएका छन् । 

टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भूकम्पपीडितहरूको राहत र उद्धारका लागि पनि ४०० टोली परिचालन गरिएको जनाएका छन् । 

टर्कीमा भूकम्प स्वभाविक मानिन्छ । सन् १९९९ मा यहाँ गएको भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धारकर्ताहरू बिछौना र टेन्ट बोकेर जाँदै छन्। सरकारले भूकम्पले प्रभावित घरमा नजान सर्वसाधारणहरूलाई आग्रह गरेको छ। 

“त्यो निकै डरलाग्दो थियो। हामी माथि सामान खस्यो। र हामी बाहिर भाग्यौँ,” एएफपी समाचार संस्थाले ४७ वर्षीय मेलाहन्ट क्यानले भनेको उल्लेख गरेको छ। 

भूकम्प गएको क्षेत्र राजधानी अङ्काराबाट करिब ५५० किलोमिटर पूर्वतिर पर्छ र त्यो क्षेत्रको जनसङ्ख्या त्यति धेरै छैन जस कारण क्षति र मृत्यु हुनेको सङ्ख्याबारे थप विवरण आउन समय लाग्न सक्ने बताइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *