यो हो सिंहदरबारभित्रको ‘घण्टी मन्त्रालय’ ! (भिडियोसहित)

काठमाडौँ, माघ १९ । धर्म र विज्ञान एक अर्काका अन्तर विरोधी हुन् । दुवैले एकले भनेको कुरा अर्काले मान्दैनन् । हामीले यस विषयमा तल्लो तहको कक्षादेखि नै पढ्दै आएको छौँ । त्यसमाथि मुलुक धर्मनिरपेक्षता बनेको छ । तर, तपाई केही काम विशेषले सिंहदरबार पुग्नुभयो भने विज्ञान मन्त्रालयको गेटमा आधा घण्टासम्म घण्टी बजाउँदै गरेको देख्न सक्नुहुन्छ । दश बजेदेखि साढे दश बजेपछि सम्म पनि । तर, साढे दश बजेभित्र कर्मचारीहरु कार्यकक्षमा छिरिसक्ने हुनाले घण्टी पनि त्यतिबेलासम्म बजिरहन्छ ।

शुक्रबार बिहान १० बजे काम विशेषले मन्त्रालयको गेटमा पुग्दा कोही कर्मचारीहरु मन्दिरको मुर्ति ढोग्दै, कोही चाहीँ घण्टी बजाइरहेका देखिन्थे । हाल उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेर बहादुर देउवाले सम्हाल्दै आएका छन् । मन्त्रालयका सचिव डा. सञ्जय शर्मा छन् ।

ढोकाबाट भित्र छिर्न खोज्दा एक जना महिला मन्दिरलाई ढोगेपश्चात् निधारमा टिका लगाउँदै आफ्नो कार्यकक्ष कोठाभित्र छिरिन् । पछि थाहा भयो, उनी विज्ञान मन्त्रालयका उप–सचिव कल्पना श्रेष्ठ रहेछिन् । यसरी १० बजेसँगै धमाधम कर्मचारीहरु मन्त्रालय छिर्न जति व्यस्त देखिन्थे उति मन्दिर ढोग्न पनि व्यस्त देखिन्थे । मन्दिर ढोग्ने र घण्टी बजाउनेहरुमा तल्ला तहदेखि माथिल्ला तहसम्मका कर्मचारीहरु थिए, कार्यालय सहयोगीदेखि सचिवसम्मका ।

भवनको दुई तला माथि रहेको विज्ञान मन्त्रालयसँगै त्यसभित्र वातावरण तथा जनसंख्या र सहकारी तथा गरिबी निवारण मन्त्रालय गरि तीन मन्त्रालय रहेका छन् । सहकारी मन्त्रालयबाहेक दुवै मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले चलाउँदै आएका छन् । तीन मन्त्रालयका कर्मचारीहरु फुर्संदिला नै छन् । अरु मन्त्रालयझै त्यति कामको चाप पनि हुँदैन र त्यसमाथि देश संघीयतामा गइसकेको हुनाले कर्मचारीहरु घाम ताप्ने गरेका छन् ।

 मन्दिर मन्त्रालय
सन्दर्भ निक्कै रोचक नै देखिन्छ । विज्ञान मन्त्रालयभित्र मन्दिर पूजा गर्नु मुख्य उद्धेश्य के ? कि विज्ञान मन्त्रालयको ठाउँमा मन्दिर मन्त्रालय मन्त्रालय बनाउन खोजिएको हो ? त्यसो त नेपालमा कतिको संख्यामा वैज्ञानिक स्थापित भएका छन् ? त्यसैले सजिलै यो पनि अनुमान लगाउन सकिन्छ अब जति सक्दो चाँडो वैज्ञानिकहरुको उब्जनी होस् भन्ने खातिर मन्दिरमा बिहान बेलुकी मन्दिरको पूजा गरिन्छ ।

विज्ञान मन्त्रालयको बाहिर प्रांगणमा भगवान गणेशको मूर्ति सजाएर राखिएको छ । तर, त्यो मूर्तिको आकर्षक भने त्यति देखिँदैन । भित्र छिरेपछि विज्ञान मन्त्रालयको दर्ता/चलानी कोठा मुन्तिर रहेको उक्त मन्दिर, भगवान् गणेशको हो । नाम ‘बुद्धिविनायक’ मन्दिर । भवनको प्रवेशद्वारको दायाँतर्फ विज्ञान र बायाँतर्फ वातावरण मन्त्रालयको दर्ता/चलानी उल्लेख गरिएको छ । जहाँ काम विशेषले पुग्ने सर्वसाधारणले दायाँतर्फको विज्ञान मन्त्रालयसँगै रहेको मन्दिर देख्न सकिनेछ ।

कसले गर्छ पूजा ?
हरेक दिन ‘बुद्धिविनायक’ मन्दिरमा ‘तुलसा’ नाम गरेकी एक जना महिलाले पूजापाठ गर्दैै आएकी छिन् । जस्ले गर्दा मन्त्रालयका मन्त्रीहरुलाई पनि सहज बनाएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका कम्प्युटर अपरेटर रविना गुरुङ भन्छिन्,‘ तुलसा दिदीले बिहान पूजा पाठ गर्नुहुन्छ । उहाँ कार्यालय सहयोगी पनि हुुनुहुन्छ । जस्ले गर्दा सबैलाई मन्दिर धाउने सास्ती हटेको छ । समयको पनि बचत भएको छ ।’ उक्त मन्दिरमा मन्त्री, सचिव र कर्मचारी सबैले आफ्नो कार्यकक्षमा जाँदा ढोगबेड गर्दै जाने पनि उनले बताए । ‘विज्ञान मन्त्री, वातावरण मन्त्री र सहकारी मन्त्रालय गरि यहाँ तीन मन्त्रालय छन् । मन्त्रालयका मन्त्रीज्यूहरु कार्यकक्ष प्रवेश गर्दा मन्दिरलाई नढोगी छिर्नुहुन्न ।’

यता, वातावरण मन्त्रालयका शाखा अधिकृत ओम अधिकारी भन्छन्,‘हो, मन्त्रीज्यूहरु आउँदा र जाँदा कहिलेकाही दुइ पटकसम्म ढोग्नुहुन्छ । पहिला यहाँ मन्त्रालय थिएन, राष्ट्रिय कम्प्युटर केन्द्रको कार्यालय थियो । त्यतिबेला यो मन्दिर पनि यहीँ थियो । सबैको बुद्धिमा घाम लागोस् भनेर बनाइएको रहेछ, ‘बुद्धिबिनायक’ मन्दिर ।’ उनी भन्छन्,‘पछि मन्त्रालय आएपछि यो मन्दिरको सानै बढेको छ । सबैलाई मन्दिर धाउनुपर्ने समयको बचत भएको छ ।’

उक्त मन्त्रालयको गेट भित्र ‘बुद्धि पलाओस्’ भनेर मन्दिरको हिफाजत गरिएपनि अहिलेको कामचलाउ सरकारले मनपरी नियुक्ती, शहीद घोषणा र वृद्ध भत्ता लगायतका नचाहिदो उपद्रो गर्दै आएको छ । यस बारेमा त्यहाँ भेटिएका एक कर्मचारी भन्छन्,‘ खै ! के भन्नु र ?‘बुद्धिविनायक’ मन्दिर ढोग्ने मन्त्रीहरुको त घैटोमा घाम लागेको छैन । अरु त अरु नै भइहाले नि !’

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/HqUS2349Uf0

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *