धर्म परिवर्तनले संस्कार संस्कृति बिर्संदै सुनाकोठी, टोलैपिच्छे बाइबल कलेज, सियोन स्कुलको विवादमा समितिले हात झिक्यो

पुस २२, काठमाडौं । ललितपुर ऐतिहासिक पुरातात्विक, सांस्कृतिक रुपमा धनी जिल्ला हो । यसै जिल्लाको पश्चिम दक्षिणवर्ती क्षेत्रस्थित सुनाकोठी पनि कला, संस्कृति र पौराणिक पृष्ठभूमिले धनी क्षेत्र हो । तर, डेढ दशक यता सुनाकोठीले आफ्नो परिचय विस्तारै बदल्दै गएको भान हुन्छ ।   

सुनाकोठीले आफ्ना मौलिक धर्म संस्कृति र परम्परा विर्सँदै जानुमा युवाहरु आधुनिकता तर्फ ढल्कनुमा जति जिम्मेवार छ त्यो भन्दा बढि त्यहाँ मौलाएको धर्म परिवर्तनको खेल  पनि जिम्मेवार छ । यो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु सनातन धर्म मान्दै आइरहेकोमा पछिल्लो डेढ दशक यता टोलमा मौलिक परम्परा र संस्कृति त्यागेर इसाई धर्म अंगाल्नेहरु ह्वात्तै बढेका छन् ।   

‘हाम्रो पिता पुर्खाले मान्दै आएको चलन छोरानातीले विर्सिदिए, अहिले त उनीहरु जयमसि भन्दै हिँड्छन् ।’ ७८ वर्षिय टिकामाया महर्जनले भनिन् । उनलाई आफ्नै सन्तानले धर्म परिवर्तन गरी इसाई भएकोमा दुखः छ । ‘खै बाबु कस्तो धर्म हो यो, शनिबारै पिच्छे चर्च जान्छन्, दशै तिहार, म्पुजा मनाउँदैनन्, काजक्रिया पनि गर्दा रैनछन् । बाउबाजेले मान्दै आएको चलन मेटियो ।’ तीन छोरा २ छोरी कि धनी टिकामायाका माइला र कान्छा छोराका परिवारै क्रिष्टियन भएका छन् । ‘उनीहरु त याँबाट भक्तपुर गैसके । चाडवाडमा पनि आउँदैनन्, सारै खल्लो लाग्दो रहेछ । हाम्रो त संस्कार र संस्कृति नै मेटिने पो भयो’ टिकामाया भन्छिन् । 

अहिले सुनाकोठीमा बयोबृद्ध टिकामाया जस्ता धेरैका सन्तान धर्मपरिवर्तन गरेर इसाई भएका छन् । सनातन धर्म त्यागेर अन्य धर्म अंगाल्नेहरु मध्ये सबैभन्दा धेरै इसाई भएका छन् । परम्परादेखि नै आफ्नो जाति, धर्म र संस्कृति मान्दै आएका रैथाने समेत बाह्य धर्म प्रति आकर्षित हुनुमा मुख्य कारण थियो, ‘धर्म परिवर्तनपछि मुक्ति पाइन्छ । धन दौलत ऐसो आराम पाइन्छ । अनी विभिन्न रोग ब्याधीबाट मुक्त होइन्छ’ भन्ने प्रलोभन । र, यो प्रलोभन फैलाउनेहरु समाजमा ब्याप्त गरिबी, रोग र दुःखबाट पार लगाउन भन्दै आएका गैर सनातनधर्मीहरु नै थिए ।   

हातमा स–साना बाइबल बोकेर गाउँघर छिरेका इसाई धर्मावलम्बीले सुनाकोठीका जनतामा बाइबलको यसरी गुणगान गाइदिएकी गरिबीको चपेटामा जकडिएका समुदाय परिवर्तन गर्ने शक्ति नै बाइबलमा छ, भनेर विस्वास गरे । सदियौं देखि मान्दै आएको सनातन धर्म नै त्यागिदिए । यतिमात्र हैन एकै पटक दर्जनौ घरपरिवार इसाई भए ।   

घरघरमा बाइबल भित्रियो, चौकचोकमा झुण्ड, मण्डली र चर्च खोलिए । हरेक शनिबार चर्च र मण्डलीमा बाइबलका श्लोक भट्टिन थाले । प्रभु येशुको फोटो झुण्ड्याउन थाले । अहिले सुनाकोठी बाइबलीय शिक्षा प्राप्त गर्ने महत्वपूर्ण डेस्टिनेशन बन्दै गइरहेको छ । सुनाकोठी वरवर मात्रै बाइबलीय शिक्षा दिने चर्च तथा कलेजको संख्या आधा दर्जन पुगिसकेको छ ।   

लगानी एउटाको सञ्चालक अर्कै 

नेपालकै सबैभन्दा पुरानो बाइबल कलेजका रुपमा रहेको नेपाल प्रेष्वेटेरियन थ्योलोजिकल सेमिनारी सुनाकोठी मै छ । सन्, १९८६ मा स्थापना भएको यो कलेज भन्नका लागि नेपालीबाटै सञ्चालित भनिएपनि कलेज कोरियाकै एउटा चर्चको लगानीमा छ । यो कलेज कोरियाली मिसिनरी स्व. रेभ्रो डा. इम्मानुयल सुङ हो लीले स्थापना गरेका हुन् । सिक्कीम दार्जलिङमा डा. प्रकाश तामाङ अध्यक्ष तथा प्रिन्सिपल रहेर काम गर्दैछन् । तर, भित्रिरुपमा एक जना कोरियन नागरिकले नै यसको ब्यवस्थापन गर्दै आइरहेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए ।   

अहिले कलेजमा बाइबलिय शिक्षा अन्तर्गत ब्याचलर अफ थ्योलोजी, ब्याचलर अफ आर्टस लगायत मास्टर्स लेवलमा  ४० जना बाइबलिय शिक्षा पढिरहेका छन् । तर, यो कलेज नेपाल सरकार अन्तर्गत दर्ता भएर चलेको छ । नत नेपाली विश्वविद्यालयले नै मान्यता दिएको छ । आलिसान वंगलाभित्र रहेको कलेजमा भित्रि रुपमा बाइबल प्रचारप्रसार गर्ने तथा गाउँगाउँमा गएर संगठित रुपमै धर्म परिवर्तनको काम हुने गर्दछ । 

कोरियन चर्चको गैरकानुनी लगानी 

सुनाकोठीमै रहेको अर्को बाइबलिय कलेजको आन्तरीक स्रोत के हो ? त्यहाँका सदस्यलाई नै थाहा छैन । डा. सुमन गाैतमले सञ्चालन गरेको नेपाल मेथोडिस्ट थ्लोलोजिकल सेमिनारीको आम्दानीको स्रोत के हो खुलेको छैन । कलेजका कर्मचारीले विद्यार्थी पढाए वापत उठ्ने शुल्क तथा भेटी नै कलेजको मूल स्रोत बताएपनि ४०–५० जना मात्र विद्यार्थी पढाएर दर्जनौं कर्मचारी, शिक्षक र प्रर्वतक राख्न संभव छैन ।   

स्रोतका अनुसार सुमन गौतमले बाइबलिय शिक्षा प्रचारका लागि कोरियन चर्चबाट आर्थिक सहयोग लिने गर्छन् । उनको विलासी जिवनशैली र बारम्बार विदेश भ्रमणलाई हेर्दा पनि उनले कलेजकै आन्दानीले त्यस्तो खर्च गर्न नसक्ने स्वयं चर्चका कर्मचारी भन्छन् । हुन त डा. गौतम लामो समय कोरिया बसेर त्यहीँबाट फेलोसिपमा डिग्री हासिल गरेर आएका ब्यक्ति हुन् । उनले कोरियन नागरिकसँग विवाह समेत गरेका छन् । डा.गौतमले सञ्चालन गरेको कलेज इन्टरनेशनल एशोसिएशन फर थ्योलोजिकल एक्रिडिएस सँग सम्बन्धित छ ।   

डा. गौतम नेपाल मेथोडिस्ट काउन्सिल (नेपाल तरिकाबद्ध परिषद्) का संस्थापक अध्यक्ष समेत हुन् । वि.स. २०५८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई समाज कल्याण परिषद्मा समेत दर्ता भएको काउन्सिलले आम्दानीको स्रोत समेत परिषद्मा खुलाएको छैन । काउन्सिलले गैरकानुनी रुपमा देशका विभिन्न भूभागका जग्गा जमिन जोड्ने र पछि ब्यक्तिगत रुपमा नामसारी गर्ने गरेको खुलेको छ । यो संस्थाको आम्दानीको मुख्य स्रोत कोरियन मेथोडिस्ट चर्च रहेको स्रोतको दावि छ । डा. गौतमलाई कलेजको विषयमा कुरा गर्न पटकपटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहिरहेका छैनन् । 

पूर्वराष्ट्रपतिबाट शिक्षा पदक पाउनेकै बाइबलीय कलेज 

ललितपुर सातदोवाटो भित्र सञ्चालित नेपाल थ्योलोजिकल कलेज नत नेपाल सरकारमा दर्ता छ नत त्रिभुवन विश्वविद्यालयबाट नै मान्यता प्राप्त । तरपनि आलिसान भवनमा वेपरवाह सञ्चालित छ । यो कलेज युनिभर्सिटि अफ वेल्सबाट पिएचडी गरेर आएका बालकृष्ण शर्माले सञ्चालन गरेका हुन् । इसाई धर्मकै बारेमा पुस्तक समेत लेखेका शर्माले उक्त कलेज कुन आर्थिक स्रोतबाट निर्माण गरे स्वयं नेपाल इसाई समाजलाई पनि थाहा छैन । इसाई समाजका एक अधिकारीले शर्माको नेपाल थ्योलोजिकल कलेजको आन्तरिक स्रोत अर्थात ४०–५० जना विद्यार्थी पढाएर मात्रै त्यत्रो संरचना निर्माण गर्न नसक्ने बताए ।   

शर्माको उक्त चर्चमा आधुनिक २ बंगला छन् । यिनी पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट सन् २०११ मा नेपाल शिक्षा पदकबाट समेत विभूषित भइसकेका छन् । डा. शर्मासँग कलेजका विषयमा बुझ्न सम्पर्क गर्दा कलेजमा रहेका कर्मचारीले समेत बताउन चाहेनन् । ‘हामीले डाइरेक्ट जानकारी दिन मिल्दैन, अहिले कलेज बन्द छ, खुलेपछि आउनुस ।’ आफुलाई त्यहाँको कर्मचारी बताउने एक युवाले भने । 

परिवर्तन गर्ने शक्ति भन्दै विदेशी लगानी 

डिल्लीराम पौडेल 

करिब ७ वर्षअघि ‘परिवर्तन गर्ने शक्ति’ भन्दै पूर्वाञ्चलमा नेपाल इसाई समाजले एक महिनासम्म ठूलो कार्यक्रम गरेको थियो । विराटनगरका डिल्लीराम पौडेलकै अगुवाईमा चलेको एक महिने क्याम्पिएनले पूर्वाञ्चलभरी इसाई धर्मको प्रचारप्रसार गर्ने मात्र हैन पिडामा रहेका ब्यक्तिलाई उद्दार गर्ने भन्दै हटलाइन समेत सञ्चालन गरेको थियो । ‘परिवर्तन गर्ने शक्ति’ भन्दै सोझासिदा सर्वसाधारणलाई भ्रम छर्न खोजिएको भन्दै विरोध समेत भयो । उक्त कार्यक्रमलाई माइक्रोसफ्ट कम्पनीका विल गेट्सको एक धार्मिक संस्थाबाट स्पोन्सर गरिएको भन्ने चर्चा थियो ।   

चर्चका नाममा मनपरी   

यसरी देशभरी इसाई धर्मको प्रचार प्रसारका लागि खुलेका सानातिना भुण्ड, मण्डली, चर्च तथा कलेजको संख्या करिब ३२ हजार रहेको देखिन्छ । प्रायः गरिबीको चपेटामुनी रहेका समुदाय, दलित, अल्पसंख्यक, आदिवासी जनजाति कमजोर आर्थिक अवस्था र उपचार गर्न नसकेर घरमा थलिएकालाई समेत इसाई धर्मका प्रवर्तकले लोभलालच देखाएर धर्म परिवर्तन गराउने गरेको सनातन धर्मका प्रर्वतक अभिषेश जोशी बताउँछन् । 

‘तपाईहरु बुझ्नुस इसाईहरुले कमजोर आर्थिक अवस्था भएका, रोगले थलिएर उपचार गर्न नसकेका, समाजमा आफ्नै आर्थिक हैसियत भएकालाई मुख्य निशाना बनाएर धर्म परिवर्तन गराईरहेका छन् । घरमा एउटा विरामी भयो र त्यसलाई निको पार्न भन्दै इसाई बनाएपछि घरका सबै परिवारलाई नै इसाईकरण गर्छन् ।’ उनी भन्छन् ।   

जोशीले आफुले इसाई धर्मको विरोध नगरेपनि धर्मपरिवर्तनका विरुद्धमा भने बोल्ने गरेको बताए । ‘धर्मनिरपेक्ष राज्यमा तपाई कुन धर्म मान्नु हुन्छ त्यो ब्यक्तिगत स्वतन्त्रता हो, तर अनेक लोभलालच देखाएर जवरजस्ती धर्म परिवर्तन गर्नु चैं गैरकानुनी हो ।’ उनी भन्छन् ।   

दर्ता अभावमा देखिएको जटिलता 

समाज कल्याण परिषद् काठमाडौंका एक अधिकारीले पनि धर्मपरिवर्तनकै लागि विदेशबाट ब्यक्तिको नाममा तथा अबैध बाटोबाट अरबौं रकम आउने बताएपनि राज्यले नियमन गर्न नसकेको स्विकारे ।   

सरकारले नेपालमा चर्चलाई आधिकारिक रुपमा दर्ता गर्न दिएको छैन । त्यहि भएर देशभर खुलेका चर्चहरु ब्यक्तिको नाममा दर्ता भएका छन् । अर्थात आवासिय भवन भनेर ब्यक्तिको नाममा लालपुर्जा लिएर चर्चहरु चलेका छन् । कतिपय स्थानमा भने नेपाल मेथोडिस्ट काउन्सिलको नाममा सम्पत्ति जोडिएको छ ।   

वातावरण, स्वास्थ्य र शैक्षिक क्षेत्रमा सरकारसँग सहकार्य गरेर सामाजिक काम गर्ने भनि खोलिएको नेपाल मेथोडिस्ट काउन्सिलले गैरकानुनी रुपमा चर्च स्कुल खोल्नु तथा गाउँगाउँमा जवरजस्ती धर्मपरिवर्तनको अभियाननै चलाई रहँदा राज्य भने मौन छ । ‘यदी राज्यले चर्चहरुलाई कानुनी दायरामा ल्याउन दर्ता खोलिदिने हो भने, अबैध बाटोबाट नेपालमा भित्रिएको रकम समेत नियन्त्रण गर्ने बाटो खुल्थ्यो ।’ समाज कल्याण परिषद्का अधिकारी नाम उल्लेख नगर्ने शर्तमा भन्छन् ।   

गुम्बा र मस्जिदमा समेत समस्या   

इसाई धर्मको जसरी ब्यापकता छ त्यसरी नै नभएपनि नेपालमा बौद्ध र मुस्लिम धर्ममा पनि विदेशी लगानी भित्रने गरेको जानकारहरु बताउँछन् । आदिवासी जनजाति क्षेत्र बाहुल्यता भएको स्थानमा करोडौं खर्च गरेर गुम्बाहरु बनेका छन्, भने तराई क्षेत्रमा मुस्लिम समुदायमा मस्जिद, मदरसा निर्माण गर्नकै लागि विदेशबाट करोडौं रुपैंया अबैध बाटोबाट भित्रने गरेको सुरक्षानिकायको निष्कर्ष छ ।   

केहि समय अघि मात्रै राष्ट्रिय अनुसन्धान विभागले पूर्वका धेरै चर्च, गुम्बा र मस्जिदहरुको आन्दानीको स्रोत, ब्यवस्थापन र पदाधिकारीका सन्दर्भमा समेत खोजिनिती गरेको थियो । विभागले नेपालमा धार्मिक संघ संगठनका नाममा आतंकवादको लगानी समेत भित्रिने खतरा रहेको औंल्याएको छ ।   

सनातन धर्ममा समेत लगानी 

धर्मनिरपेक्ष राज्य घोषणा हुनु अघि नेपाल सनातन धर्म राष्ट्र थियो । तथापि, नेपालको संविधानले सबै धर्म सम्प्रदायमा समाज नजर बनाएको थियो । सबै जाति धर्म र सम्प्रदायलाई स्वइच्छाले आफ्नो संस्कार संस्कृति मान्ने छुट थियो । तर, २०६४ साल पछि मुलुक धर्मनिरपेक्ष राष्ट्र भयो । त्यसपछि भने नेपालमा विभिन्न तरिकाबाट धार्मिक सद्भाव विगार्नकै लागि विदेशी लगानी भित्र्याउन थालिएको छ ।   

हिन्दु धर्म र सनातन धर्मकै नाममा विदेशबाट करोडौं रुपैंया भित्रने गरेको छ । भारत, श्रीलंका, दक्षिण एशियाली राष्ट्रबाट मात्र नभइ युरोप अमेरिकी देशबाट समेत हिन्दु धर्मको संरक्षण र प्रर्वद्धनमा करोडौं रुपैंया भित्रने गरेको सरकारी अधिकारीको धारणा छ । बुद्ध धर्म र हिन्दु धर्मका नाममा नेपाल अधिराज्य भर मन्दिर र गुम्बा निर्माण भइरहेका छन् । जसलाई राज्यले समेत नियमन गर्न सकिरहेको छैन ।   

चर्च, गुम्बा, मस्जिद, मन्दिर स्कुलका नाममा अहिले नेपाल सबैको ब्यापारीक थलो बनेको छ । धर्मपरिवर्तन र धर्मसंरक्षणका नाममा विदेशबाट आएको अरबौं गैरकानुनी लगानीले देशकै अर्थतन्त्रलाई असर गरेपनि राज्यले नियमन गर्न सकिरहेको छैन । धर्मनिरपेक्ष राज्य भएकै फाइदा उठाउँदै धर्मको नाममा स्वामी, सन्त, महन्त र पास्टरको खोल ओढेर ब्यापार गर्नेहरुले कमाउ धन्धा चलाईरहेका छन् । गाउँगाउँमा गरिबी उल्मुलन गर्ने भन्दै आएका एनजिओ आइएनजिओहरु धनी बन्दैछन् गरिब झन गरिब बन्दैछन् ।     

सियोन स्कुलको विवादः समितिले हात झिक्यो 

धरान स्थित सियोन स्कुल 

धरान स्थित सियोन स्कुलको जग्गा विवादमा स्थानीय इसाई अगुवाहरुले पास्टर मणि राईको संयोजकत्वमा गठन गरेको विवाद समाधान समिति नै विघटन गरेका छन् । धरान १६ स्थित सियोन स्कुलका डाइरेक्टर खड्ग थापा मगर र पिआरओ मेहरमान ह्युजविचको विवाद समाधान गर्न भनि बनाइएको समितिले कुरा नमिलेपछि हात झिकेको समितिका एक सदस्यले बताए ।   

‘दुवै पक्षलाई राखेर सम्झाउने प्रयास भयो तर, स्कुलका डाइरेक्टर र मेहरमान दुवैले आ आफ्ना अडान नछाडेपछि हामीले कमिटि विघटन गरेका हौं ।’ एक सदस्यले भने । कमिटिका संयोजक मणी राईलाई यस विषयमा जानकारी माग्न सम्पर्क गर्दा उनले मोवाइल नै अफ गरे ।   

स्रोतका अनुसार मेहरमान पक्षले खड्ग थापा मगरलाई स्कुल र सियोन मेथोडिस्ट चर्चबाट छुट्एिर नयाँ चर्च बनाउन ५० लाख डिमाण्ड गरेका थिए । भने, डाइरेक्टर थापा मगरले पनि २५ लाख सम्म दिने प्रस्ताव गरेका थिए । यस विषयमा खड्ग थापा मगर र मेहरमान ह्युज दुवैलाई पटकपटक सम्पर्क गर्ने प्रयास भएपनि सम्पर्कमा आएका छैनन् । एउटा संस्थाको श्री सम्पत्तिमा यसरी ब्यक्तिहरुले मनपरी गरेको सार्वजनिक भएपनि इसाई समाजमा त्यसको विरोध भइरहेको छ ।  

याे पनि हेर्नुहाेस 

http://www.makalukhabar.com/news/708250 

http://www.makalukhabar.com/news/302606 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *