महराका छोराहरु भन्छन्– बुख्याँचा खडा गरि क्रान्तिकारी समाप्त गर्न खोज्ने नेपाली दलालहरु चिनियो
असोज १५, काठमाडौँ । एक महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएको समाचारले नेपाली सञ्चारमाध्यममा तरंग नै पैदा गर्यो । यौन हिंसाको आरोप मात्रै लागेन पूर्व भामुख महराले सोही कारण पदबाट राजिनामा नै दिनु पर्यो ।
समाजिक सञ्जाल र विभिन्न ठाउँमा अहिले महरा र ती महिला दुवैका विषयमा फरक फरक किसिमका टिक्का टिप्पणी भइरहेका छन् । कतिपयले महिलाले झुटो आरोप लगाएको भनेका छन् भने कतिपयले वास्तविकता बाहिर आएकाले महरामाथि कारबाही हुनुपर्ने माग गर्दै आएका छन् । यद्यपी सम्बन्धित निकायबाट सत्यतथ्य छानविन भइरहेको जनाइएको छ । छानविनपछि घटनाक्रमले कस्तो रुप लिन्छ त्यो भने हेर्न बाँकी नै छ ।
यही घटनाक्रमको बीचमा महराको दुई छोराहरुले सामाजिक सञ्जालमा स्ट्याटटस पोस्ट गर्दै एउटै आशयको तर्क व्यक्त गरेका छन् । निर्मल महरा र राहुल महरा दुवैजनाले क्रान्तिकारी नेताहरुलाई समाप्त पार्न षड्यन्त्र गरिएको आशय स्ट्याटसमार्फत व्यक्त गरेका छन् ।
महराका छोरा दुवैजनाले आफूहरुले हतियार बोकेको तस्बिरसँगै स्ट्याटस पोस्ट गरेका हुन् ।
यस्तो छ स्ट्याटस ।
‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ, आज ब्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठ्नद्वारा चिन्ता व्यक्त गर्ने, र मिडियामार्फत सहयोग पुर्याइ षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सन्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, बिपक्ष दलका मित्र हरु चिन्ने मौका मिलेको छ ।
असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको छ । बुख्याछ्याहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्न प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तकारीहरुसंग फेरि भेट हुने छ ।’