चौवन्नी सदस्यता लिएकाको यत्रो चलखेल


खगेन्द्र अधिकारी । बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा डा. राजकुमार रौनियारले कुर्सी सम्हालेपछि प्रतिष्ठानमा आर्थिक, प्रशासनिक अनुशासनहीनताले परकाष्टा छोएको छ ।
उपकूलपतिले यति बेला प्रतिष्ठानको इतिहासमा कहिल्यै नभएका दीर्घकालीन असर पर्ने र सदैव कलङ्क लाग्ने प्रकारका निर्णयहरू गर्न थालेपछि प्रतिष्ठानमा कार्यरत पुराना वरिष्ठ चिकित्सकहरु कि आन्दोलन गर्ने, कि राजीनामा दिएर पलायन हुने मनस्थितीमा पुगेका छन् । प्रतिष्ठानबाट यसअघि केही विशेषज्ञ डाक्टरहरुले राजीनामा दिइसकेका छन् । अहिले पुनः उपकूलपति डा. रौनियारकै समकक्षी डाक्टरहरुसमेत दिक्क भएर राजीनामा दिने सोचमा छन् । ‘डा. रौनियारले प्रतिष्ठान बनाउनुहुन्छ जस्तो लागेको थियो, तर, अहिले हामी आफैँ काम गर्न सक्ने अवस्थामै भएनौं । वीसौं वर्षदेखि प्रतिष्ठानका लागि गरेको योगदानको कदर भएन ।’ एक वरिष्ठ चिकित्सकले बताए । उनले प्रतिष्ठान भित्र चरम भ्रष्टाचार मौलाउँदै गएको, कार्य समिति पदाधिकारी नै भ्रष्टाचारमा लिप्त भएको व्यवस्थापन कमजोर भएको भन्दै अधिकांश वरिष्ठ र पुराना चिकित्सक निराश भएको जिकिर गरे ।
विदेशीलाई MD/MS मा पुनः परीक्षा
प्रतिष्ठानले यसै शैक्षक सत्रमा सञ्चालन गरेको MD/MS को प्रवेश परीक्षामा विदेशीको निमित्त प्रति चिकित्सक १ करोड पचास लाख तिर्ने गरी २२ वटा सिट विज्ञापन ग¥यो । इन्ट्रान्स परीक्षामा ८ जना विद्यार्थी मात्र पास गराईयो । यो परीक्षामा प्रतिष्ठानका सहायक डीन डा. मधुर बस्नेतलाई डा. रौनियारले मोहरा बनाएर परीक्षा दिने प्रायः सबै विद्यार्थीलाई फेल गराए । यसले परिणामतः प्रतिष्ठानलाई २१ करोड घाटा हुने अवस्था सिर्जना भयो । अब प्रतिष्ठानलाई घाटा हुन नदिन भन्दै डा. रौनियार विदेशीका लागि MD/MS को पुनः परीक्षा गर्ने भनी लागेका छन् । ‘बाहिरबाट सरसर्ति हेर्दा डा. रौनियारको निर्णय प्रतिष्ठानको हितमा देखिन्छ तर यस भित्र लुकेको रहस्य अर्कै छ ।’ प्रतिष्ठान स्रोत भन्दछ–‘पहिलो प्रवेश परीक्षामा सामेल हुनेहरुको तिन पुस्ते विवरण र ठेगाना लिने, र पुनः परीक्षामा पास गरिदिन्छु भन्दै तिनै विद्यार्थीबाट प्रति विद्यार्थी ५० लाख भारतीय रुपैयाँ  उठाउने ।’ प्रतिष्ठानको परीक्षा प्रणालीमा यस्तो कुटिल र करोडौं भ्रष्टाचार गर्ने नियतले भएको यो पहिलो घटना हो । यसबाट डा. रौनियारले काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई आफ्नो नियुक्तिमा बुझाएको ११ करोड रुपैंया मध्ये आधा उठाउने योजना बनाएको परीक्षा शाखाका एक अधिकृत स्तरका कर्मचारीले  बताए । ‘पुनः परीक्षा गर्नुपर्ने दबाब छ ।’ उनले नाम नबताउने सर्तमा भने ।
२.१५ प्रतिशत कमिसनले कार्डियोलोजी अलपत्र
नेपाल सरकारले यसै आर्थिक वर्षमा निर्माण सुरु गर्न बजेट समेत बिनियोजन गरिसकेको कार्डियोलोजी (मुटु) सेन्टरको निर्माण कार्य अगाडी बढाउन डा. रौनियारले परामर्शदाता नियुक्तिमा ठुलो खेल खेले । नेपालमै सर्वाधिक बद्नाम भएको केज कन्सल्टेन्सीका मालिक विष्णु पन्थीसँग तीन करोडमा सेटिंङ गरेर नेपालमै आजसम्म सञ्चालित आयोजनाहरू मध्ये सबैभन्दा महँगो दर (लागतको  ३.५प्रतिशत जसबाट केज कन्सल्टेन्सीले ९ करोड पाउनेछ) मा परामर्शदाता छनौट गरे । भने, केज कन्सल्टेन्सीलाई नै भवन निर्माण ठेक्काको सेटिंङ गर्ने जिम्मा दिँदै १ अर्ब ६२ करोड लागतको ठेक्का खोले । तर, उपकूलपतिले नै ठेकेदारलाई १५ प्रतिशत कमिसन दिनुपर्ने सर्त राख्नाले कार्डियोलोजी सेन्टर अलपत्र भएको छ ।
कार्यकारीणी अधिकार आफैँमा
कार्डियोलोजी सेन्टर ठेक्काका लागि डा. रौनियारले हप्तै पिच्छे काठमाडौँ आएर ‘क’ वर्गका ठेकेदारहरुसँग मिटिंङ गरे । डा. रौनियारले आफ्नो १५ प्रतिशत कमिसनको रटान कहिल्यै छोडेनन् । राजधानीको लाजिम्पाट स्थित होटेल मनासलुमा बसेर उनले अनेकौँ मिटिंङ गरे, ठेक्का कसरी कार्टेलिङ गर्न सकिन्छ भनेर योजना बनाए । कुनै एउटा ‘क’ वर्गको ठेकेदारले उनलाई १२ प्रतिशत सम्मको आस्वासन पनि दियो । डा. रौनियार मख्ख परेर आफ्ना दाजु गौरीसंकर रौनियारलाई दुहबी नगरपालिकाको मेयरमा जिताउन अहोरात्र खट्न थाले । चुनाव सकिएको दिन राति डा. रौनियारलाई अचानक सेटिंङ गरेको ठेकेदारबाट ‘हजुर १२ प्रतिशत नसकिने भईयो, ८ प्रतिशतमा मात्र काम गर्न सकिन्छ’ भनी फोन आयो । दाजुलाई चुनावी मैदानमा करोडौं खर्च गरेका डा. रौनियारको सातो गयो । चुनावको भोलिपल्ट बिहानै काठमाडौँ उडे र ’क’ वर्गका ठेकेदारहरुसँग बैठक गरे । काम कसले लिने भन्ने कुरामा ‘क’ वर्गका ठेकेदारहरु शर्मा कन्स्ट्रक्सन, रसुवा कन्स्ट्रक्सन, लुम्बिनी कन्स्ट्रक्सन, युनाइटेड बिल्डर्स, पप्पु कन्स्ट्रक्सन आदिको रस्साकस्सी चलिरहेको थियो । सबै ठेकेदारको एउटै कुरा ‘डा. रौनियारलाई कसरी १५ प्रतिशत कमिसन दिने ? त्यत्रो कमिसन दिएर कसरी गुणस्तरको कार्य गर्न सकिन्छ ?’ अन्तिममा सबैले कसैले काम नलिने निर्णय गरे ।

यस्तो आपद् आइलागेपछि हतास मनस्थितिमा डा. रौनियारले ९ प्रतिशत कमिसनमै भए पनि मान्ने तर ठेक्का हालिदिनु पर्ने सर्त निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरुसँग गोप्य रूपमा राखे । उक्त कुरामा समेत सहमति हुन सकेन र टेण्डरको शिलबन्दी खोल्ने दिन बिहानै डा. रौनियार धरान आए । शिलबन्दी बोलपत्र दिनको १२ः३२ मा खोल्नु पर्ने थियो, रौनियारले विराटनगर–धरानको बाटोबाटै कम्प्युटर सेक्सनका कर्मचारी सन्जिब कर्णलाई सूचना बनाउन लगाए । र, सिधै प्रतिष्ठान पुगेर १० बजे बिहान बोलपत्र रद्ध गरेको सूचना वेबसाइटमा राख्न लगाए । उनको यो कदम न रजिष्ट्रारलाई थाहा भयो न अन्य पदाधिकारीलाई । ठेक्का खोल्ने निर्णय कार्यकारी समितिले गर्छ, रद्ध समेत त्यसै समिति मार्फत गर्नु पर्ने, तर डा. रौनियारले कार्यकारी समितिको अधिकार आफैँले प्रयोग गरे । फलस्वरुप कमिसन नमिलेर पूर्वाञ्चलको सपनाको रूपमा रहेको कार्डियोलोजी सेन्टर कम्तीमा एक वर्ष ढिलो सुरु हुने भयो । साथै सरकारले दिएको बजेट पनि फिर्ता जाने भयो ।
कमिसनले खायो अरबौको क्यान्सर सेन्टर
यसै आर्थिक वर्षमा क्यान्सर सेन्टर समेत निर्माण सुरु गर्ने भनी सरकारले प्रतिष्ठानलाई रकम बिनियोजन ग¥यो । डा. रौनियार कार्डियोलोजी सेन्टरको सेटिंङ र दाजुको चुनावी अभियानमा व्यस्त भए । क्यान्सर सेन्टरको टेन्डर नै खुलेन, डा. रौनियारले सेटिंङ गर्नै भ्याएनन् । १ अरब २५ करोडको क्यान्सर सेन्टर पनि हावा खायो । सरकारले बिनियोजन गरेको बजेट फिर्ता त गयो नै अब कहिले बन्छ भन्ने निश्चित समेत भएन ।
एम.आर.आइ. मेशिनमा चलखेल
हालै चोर बाटोबाट नियुक्त अस्पताल निर्देशक डा. गौरीशंकर साहको मिलेमतोमा प्रतिष्ठानले सस्तोमा पाइने पुरानो मोडलको एम. आर. आइ. मेशिन महँगोमा खरिद गरी एकै टेण्डरमा चार करोड कमिशन मिलेर खाने योजना बनाएका छन् । प्रतिष्ठानले एम. आर. आइ. खरिद गर्नका लागि आव्हान गरेको टेण्डर दाखिला गर्ने अन्तिम मिति गएको बुधवारसम्म थियो । सो अन्तर्गत सामानको स्पेसिफिकेशनका आधारमा फिलिप्स कम्पनीले मात्र बोलपत्र दाखिला गरेको थियो । अन्य कम्पनीले टेण्डर लगाउनै नसक्ने गरी बनाइएको स्पेसिफिकेशनका आधारमा फिलिप्स कम्पनीको मेसिनको नेपाल सप्लायर्स विशाल पण्डितसँगको मिलेमतोमा १२ करोड पर्ने १.५ टेस्ला (फोटो खिच्ने क्षमता) मेसिनलाई १६ करोडमा खरिद गर्ने तयारी गरिएको पाइएको छ । बुधवार नै टेण्डरको मूल्याङ्कन गरेर बिहीबार ( आशय पत्र दिन लागिएको छ । पछिल्लो समय ३.५ टेस्लाको मेशिन अत्याधुनिक मानिएपनि डा. रौनियारले पुरानो मेसिनलाई महँगोमा खरिद गर्न लागेका हुन् ।
३.५ टेस्ला मेशिनको बजार मूल्य पनि १५ करोडको हाराहारीमा पर्दछ । फिलिप्स कम्पनीकै सप्लायर्स पण्डितले ३.५ को मेशिन दुई वर्ष अघि १६ करोडमा काठमाण्डौंको जिवन्ता इमेजिङ सेण्टर दरवारमार्गमा बेचेको बताए । अनि पुरानो मोडलको चाहिँ कसरी त्यत्रो दाम पर्छ ? भनेर सोधिएको प्रश्नमा पण्डितले ‘मलाई जुन दे भनियो त्यही दिएको हुँ’ भने । छनौटमा परेका टेण्डरलाई स्वीकृत गर्न र आशय पत्र दिन प्रतिष्ठानलाई कम्तीमा पनि १० दिन लाग्छ । तर, बुधवार नै हतार–हतारमा सबै प्रक्रिया पुरा गरेर दिनुको पछाडिको रहस्य भनेको कमिसन नै हो ।
यस अघि अघिल्लो वर्ष सोही मोडलको एम.आर.आइ. मेशिन खरिद गर्न लाग्दा रेडियोलोजीका विभागीय प्रमुख रहेका रौनियारले नै पण्डितसँग कुनै पनि सामान नकिन्ने भन्दै अड्काएका थिए । अहिले त्यही मेशिन त्यही सप्लायर्सबाट हतारमा खरिद गर्न लागिएको छ ।
डा. रौनियारको चउन्नी सदस्यता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो पल्ट प्रधानमन्त्री हुँदा उपकुलपतिमा बल्छी थाप्न माओवादीको ‘चउन्नी सदस्यता’ लिएका डा. रौनियार यस पटकको चुनावमा भने काँग्रेसको झन्डा नै बोकेर हिँडे । अहिले उनलाई माओवादीलाई फकाउने पिर छ । उनी यति बेला माओवादी नेता विश्वनाथ शाह र गिरिराजमणि पोखरेलसँग वैवाहिक नाता पर्ने एक नेता लिएर पोखरेलसँग लाइन मिलाउन कम्मर कसेर लागेका छन् । उपकूलपतिका लागि तत्कालीन प्रधानमन्त्री दाहाल समक्ष डा. गुरु खनाललाई ‘तीन दिनभित्र अस्पताल निर्देशक बनाउछु’ भन्दै’ खाएको कसम पुरा गर्न सकेनन् । डा.रौनियारले माओवादीलाई ‘युज एण्ड थ्रो’ गरेपछि अहिले माओवादी केन्द्र पुरै डा. रौनियारलाई ‘गद्दार’ भन्दैछन् । आफू माथि लागेको ‘गद्दार’ को ट्याग हटाउन डा. रौनियार मरिमेटेर लागेका छन् । संभवतः अर्को साता मन्त्री मण्डल विस्तार भए माओवादीले स्वास्थ्य मन्त्रालय लिनेछ र तीनै गिरीराजमणी पोखरेल स्वास्थ्यमन्त्री हुनेछन् । यही सुइको पाएर डा. रौनियार यति बेला पोखरेलसँग नजिकिन खोज्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *