वीपी प्रतिष्ठानको उपकुलपति नियुक्तिसँगै रजिष्ट्रार नियुक्तिको दौडधुप, ‘म हरेक हिसाबले योग्य छु’ ढकाल

चैत्र २९, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञानमा उपकुलपति नियुक्तिसँगै रजिष्ट्रार नियुक्तिमा लविङ शुरु भएको छ । बिहिबार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा विराटनगर निवासी प्रा.डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेका थिए । उनको नियुक्तिसँगै अब खाली रहेको रजिष्ट्रार पदका लागि राजनीतिक लविङ शुरु भएको हो ।   

प्रतिष्ठानको रजिष्ट्रार हुनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट ब्यक्तिहरुकै चलखेल शुरु भएको छ । रजिष्ट्रारका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकालका भतिजा महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक धर्मराज ढकाल, विराटनगरका सञ्चारकर्मी यज्ञ शर्मा तथा धरानका सञ्चारउद्यमी, कानुन ब्यवसायी किशोरकुमार कार्कीको चर्चा चुलिएको छ । यसै गरी प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विषेशज्ञ एडिसनल प्रोफेसर डा. मोहनचन्द्र रेग्मीको पनि चर्चा छ ।   

उल्लेखित नाम मध्ये रजिष्ट्रारका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकालका भतिजा धर्मराज ढकालको नाम अत्याधिक चर्चामा छ । मन्त्री ढकालका परिवार भित्रकै मान्छे भएको तथा ब्यवस्थापन विषय लिएर उच्चशिक्षा हासिल गरेकाले ढकाल वीपी प्रतिष्ठानको रजिष्ट्रार पदका मुख्य दावेदार हुन् ।   

‘मसँगै अरु तीन जनाको नाम चर्चामा छ, म हरेक हिसाबले योग्य छु । वीपी प्रतिष्ठानको रजिष्ट्रार भनेको ब्यवस्थापन सँग सम्बन्धित कुरा हो, मसँगै रहेकाहरु कोही डाक्टर छन्, कोही पत्रकार ।’ ढकालले भने–‘म ब्यवस्थापनको मान्छे भएकोले वीपी प्रतिष्ठानलाई अगाडी बढाउन सक्छु भनेर दावेदारी प्रस्तुत गरेको हुँ ।’ उनले पार्टीले पनि सोधिसकेकोले आफुले अवसर पाए प्रतिष्ठानलाई सुधार्न काम गर्नपछि नहट्ने जवाफ दिएको बताए ।   

ढकालले रजिष्ट्रारका लागि आफुसँगै सञ्चारकर्मीद्वय शर्मा र कार्कीसँगै प्रतिष्ठानका डा. रेग्मी रहेको बताए । ढकाल मकालु टेलिभिजनका पूर्वसिइओ समेत हुन् । 

सञ्चारउद्यमी तथा कानुन व्यवसायी किशोर कुमार कार्की धरानबाट प्रकाशित हुने ब्लाष्ट दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक हुन् । उनले केही समय अघि नै प्रतिष्ठानको रजिष्ट्रारका लागि आफ्नो दावेदारी र्सावजनिक गरेका थिए ।   

यता रजिष्ट्रारको दौडमा उत्रिएका विराटनगरका यज्ञ शर्मा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी विराटनगरबाट लामो समयदेखी पत्रकारीता गर्दै आइरहेका छन् । रजिष्ट्रारका लागि प्रतिष्ठान भित्रबाट चर्चामा आएका डा. मोहनचन्द्र रेग्मी प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागका प्रमुख हुन् । साथै उनी फिस्टुला रोग विशेषज्ञ समेत हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *