नेपालकै कान्छी भागवत

किशोर खनाल, भरतपुर । ‘महिसासुर दैत्यले स्त्रीबाट मर्ने वरदान प्राप्त गर्दा सबै देवताहरुको शरीरबाट तेजको पुञ्ज प्रकट भयो । तेजले स्त्रीको रुपमा परिणत भई देवीको रुप धारण गरी महिसासुर नाम गरेको दैत्यको बध गर्नुभयो’ यसरी देवी भागवतको कथा १८ वर्षीया उमामहेश्वरी स्मृति टण्डनले मीठो शैली र सुरिलो श्वरमा वाचन गरिरहँदा उपस्थित भक्तजनहरुको आँखा रसाएका थिए । मन्त्रमुग्ध भएर कथा सुनिरहेका भक्तजनहरु भागवत वाचिका स्मृतिको लवज, शैली र सिल्पप्रति अत्यन्तै मोहित भएका थिए ।
लोककल्याण सेवा प्रतिष्ठान एवम् श्री रामजानकी बालिका आश्रम परिवार देवघाटधामले भरतपुर १० मा रहेको दुर्गा मन्दिरमा गरेको श्रीमद्देवी भागवत शक्तिसाधना महाअनुष्ठानमा वाचिका स्मृतिले ९ दिनसम्म आफ्नो भागवत कथा कलाकौशलसहित प्रस्तुत गरिन् ।
दुई वर्षदेखि भागवत कथा वाचनमा हिँडेकी स्मृति आफू नेपालकै सबैभन्दा कान्छी भागवत वाचिका भएकी दावी गर्छिन् । उनले पोखरा, हेटौडा, काठमाडौँलगायतका ठाउँहरुमा भागवत वाचन गरिसकेकी छन् । भरतपुरको कथा वाचन उनको पाँचौ हो ।
नारायणगढको चितवन कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत वाचिका स्मृतिले बाल्यकालदेखि धार्मिक वातावरणमा हुर्केकी हुनाले आफू कलिलो उमेरमा भागवत वाचिका बन्न पुगेको बताइन् । उनले भनिन्, ‘धर्मसंस्कृतिको जगेर्ना गर्दै आध्यात्मिक क्षेत्रमा होमिएर नेपालकै कुशल र सफल भागवत वाचिका बन्ने कोशिसमा छु ।’ उनकोे वाचन गर्ने शैलीप्रति उपस्थित भक्तजनहरुले खुब तारिफ गरेका थिए ।
‘किशोरी उमेरमै यस्तो अद्भूत क्षमता कमैमा पाइन्छ, उनको शैलीले सबै चकित परेका थिए । कथा वाचन गर्दा वृद्धवृद्धाहरुको आँखा रसाएका थिए’ सहभागी भक्तजन सिर्जना अर्यालले भनिन् । भागवत वाचिका स्मृतिले आफू जीवनमा असहाय छोरीको संरक्षणमा लाग्ने बताइन् । स्मृतिले देवीको नाममा मन्दिरहरुमा हुने बलीप्रथालाई रोक्न आफू डटेर लाग्ने बताइन् ।
स्मृतिले आफ्नो वाचन गर्ने कलाशैलीको श्रेय आफ्नो घर परिवारलाई दिएकी छन् । उनको घर श्रीराम जानकी बालिका आश्रम गाग्री कन्या गुरुकुल देवघाटधाम हो । आध्यात्मिक र भौतिक अध्ययनलाई सँगसँगै लैजाने सोच बनाएकी भागवत वाचिका स्मृति टण्डनले नेपाल आमाको शीरलाई अझ उच्च बनाउन धार्मिक जागरण आवश्यक भएको बताइन् ।
‘३२ जिल्लाका अभिभावकविहीन ४८ छोरीहरुमध्ये भागवत वाचिका स्मृति टण्डन पनि एक हुन्’ श्रीराम जानकी बालिका आश्रम गाग्री कन्या गुरुकुलका गुरु रामेश्वर खनालले भने, ‘आश्रममा डेढ वर्षदेखि १८ वर्ष पूरा भएकी स्मृति टण्डनसम्म छन् ।’
स्मृति आश्रमकी सबैभन्दा जेठी हुन् । उनी नर्सरीदेखि आश्रममै बसेर आध्यात्मिक तथा भौतिक शिक्षा लिइरहेकी छन् । ‘हामीसँग भएका सबै ४८ जना बालिकाहरुलाई हामी स्मृतिजस्तै बनाउन चाहन्छौँ’ खनालले भने, ‘म दावाका साथ भन्छु नेपालमै गुरुकुल शिक्षा रामजानकी बालिका आश्रममा मात्र भइरहेको छ ।’ खनाललाई बालिकाहरु मामा भनेर बोलाउँछन् ।
४८ जनाको बालिकाहरुको आमाको जिम्मेवारी लिएकी सावित्री टण्डनले आश्रममा रहेका सबै बालिकाहरुलाई अध्यात्मिक र भौतिक शिक्षा दिएर सक्षम र सबल महिला नेतृत्व उत्पादन गर्ने बताइन् । ९ दिनसम्म चलेको महाअनुष्ठानको शनिबार सांसद विष्णुमाया परियारले समापन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *