सात महिनामा एक तिहाई राजश्व संकलन
“
बाँके, फागुन १३ । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व सङ्कलन गरेको छ । गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख ३० हजार २१६ राजश्व सङ्कलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३ लाख ७५ हजार ४८० बढी राजश्व सङ्कलन भएको छ ।
राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट रु एक करोड २८ लाख ४७ हजार ३०३ राजश्व सङ्कलन गरिएको छ । गत वर्ष बनिसकेका घर प्रमाणित गर्नेको सङ्ख्या बढी भएका कारण सो अवधिमा बढी राजश्व उठेको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माको भनाइ छ ।
नगरका साबिकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको छ । उपमहानगरपालिकाका अनुसार आव ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता ७१३, प्लिन्थ लेवल स्वीकृति २२८, सुपर स्ट्रक्चर इजाजत ३३१, नयाँ घर निर्माण २२६ र पुरानो घरको प्रमाणित २९५ वटा गरिएको छ ।
गत वर्ष रु १२ करोड राजश्व लक्ष्य रहेकामा चालु आवमा उपमहानगरपालिकाको रु १६ करोड राजश्व लक्ष्य रहेको राजश्व शाखा प्रमुख भूपति खत्रीले जानकारी दिए । उपमहानगरपालिकाले सहरी योजना तथा भवन निर्माण मापदण्ड ०७४ मस्यौदा अन्तिम चरणमा पु¥याएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।
“