खैरहनीको कोरोना कोषलाई ५० हजार सहयोग

चैत २४, चितवन । साना किसान कृषि सहकारी संस्था खैरहनीले खैरहनी नगरपालिकामा स्थापित कोरोना भाईरस रोग नियन्त्रण तथा राहत कोषलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउन र यसपछि उत्पन्न समस्या समाधानका लागि नगरपालिकाले कोष स्थापना गरेको थियो । 

एकद्धार प्रणाली अवलम्बन गरेपछि कोषमा सहयोग आउने क्रम जारी रहेका बेला साना किसानको तर्फबाट सोमबार ५० हजार रुपैयाँ सहयोग भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताए । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राधिका कुमारी क्षेत्रीले नगर प्रमुख लालमणि चौधरीलाई ५० हजार बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।   

चेक ग्रहण गर्दै नगर प्रमुख चौधरीले नगरसँग सहकार्य गरेर सहयोग गरेकोमा धन्यवाद दिँदै विपन्न वर्गका लागि राहत र सम्भावित रोग न्यूनीकरणमा खर्च गरिने बताए । चेक हस्तान्तरणका लागि संस्थाकी अध्यक्ष क्षेत्रीको नेतृत्वमा उपाध्यक्ष शान्तिकुमारी चौधरी, सञ्चालक देवी कुमारी थापा र व्यवस्थापक चन्द्र बहादुर लामिछाने नगरपालिका पुगेका थिए ।  

  

लकडाउनका कारण ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूलाई खैरहनी नगरपालिकाले राहत वितरण गरिसकेको छ । छुटेको भनेर गुनासो गरेकाहरूलाई समेत मापदण्ड अनुसार राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *