१७ बुँदे समझदारी पत्रमा हस्ताक्षर
कार्तिक ३, काठमाडौँ । आइतबार काठमाडौँमा नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त १७ बूँदे समझदारी पत्रमा हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको हो । सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ ।
समझदारी अनुसार संघले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ । संघको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भूमिका सचिवालयले निर्वाह गर्ने छ ।
२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ । भ्रमण वर्ष नजिकीहरेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग पनि सम्झौता गरेको हो ।
संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघसंस्थामा आवद्ध नेपालीका माध्यमबाट संघले उनीहरुको रोजगारदाता, व्यावसायिक साझेदार संघसंस्था तता व्यक्तिलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने जनाइएको छ ।
एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पूँजी र प्रविधि भित्रयाउन लागिपर्ने प्रतिवद्धता समेत गरेका छन् ।