विप्लवका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, एकताको खाँचो छ
पुस १६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
null
कार्यक्रममा उनले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर जान लागेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो पार्टी नयाँ बाटोमा भए पनि पार्टीले आफ्नो आदर्श र उद्देश्य कहिल्यै नछोडेको दाबी गरे । ‘हामी नयाँ बाटोमा भए पनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन । उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नुपर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्रै शिखरमा पुगिन्छ,’ अध्यक्ष दाहालले भने, ‘राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’
अध्यक्ष दाहालले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर तथा क्रान्तिकारी पार्टी र संसदवादी पार्टीबीच समझदारी गराएर गणतन्त्र र समावेशी राज्य सम्भव भएको बताए ।
अध्यक्ष दाहालले भने, ‘समाजवादको यात्रा गम्भीर र लामो यात्रा हो, यसका लागि व्यापक एकताको खाँचो पर्छ, हिजो जुन सपना देखेर हामी हिँडेका थियौँ ती सबै एकपल्ट एकजुट हुन जरुरी छ ।’
कार्यक्रममा चन्द नेतृत्वको विद्यार्थी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ नेता तथा कार्यकर्तालाई उनले अबिर र खादा लगाई पार्टीमा प्रवेश गराएका थिए ।