‘निराश भएका जनतामा मैले आशा देखाएको छु’ प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको अभियानमा आफू र आफ्नो दलले फगत सपना मात्र नदेखेको त्यसलाई पुरा गर्ने मार्ग पनि देखेको बताएका छन् । आफुले देखेका सपना र योजनालाई हावादारी भन्दै उडाउनेहरु प्रति बोल्दै प्रधानमन्त्री ओलीले सरकारले विकासको लागि सबै खाले कामहरु थालेको समेत बताए ।   

टुँडिखेलमा आयोजित संविधान दिवसमा बोल्दै प्रधानमन्त्रीले सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने जनतामा आशाको सञ्चार गराएको दावि समेत गरे । ‘संविधान निर्माणपछि पनि धेरैले मुलुकमा विकास हुँदैन भन्दै निराशा पालेका थिए । मैले त्यसमा आशा देखाएको छु । मेरो सरकारले जनताले दिएको बहुमतको कदर गर्दै संमृद्ध मुलुक निर्माणको अभियानमा हिँडेको छ ।’ उनले भने । प्रधानमन्त्रीले जनताले विश्वास गरेर बलियो बहुमत दिएकोले त्यसको कदर सरकारले गरीरहेको समेत बताए । उनले सरकारले विकासका लागि कतै जग हालेको र कतै पहिला वा दोस्रो तला थपेको समेत जिकिर गरे ।  

‘भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ, हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?’ ‘म बिनम्रताका साथ स्वीकार्छु । हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ, निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’ 

प्रधानमन्त्रीले जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, तब मा देश बाँच्ने बताए । ‘मेरो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनिहरुप्रति विश्वास बढाउनु थियो । र, ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो,मैले त्यही नै कोशिस गरेको थिएँ ।’ उनले भने ।   

प्रधानमन्त्री सामाजिक सञ्जालमा बरालिने युवाहरु प्रति चिन्ता प्रकट गरे । केही फुर्सदिलो युवा पंक्तिले रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा समय व्यतीत गरेको बताए । 

उनले मुलुकमा अहिले ३४ वर्ष मुनिको जनसंख्या ६५.५ प्रतिशत रहेको उल्लेख गर्दै जनसांख्यिक लाभको अवस्थामा मुलुक रहेको उल्लेख गर्दै भने, ‘युवा पंक्ति छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुपर्छ, मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन् । कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन् ।’ 

प्रधानमन्त्रीले केहि युवाहरु प्रति आफ्नो चिन्ता बढेको बताउँदै भने,‘थोरै चिन्ता केही फुर्सदिला युवा पंक्तिको छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ ।’ ओलीले थपे, ‘मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ । ‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको होकी जस्तो भान हुन्छ ।’ प्रधानमन्त्रीले समृद्ध मुलुक बनाउन उश्रृङ्खलता र अराजकता नभई सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता आवश्यक रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *