मङ्गलबारदेखि अनलाइन प्रणालीमा शेयर बजार, यस्तो छ कारोबार प्रक्रिया

कात्तिक १९, काठमाडौँ । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । 

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । 

स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोबार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिए । शेयर कारोबार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोबार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोबार गर्न सक्नेछन् । 

null

स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका अनुसार शेयर कारोबारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो । 

यसअघि शेयर कारोबार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने बाध्यता रहेको थियो । नयाँ प्रणालीको जडानसँगै कारोबार गर्दै आएकाले दलाल मार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ । 

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुंगा सावित हुने विश्वास स्टकले लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *