भारतको मणिपुरबाट १७९ नेपालीको उद्धार

काठमाडौं– मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । 

नेपालका विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महीनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पु¥याएका थिए ।  

मणिपुरबाट म्यान्मार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए । उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् ।   

null

उद्धार गरिएका व्यक्तिलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइने झापाका प्रजिअ जनकराज दाहालले बताए । उनीहरुलाई सोमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको हो । प्रजिअ दाहालका अनुसार काँकडभिट्टा ल्याइपु¥याएलगत्तै ६ बसमा राखेर उनीहरुलाई मङ्गलबार काठमाडौँस्थित माइती नेपालको पुनःस्थापना गृहमा पठाउने तयारी गरिएको छ ।  

माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले उद्धार गरिएकामध्ये कतिपय बिरामी भएका कारण बाटैमा उपचार गर्नु परेकाले नेपाल ल्याउन केही ढिलाइ भएको बताए । उद्धारमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको माइती नेपालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *