‘म छोराको पर्खाइमा थिएँ, उसको शवको होइन’

मृतक बासितका भाइ, बहिनी र आमा 

माघ २७, काठमाडौं । भारत प्रशासित काश्मीरको सीमावर्ती जिल्ला कुपावाडाको कुनान पोशपोरा गाउँ । सडकको दुबैतिर गुलाम मोहिउद्दीन खान उर्फ ​​बासितको तस्बिरसहित ब्यानर टाँगिएको थियो । जसमा लेखिएको थियो, ‘शहीद बासित चोक’ ।  

आइतबार बिहान दर्जनौँ मानिसहरु कुनान पोशपोरा गाउँमा १७ वर्षीय गुलामा मोहीउद्दीन खानका एक तलाको घरमा उनका परिवारलाई सान्त्वना दिन पुगेका थिए ।  

राजस्थानमा केही युवकहरुले बासितलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट बासितको मृत्यु भएको थियो । मृत्युको खबर उनको आफ्नो गाउँमा पुगेपछि स्थानीयहरु आक्रोशित छन् । उनीहरु नरेन्द्र मोदी सरकारमाथि काश्मिरीहरूको हत्या गरेको आरोप लगाइरहेका छन् ।  

बासितकी आमा हफिजा रोइरहेकी थिइन् । उनी आफूलाई सम्हाल्नै सकिरहेकी थिइनन् । उनी रुँदै भनिरहेकी थिइन्– ‘मेरो छोरा, तिमीले मलाई धोका दियौ । 

बासितको परिवारमा चार बहिनी, एउटा भाइ र आमा छिन् ।  

बासित श्रीनगरमा सेनाको गुडविल स्कूलमा अध्ययन गरेका थिए । उनको गाउँ श्रीनगरबाट उक्त स्कूल १०७ किलोमिटर टाढा छ ।  

उनको पीता खुर्शीदको २०१२ मा मृत्यु भएको थियो । उनी भारतीय सेनाको जेकेएलआई रेजिमेन्टमा थिए ।  

सोही गाउँका साकिब अहमदले भने, ‘हामीले आफ्नो गाउँको चोकको नाम परिवर्तन गरेका छौँ । पहिले यसलाई गमानदार चोक भनिन्थ्यो अब यो बासित चोक हो । नाम परिवर्तन गर्दा हामीलाई आफ्नो गाउँको छोरोको निर्मम हत्या याद आउने छ र यसबाट हामी मृत्युपर्यन्त न्यायका लागि संघर्ष गर्ने प्रेरणा मिल्ने छ ।’ 

आमा भन्छिन्– ‘म मेरो छोरोको पर्खाइमा थिएँ, उसको लासको होइन । मैँले सोचेकी पनि थिइनँ कि मेरो छोरोको शव आउँछ । जब बासित घरबाट हिँडेको थियो, उसले छिट्टै फर्कन्छु भनेको थियो । मेरा आँखालाई पनि म विश्वास गर्न सकिरहेकी छैन । ऊ तीन महिनाअघि घरबाट हिँडेको थियो । मलाई न्याय चाहियो र मेरो छोरोको हत्यार मलाई दिनुपर्छ ।’ 

फिरदौस अहेम डार बासितका काका भाई हुन् र उनीसँगै काम गर्थे। उनी त्यसबेला राजस्थानमै थिए, जब बासितलाई कुटपिट गरिएको थियो ।  

मृतक बासित 

उनले भने, ‘घटनाको डेढ घण्टा पहिले बासितले मलाई फोन गरेका थिए । र मलाई भनेका थिए कि मेरो फोन चार्जमा लगाइदिनु, ताकि म च्याट गर्न सकुँ । मैँले भने कि तिमी आऊ, फोन चार्जमा लगाइदिउँला । केही समयपछि ऊ घर आयो । उसले दुबै हातले आफ्नो टाउको समातेको थियो।’ 

डारले थपे, ‘मलाई थाहा थिएन कि उसलाई के भएको छ । उसले टाउको दुखेको बताएको थियो । हामीले उसलाई औषधी दियौँ । ऊ फेरि बाहिर गयो । पछि उल्टी हुन थालेपछि अस्पताल पुर्यायौँ । डाक्टरले बासितले ड्रग्स लिएको हुन सक्ने अनुमान लगाए । फेरि भने कि फुड पोइजनिङ्ग भएको छ । पछि थाहा भयो कि बासितलाई केही केटाहरुले कुटपिट गरेका थिए । उसको मृत्यु भयो ।’ 

के भएको थियो त्यो रात ?  

बासितको शव जब उनको गाउँमा पुग्यो तब स्थानीयले उनको हत्याको विरोधमा प्रदर्शन गरे । बासित केही काश्मीरी साथीहरुका साथ राजस्थानको जयपुरको हसनपुरा इलाकामा क्याटरिङ्गको काम गर्थे । त्यहाँ केही केटाहरुले बासितमाथि कुटपिट गरे, जसकारण उसको मृत्यु भयो ।  

‘त्यसरात १२ बजे हामीले काम पुरा गर्यौँ र गाडी नजिक गयौँ । त्यसको अर्को ढोका खुल्ला थियो र ड्राइभर पछाडी सुतिरहेका थिए । खाले पछिल्लो झ्याल ढकढक गरे, र ड्राइभरलाई उक्त ढोका खोल्न भने । मुम्बईमा रहनेवाला आदित्य नामको एक युवक अगाडीको सिटमा बसेको थियो । उसले बासितलाई ढोका ढकढक नगर्न भन्यो । बासितले आफू भित्र आएर आराम गर्न चाहेको भने । त्यसपछि आदित्यले बासितको सर्टको कलर समाते, दुई अरु युवक आए र उनीहरुले बासितको हात समाते । पाँच मानिसहरु आएर बासितलाई समाते र पिट्न थाले । मैँले बासितलाई बचाउने कोशिस गरेँ तर सकिनँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *