विराटनगरकाे क्लोथ बैंकबाट डेढ सय बढी लाभान्वित

 

विराटनगर, साउन १३ । विराटनगरका युवाहरुले सञ्चालन गरेको क्लोथ बैंकबाट ३ दिनमा डेढ सय बढी विपन्न लाभान्वित भएका छन् । स्थानीय ट्राफिकचोकमा सञ्चालनमा ल्याइएको लुगा संकलन तथा वितरण केन्द्रबाट शनिबार, आइतबार र सोमबार गरी तीन दिनमा १ सय ५० बढी विपन्नहरुले आफ्नो आवश्यकता अनुसारको लुगा लिएर गएका हुन् । 

साउन १० गतेबाट सञ्चालनमा ल्याइएको क्लोथ बैंकबाट १ सय ५० बढी व्यक्तिले लुगा लिएर गएको तथा २ सय ५० बढी व्यक्तिले लुगा जम्मा गराएको युवा अभियन्ता भूषण पोमुले जानकारी दिए । 

null

युवाहरुको अभियानलाई सहयोग गर्दै स्थानीयवासीले आफूलाई अनावश्यक भएको लुगा झोला र बोरामा प्याक गरेर ल्याइदिने गरेका छन् । क्लोथ बैंकबाट बाढी पीडितका साथै विपन्न परिवारका मानिसहरुले आफूलाई उपयुक्त हुने लुगा लाने गरेका छन् । 

अभियानले सफलता हासिल गर्दै गएपछि अभियानमा संलग्न युवाहरु त्यसलाई ब्यवस्थित गर्ने सोंचमा छन् । यतिखेर ट्राफिकचोकको फुटपाथमा लुगा संकलन र वितरण गर्दै आएका युवाहरुले सम्भव भए मेनरोडमै सटर राखेर क्लोथ बैंकलाई स्थायित्व दिने बताएका छन् । 

लायन्स र लियो क्लब, बिईग नेपालीसहित विभिन्न संघसंस्था र सामाजिक संजालका विभिन्न समूहमा आबद्ध युवाहरुले क्लोथ बैंक सञ्चालनमा ल्याएका हुन् । उनीहरु बिहानदेखि बेलुकीसम्म आफै काउन्टरमा उभिएर लुगा संकलन र वितरणको काम गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *