प्रक्रिया नपुगेको उप

‘म थारुको छोरो यो देशको प्रधानमन्त्री, सभापति हुन नपाउने ? अझ अहिले त म उप–सभापति मात्रै भएको छु त्यो पनि शेर’दाको हस्तबाहुलीबाट भनुँ या करकमलबाट । यतिकैमा रडाको निकाल्ने ? यसै त नेपाली कांग्रेस डुब्दै थियो मैले नै निकै मेहनत गरेर यतिको बनाको हो । मैले फोरुम लोकतान्त्रिकलाइ डुबाएर कांग्रेसमा पाइडल नमारेको भए कांग्रेसको खातामा एक दर्जन सांसद पनि हुन्थेन ।’ नेपाली कांग्रेसमा भर्खरै उप–सभापतिमा नियुक्त विजयकुमार गच्छेदारले लच्छेदार मसला झिके । 

गच्छेदारसंगै फोरुम हुँदै कांग्रेस हुन पुगेका जितेन्द्रनारायण देवले टाउको कोट्याए । केहि कुरा राख्ने मनसायले गच्छेदारको नविग्रेको आँखा पट्टी हेरेर कुरा राख्न पाउने इसाराको लागि इसाराले नै अनुमति मागे । गच्छेदारलाइ भने भाउन्न छुटीरहेको थियो । आफ्नो भँडास नपोखुन्जेल उनले जितेन्द्रलाई बोल्ने अनुमति नदिँदै जितेन्द्रलाइ नै हप्काउन सुरु गरे । 

‘तिमी मुलाङ्खरेले कुरै नगर । यतिका वर्ष मैले कांग्रेसमा बिताएको हुँ । मलाइ थाहा छ कांग्रेसको ईतिहासिक बात । तिमी जस्तो कम्युनिष्टमा जोबान बिताएर आएको हैन् म । हरिपुर काण्ड घटाएर आएको हुँ । सुवर्न शमसेरको भात पचाएर आएको छु । मैले त एक आँख पनि गुमाएको छु, कांग्रेसमा छँदा । फडिन्द्र तिम्सिना भन्ने अखिलेलाइ मौतका घाट उतारिदिएको थिएँ विराटनगरमा । त्यही बेला मेरो एक आँखा अखिलेले फुलो पारी दिएका हुन् ।’ 

null

गच्छेदारको नराम्रो हप्की खाएपछि जितेन्द्रलाई लाग्यो चुपचाप लाग्नु नै बेस ।गच्छेदार पुनः गर्जिए, ‘मैले कांग्रेस त्यसै छोडेको हैन् । एकपटक गिरिजाबाबुले मलाइ तँ ‘ऊँट’ होस भने । उँटको मुखमा जिरा भने जस्तै तँलाइ थोरै तिनोले कहिल्यै पुग्दैन भनेर मलाइ गिरिजाबाबुले बेइज्जत गरे । मैले पनि भनिदिएँ गिरिजाबाबु तराइमा ‘ऊँट’ पाँइदैन् । तराइमा ‘हाथी’ हुन्छ । म पनि तराइको हाथी हो देखाइ दिन्छु भनेँ । पहिलो संविधानसभामा देखाइ पनि दिएँ । फोरुमलाइ तराइको हाथी चढाएर पहिलो पटक सरकारको तबेलामा पुर्याइदिएको हुँ । म नभएको भए थोडै उपेन्दरको यो हैसियत हुन्थ्यो ? उसंग त चढ्ने खच्चर मात्रै थियो मैले नै हाथी दिलाएपछि सिँह दरबार पहुँचेको हो । मेरै हाथीको सवारीमा धेरै पटक प्रधानमन्त्री बनाएँ ।’ 

गच्छेदारको किचन बैठक चलीरहेको थियो । तरुल दलका पूर्व सभापति बालकृष्ण खाँड खुत्रुक्कै टुपुल्किए । उनी बैठक कक्षमा प्रबेश गर्नासाथ बैठक कक्षमा हेराहेर भयो । गच्छेदारले खाँडलाइ आफुसंगै खाली रहेको कुर्सीमा बस्ने इशारा गरे ।अनि गच्छेदारले खाँडलाइ बोल्न इशारा गरे । 

गच्छेदारलाइ सम्झाउने मनसायले खाँडले सारगर्भित बाँणी प्रस्तुत गर्न सुरु गरे, ‘वास्तवमा गच्छेदार’दालाइ नेकामा भित्राउने मध्येको म पनि हुँ । फोरुममा जानु भन्दा अगाडि पनि मैले नजानु भनेर लाख कोसीस गरेकै थिएँ । तर उहाँले कताबाट हो कुन्नि करोड कोसीस पाउनु भएछ, उहाँ त हिँडीहाल्नु भयो । उहाँ गणितको मामिलामा असाध्यै चनाखो हुनुहुन्छ । गोविन्दराज र स्व. खुमबहादुर’दा भन्दा पनि चलाक । उहाँले घरमै बसेर गणित जोगाउनु भयो । गोविन्दराज, चिरन्जिवी, खुमबहादुरले गणित जोगाउन मावली घर बस्नु पर्यो । हाम्रा कतिपय कांग्रेसीहरु लाख मै भुलिन्छन् । गाउँघरका कार्जेकर्ता त हजारमै मक्ख पर्छन । गच्छेदार’दा गणितसंग प्रारम्भदेखि नै जानकार हुनुहुन्छ । सय, हजार, लाख, करोड, अरब सबै गणितमा उहाँ असाध्य पारंगत । कुनै बेला सय हजारले काम चलाउने गच्छुबाबुलाई त्यतातिर हेर्ने फुर्सद बहुदलीय व्यवस्था पछि परेन । कतिपयलाइ गणितको बारेमा केहि थाहा हुन्न । तर उहाँले उल्लेखित अंकहरु मध्ये कसलाइ उच्च मूल्यांकन गर्नु पर्छ भन्ने राम्रोसंग थाहा छ ।’ 

खाँडको कुरा सुनिरहेका किचन केविनेटकाहरु जिब्रो टोक्न थाले । उपस्थित मध्येका धेरैलाइ त मज्जा नै लागिराखेको जस्तो थियो । खाँडले कुरा खोल्दै लगे गच्छेदार’दासंग खर्चपानी माग्नु पनि सजिलो हुने उनीहरुको ठहर हुनसक्छ । 

थारुकै सन्तान भएपनि चलाक, त्यसमाथि पहाडे कुलबंशकै श्रीमतीको साथ पाएका गच्छेदारले आफुलाइ खाँडले पाल्सी भाकामा भ्रष्टाचारी करार गरेको थाहा नपाउने कुरै भएन । 

यतिकैमा उनी खाँड तिर खनिए, ‘एइ त खाँड होस कि भाँड । विषयवस्तुमा आइज ।’खाँड पनि झस्किए । यसरी नै गच्छेदार’दालाइ उडाउन नसकिने छाँट देखेपछि उनी कुराकानी सामान्यीकरण गर्ने विचारमा पुगे । 

‘वास्तवमा गच्छेदार’दा हजुरलाई उप–सभापतिमा नियुक्ति गर्दा अलिकति प्रक्रिया नपुगेर मात्र साथीहरुले विरोध गरेका हुन ।’ एक वाक्यमा खाँडले कुराको पोको खोले ।गच्छेदारले भने, ‘कसरी प्रक्रिया पुगेन ?’ 

पार्टीको विधानमा एक जनामात्र उप–सभापति राख्ने प्रावधान छ । यस अघि नै विमलेन्द्र निधीजी नियुक्त भैसकेका छन् । यसर्थ विधान संशोधन गरेर नियुक्त गरेको भए राम्रो हुने थियो ।’ 

‘मलाइ विधानसंग मतलब छैन् । म पार्टी एकीकरण गरेर आएको हुँ । म र मेरो फोरुमसंग एकता हुँदा ‘उप’ मलाइ दिने कुरामा सहमति भएको थियो । देशभरी थाङ्ने, सिँगाने आइमाइलाई ‘उप’ बनाउँदा हुने, म हाथी जत्रो थारुलाइ जाबो ‘उप’ नदिने ?’ गच्छेदारले कुरा टुंग्याउनीमा पुर्याउने गरी बोले । 

खाँडले भने, ‘तैपनि ।’ 

गच्छेदारले भने, ‘तैपनि भनेको के ?’ 

‘सुनपानी ।’ खाँडले एकै शब्दमा उत्तर फाले । 

गच्छेदारले खाँटी कुरा बुझेनन् । हिन्दू परम्परा अनुसार कुनै बस्तुलाइ शुद्ध गर्नु पर्यो भने सुनपानी छर्किनु पर्छ । उनलै कुरैकुरामा सुनपानीको कहानी झिकेका थिए । 

‘शुद्धाशुद्धि गर्ने हाम्रो परम्परा हो ।’ खाँडले जबाफ फर्काए ।‘सुनपानीसम्म छरेको भए हुने थियो ।’ खाँडले खाँटी हिन्दू धर्मशास्त्र अनुसार चोख्याउन गरिने रितीरिवाज सम्झाउने कोशीस गरे । 

बैठकमा उपस्थित सबैले खाँडको कुरामा हो मा हो मिलाए । पुरानो विधान अनुसार दूईजना उप–सभापति राख्न मिल्दैन । गच्छेदारलाई अहिले नै उप नभै हुँदैन । यस्तो बेलामा परम्परागत विधिविधान अनुसार सुनपानी छर्केर पत्या गरे त भै हाल्यो । रामचन्द्र पौडेलहरुले प्रक्रिया पुगेन भनेर कोकोहोलो मच्चाइ रहेको बेला यो विधि अपनाए पार्टीमा फेरिपनि एकता एक ढिक्का हुने बैठकको निश्कर्ष निक्लियो । यो तार्किक निश्कर्षमा सबैले एकमत जनाए । गच्छेदारले पनि लामो सास फेर्दै चस्मा झिकेर रुमालले शीशा पुछे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *