मदन–आश्रित दुर्घटना भएको स्थान दासढुंगामा श्रद्धाञ्जली सभा

 

जेठ ३, चितवन । जननेताका रुपमा चिनिएका तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा मृत्यु भएको स्थान चितवनको दासढुंगामा शुक्रबार श्रद्धाञ्जली सभा गरिएको छ । 

भण्डारी र आश्रितको २६ औं स्मृती दिवसको दिन दुर्घटना स्थल भरतपुर २९ दासढुंगामा श्रद्धाञ्जली सभा गरि उनीहरुको योगदानको चर्चा गरियो । 

null

आजैको दिन २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा भण्डारी र आश्रितको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले दासढुंगा पुगेर मदन–आश्रितलाई सम्झँदै उनीहरुको शालिकमा माल्यार्पण गरे । 

श्रद्धाञ्जली सभाका प्रमुख अतिथी रहेका नेकपाका पोलिटब्युरो सदस्य एवंम् पूर्व सांसद काशीनाथ अधिकारीले मदन भण्डारीले देखाएको बाटोकै कारण मुलुक समाजवादतर्फ उन्मुख भइरहेको बताए । लिएको सपना साकार पार्न जनताले पनि दुई तिहाईको सरकार बनाएको उनको दाबी छ । 

 

कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले निश्वार्थ भई एक ढिक्का भएर अगाडि बढ्न सके मदन भण्डारीको सपना पुरा हुने विश्वास व्यक्त गरे । मन्त्री लामाले दासढुंगालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने औल्याउँदै प्रदेश सरकार त्यसका लागि तयार रहेको बताए । 

नेकपा चितवनका जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’को अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिव तथा संघीय सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सांसदहरु घनश्याम दाहाल ‘अविनास’ ,कृष्ण प्रसाद खनाल लगायतले मदन भण्डारी र जीवराज आश्रितको चर्चा गरेका थिए । 

श्रद्धाञ्जली कार्यक्रममा चितवनका सभासद्, स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि लगायत सयौँ कार्यकताहरु सहभागी भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *