निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा उडाउँछु भन्दै ठगी

 

                                                                       ठगिएका ६ बंगलादेशी नागरिक 

बैशाख ३, काठमाडौं । आकर्षक तलबमा क्यानडा जाने प्रलोभनमा पर्दा ६ जना बंगलादेशी ठगिएका छन् । 

null

क्यानडा जाने प्रलोभनमा परी केही महिना अघि नेपाल आएका ६ जना बंगलादेशी विक्रम भनिने नेपाली नागरिक र सिद्धिकी भनिने बंगलादेशी नागरिक (दलाल) बाट ठगिएका हुन् । 

बंगलादेशबाट विदावारी भइ क्यानडा उड्नका लागि नेपाल आएका अस्लाम हुसेन, कौसर अली, अलाम अली मल्लिक, अमिरुल इस्लाम, रतन हुसेन र नाहिद परवेजले दलाललाई ३–३ सय डलर बुझाइसकेछि मात्रै आफूहरु ठगिएको चाल पाए । 

विक्रम र सिद्धिकीले बंगलादेशी नागरिकलाई नक्कली भिजा, नक्कली टिकट दिएर निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा उडाइदिने भन्दै काठमाडौंको नयाँ बसपार्कस्थित डिभाइन होटलमा १७/१८ दिनसम्म बन्धक बनाएर राखेका थिए । 

कतै फोन सम्पर्क नगर्नु, यदि कसैलाई फोन गरे भिजा लाग्दैन भन्ने चेतावनी दिँदै प्रासेसिङ हुँदैछ भनेर ८० हजार होटल खर्च पनि दलालले असुलेका थिए । यत्ति हुँदा पनि उनीहरुले आफू ठगिएको भेउ पाउन सकेका थिएनन् । 

१८ दिनसम्म पनि दलाल सम्पर्कमा नआएपछि ठगिएका ६ जनामध्ये एक जनाले बंगलादेशकै नागरिक तथा गार्मेन्ट व्यावसायी रतन हुसेनलाई सम्पर्क गरी दलाले नभन्नु भनेका सबै कुरा सुनाए । 

त्यसपछि रतनले मिलन उप्रेतीलाई सम्पर्क गरी त्यसबारे बुझ्न आग्रह गरेपछि मिलन युवा संस्था सञ्जाल आयोनका उपाध्यक्ष दीपेन्द्र राज जोशीलाई लिएर उनीहरु भएको होटल डिभाइनमा गए । सोधपुछ गर्दै जाँदा पोखरा विमानस्थलबाट क्यानडा पठाउने भन्ने खुलेपछि मिलनले उनीहरु ठगिएको चाल पाए । 

‘गार्मेन्ट व्यावसायी रतनलाई मैंले पहिलेदेखि नै चिनेको थिएँ । उहाँले आफ्नो देश (बंगलादेश) को ‘६ जना नेपालमा अलपत्र परेका रहेछन्, एकचोटी बुझिदिनुस्’ भन्नुभयो’, मिलनले मकालु खबरसँग भने, ‘उहाँहरु बसेको होटलमा गएर सोधपुछ गर्दा सुरुमा ३/३ सय डलर असुलेको रहेछ, प्रतिव्यक्ति १२ लाखमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा उडाइदिने शर्तमा ।’ 

मिलनका अनुसार नेविसंघ त्रिचन्द्र इकाईका सचिव समेत रहेका जोशीको सहयोगमा उनीहरुलाई उद्धार गरी बंगलादेश फिर्ता पठाइएको छ । 

‘उहाँहरु ठगिएको थाहा पाएपछि हामीले प्रहरीलाई रिपोर्ट गर्यौँ । बसुन्धरास्थित बंगलादेशी दूतावासमा पनि सम्पर्क गर्यौँ । उहाँहरुको भिजा मिति सकिएको रहेछ । प्रहरीको सहयोगमा भिजा मिति पनि थप्न लगायौँ’, जोशीले मकालु खबरसँग कुरा गर्दै भने, ‘सबै प्रक्रिया पूरा नहुन्जेल हामीले आफ्नै खर्चमा ७ दिनसम्म काठमाडौंकै होटलमा राख्यौँ । उताबाट ट्राभल डकुमेन्ट आएपछि उहाँहरुलाई बंगलादेश फिर्ता पठायौं ।’ 

ठगिएकाहरुको नक्कली भिजा देखाउँदै जोशीले प्रहरीले फरार रहेका दलालको खोजी कार्य जारी राखेको पनि जानकारी दिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *