राष्ट्रिय सभामा सरकारको वार्षिक प्रतिवेदन पेश
असार १५, काठमाडौं । आर्थिक वर्ष २०७४–७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेश गरेका हुन् ।
उक्त बैठकमा नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपियाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
null
सरकारले खर्च कटौतीे नीति लिइरहे पनि खानेपानी मन्त्रालयका पदाधिकारीका लागि पुनःइन्धनको व्यवस्था गरिएको भन्दै उनले यस्ता फजुल खर्च गर्न नहुने धारणा व्यक्त गरे । सांसद देवकोटाले भने, ‘फजुल खर्च हुनुहुँदैन, मितव्ययिता हुनुपर्छ भन्दै अघिल्लो आर्थिक वर्षमा कटौती गरिएको इन्धन खर्च आगामी आर्थिक वर्षमा पुनःकायम गरिएको हुँदा उक्त शीर्षकको खर्च कटौती एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गर्दछु ।’
उनले देशका धेरै ठाउँका बासिन्दा खानेपानीको समस्या झेल्न बाध्य भएको अवस्था चित्रण गर्दै विकास खर्च र पूँजीगत खर्चतर्फ ध्यान जानु जरुरी भएको प्रष्ट्याए । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ । रासस