निर्मला प्रकरण : पक्राउ परेका आरोपीको डिएनए नमिले विशेष अनुसन्धान टोली गठन गर्ने

काठमाडौं ।कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि ‘म्याच’ नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरूसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ । 

अहिले प्रहरीले भीमदत्तनगर– १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोधपुछका क्रममा उनीहरूले अपराध स्वीकार गरेका छन्, तर उनीहरूका कतिपय कुरा नमिल्दो रहेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

विगतमा अभियुक्त भनेर पक्राउ गरिएका दिलीपसिंह विष्टले पनि सुरुमा अपराध स्वीकार गरे पनि डिएनए नमिलेपछि छाडिएको थियो । हाल पक्राउ परेकाको डिएनए रिपोर्ट म्याच नभए उनीहरूलाई पनि छाड्ने प्रहरी तयारी छ । 

null

रावल र चौधरीको डिएनए म्याच नभए विशेष अनुसन्धान टोली गठन गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । संगठित अपराध ऐन आएपश्चात् एकपटक मात्र यस्तो विशेष टोली गठन भएको छ । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा यस्तो टोली गठन गरिएको थियो । 

यस्तो टोलीले आफैँ पक्राउ पुर्जी दिएर पक्राउ र सोधपुछ गर्न पाउँछ । टोलीमा प्रहरीबाहिरका स्वतन्त्र अनुसन्धानकर्ता मात्र राख्न सकिने प्रावधान ऐनमा छ । 

हाल डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृतका रूपमा तोकेर अनुसन्धान भइरहेको छ । अनुसन्धानमा सिआइबीलगायत प्रहरीका विभिन्न निकायबाट अधिकारीहरू खटिएका छन् । चार महिनामा प्रहरीले तीन सयभन्दा धेरैलाई पक्राउ गर्दा पनि अभियुक्त फेला पार्न सकेको छैन । प्रहरीले घटनास्थलको सुरक्षा नगर्नु र प्रमाण मेट्नुले कसैलाई जोगाउन खोजिएको आशंका व्यक्त गरिँदै आएको छ । 

महेन्द्रनगरका स्थानीयहरूले भने प्रदीप र विशाललाई फसाउन खोजिएको आशंका व्यक्त गरेका छन् । प्रहरी स्रोतले प्रदीप विगतमा पनि बलात्कारको घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको बताए पनि उनका काका बलबहादुर रावलले त्यो गलत भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *