एन्डी मर्रे विम्बल्डन टेनिसको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, असार २७ । साविकको विजेता तथा विश्व नम्बर एक बेलायती टेनिस खेलाडी एन्डी मर्रे विम्बल्डन टेनिसको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लन्डनमा भएको चौथो चरणको खेलमा फ्रान्सका बेनोइट पेअरलाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का बनाए ।

लण्डनस्थित सेन्टर कोर्टमा भएको खेलमा ३० बर्षिय मर्रेले बिना वरियताका बेनोइट पेअरलाई ७  – ६ (७ – १ ) , ६ – ४ र ६ – ४ को सेटमा पराजित गरे । अब मर्रेले क्वाटरफाइनलमा अमेरिकी खेलाडी स्याम क्वेरेको सामना गर्ने छन् । स्याम क्वेरेले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन्  ।

वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनको पुरुषतर्फ सात पटकको च्याम्पियन तथा तेस्रो वरियताका स्विस खेलाडी रोजर फेडेररले पनि अन्तिम आठमा स्थान बनाएका छन् ।  ३५ बर्षिय फेडेररले बुल्गेरियाका ग्रिगर दिमिट्रोभमाथी ६ – ४ , ६ –  २ र ६ – ४  को सेटमा जित निकाले । अब फेडेररले क्वाटरफाइनलमा क्यानडाका मिलोस राओनिकको सामना गर्ने  छन्  ।

चौंथो वरियताका स्पेनिस खेलाडी राफायल नाडाल भने घासे मैदानमा खेलिने विम्बल्डनको चौथो चरण बाटै बाहिरिएका छन् । चौथो चरणको खेलमा लक्समबर्गका १६ औं बरियताका गिल्स मुलरसँग ३ – २ को सेटमा पराजित हुँदै नाडाल प्रतियोगिताबाट बाहिरिएका हुन् ।

दुई पटकको विम्बल्डन च्याम्पियन नाडालमाथि मुलरले ६ – ३, ६ – ४, ३ – ६, ४ – ६ र १५ – १३ को सेटमा जित निकाले । मुलर सन् २००८ पछि पहिलोपटक ग्राण्डस्लाम टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । अब मुलरले क्वाटरफाइनलमा क्रोयसियाका मारिन क्लिकको सामना गर्ने छन् ।

विम्बल्डनको टेनिसको महिलातर्फ छैटौं वरियताकी बेलायती योहाना कोन्टाले अन्तिम आठमा स्थान बनाएकी छिन् । लण्डनस्थित सेन्टर कोर्टमा भएको खेलमा कोन्टाले फ्रान्सकी क्यारोलिन ग्रासियालाई ७ – ६ (७ – ३),४ – ६ र ६ – ४ ले पराजित गरिन्  ।

योसंगै २६ बर्षिय कोन्टा सन् १९८४ पछि विम्बल्डन टेनिसको क्वाटरफाइनलमा पुग्ने पहिलो बेलायती महिला खेलाडी बनिन् । कोन्टाले अब क्वाटरफाइनलमा दोस्रो बरियता प्राप्त रोमानियाकी सिमाने हालेपसँग खेल्ने छिन्  । हालेपले चौथो चरणमा बेलारुसकी भिक्टोरिया अजेरिन्कालाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *