जलेकाे याे पुस्तकः जसले सारा नेपालीकाे मन जलायाे

फागुन २९, काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ५१ जनाको ज्यान गयो । ३३ जना नेपाली यात्रु र चालकदलका सदस्यसहित ७१ जना लिएर बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

विमानमा ढाकामा एमबीबीएस अध्ययन गर्न गएका १९ नेपाली विद्यार्थी थिए । ती विद्यार्थीहरु आफ्नो एमबीबीएस अध्ययनको अन्तिम परीक्षा सकेर नेपाल फर्किंदै थिए । डाक्टर बन्ने सपना बोकेर गएका विद्यार्थीहरु ठूलो परिश्रम गरी अध्ययन सकेर अब औपचारिक रुपमा डाक्टर बन्ने सपनासहित स्वदेश फर्किएका थिए ।
दुर्घटनास्थलका फोटोहरु समाचार पोर्टलदेखि फेसबुक, ट्विटर र इन्ष्टाग्राममा धेरै सार्वजनिक भयो । सार्वजनिक भएका तस्विरहरुमध्ये एक फोटोले भने संसारको ध्यान तानेको छ ।

फोटोमा मेडिकल शिक्षाको एक पुस्तक क्षत विक्षत अवस्थामा छ । यो पुस्तक थियो डाक्टर बन्ने सपना बोकेर बंगलादेश गएर नेपाल फर्किएका नेपालीहरुको ।
तर, दुर्घटनाले उनीहरुको सपना चकनाचुर बनाइदिएको छ । जसरी त्याे पुस्तकका पानाहरू जलिरहे त्यसरी नै सारा नेपालीकाे मन पिडामा जलेकाे छ । देशले सक्षम र याेग्य भएर अाएका नागरिक गुमाएकाे छ ।

डाक्टरलार्इ भगवानकाे अर्काे रूप भनिन्छ । एउटा विरामी सक्षम र राम्राे डाक्टरकाे छेउमा पर्दा उसकाे शरीरकाे अाधा राेग निकाे भएकाे  महशुष गर्छ । वर्षाैंकाे मेहनतकाे प्रतिफल पाउने बेला भएकाे याे दुर्घटनाले मानवरूपी धेरै भगवानलार्इ खाेसेकाे छ ।

फेसवुक प्रयाेग कर्ता Apocalypto Jaguar  ले मर्मस्पर्शी कविता नै लेखेका छन् ।

आमा ! म सेतो कोट लगाएर
घरको आँगनमा उभिन चाहान्थेँ
तर , आज घरको आँगनमा
सेतो कपडामा बेरिएर लडेको छु
सबै सेता रङहरूले खुसी नदिँदो रहेछ

बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना
धेरै वर्षको मिहिनेतले पूरा त गरें
त्यसैले , भगवान् यति धेरै खुसी भएछन् कि
हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो
भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ

जमिन त ज्यूँदै टेकेको हुँ
उत्रिएपछि हजुरहरूको हुन सकिन

म बसेको सिटभन्दा अगाडि
नेपाल हेर्न आएका केही जोडीहरू थिए
उनीहरूलाई नेपाल यति धेरै मनपरेछ कि
अब उनीहरू फर्केर कहिल्यै जाँदैनन्

मलाई लिन विमानस्थल पुगेका
हजुरहरूका आँखाले, मेरा बन्द आँखा मात्र देखे
मैले त चाहेर पनि हेर्न पाइन्
सायद, म हावा भएँ होला, महसुस मात्र भयो

म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु
मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा
म लडेको खबर सुनेपछि
कसरी घर फर्कियो होला ?

सबैलाई बचाउन सक्ने योग्य भएर
म आफ्नै देश फर्किए
अन्त्यमा , मैले आफैंलाई बचाउन सकिन ।।

हार्दिक श्रद्धाञ्जली एवं स्वास्थ्यलाभको कामना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *