वन्यजन्तुको आक्रमणबाट २० बर्षमा ६० जनाले ज्यान गुमाए

 

फागुन ६, चितवन । गएको २० वर्षमा वन्यजन्तुको आक्रमणबाट चितवनको माडी नगरपालिकामा ६० जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको वन्यजन्तुको आक्रमणबाट यो साउन यता मात्रै माडी नगरपालिकामा पाँच जनाले ज्यान गुमाइसकेका छन् । 

नगरपालिकाका प्रमुख ठाकुर ढकालले वन्यजन्तुबाट सुरक्षित राख्न बगईदेखि पाण्डवनगर सम्म ड्यामसहितको वाल निर्माण गर्न सके माडी वन्यजन्तुबाट सुरक्षित रहने बताए । 

null

उनले भने, ‘बगईदेखि पाण्डवनगरसम्म करिब ३५ किलोमिटर छ, यो ठाउँमा ड्यामसहितको वाल निर्माण गर्नुपर्छ, यति ठूलो बजेट माडी नगरपालिकाले हाल्न सक्दैन यसमा राज्य लाग्नुपर्छ ।’ प्रमुख ढकालका अनुसार मोटामोटी वाल निर्माणको लागि १ अर्ब ३ करोड लाग्छ, राज्य लाग्यो भने एक वर्षमै काम सकिन्छ । 

उनी मध्यवर्ती क्षेत्र हटाएर मात्र माडीको समस्या समाधान नहुने बताउँछन् । उनी भन्छन्, ‘निकुञ्ज र यहाँका मध्यवर्ती जंगलहरु अभिशाप भइरहेको छ, यसलाई वरदान बनाउन राज्य लाग्नुपर्छ ।’ चितवन निकुञ्ज कार्यालयका सूचना अधिकारी गोपालबहादुर घिमिरेले आर्थिक वर्ष २०५५र५६ देखि हालसम्म २० वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट माडी क्षेत्रका ६० जनाको मृत्यु भएको जानकारी दिए । 

निकुञ्जका अनुसार आर्थिक वर्ष ७२–७३ मा वन्यजन्तुको आक्रमणबाट माडीका ९ जना घाइते भए । यो वर्ष कसैको मृत्यु भएन । ०७३–०७४ मा वन्यजन्तुका आक्रमणबाट माडीका ३ जनाको मृत्यु भयो । ०७४–७५ मा दुई जनाको मृत्यु भयो । 

७५–७६ मा साढे ४ महिनाको अवधिमा वन्यजन्तुको आक्रमण बाट ५ जनाको मृत्यु भइसकेको छ, अन्य ठाउँको तुलनामा माडीमा वन्यजन्तु आक्रमण बढेको छ’ निकुञ्जका सूचना अधिकारी घिमिरेले भने, ‘अन्य ठाउँको तुलनामा माडीमा वन्यजन्तु आक्रमण बढी छ ।’ उनका अनुसार आक्रमणबाट हुने घाइतेको संख्या र कृषि तथा पशुचौपायाको नोक्सानीको विवरण पनि लामो छ । 

सदरमुकामबाट झन्डै ५० किलामिटर पर रहेको जंगलको बीच भागमा रहेको साविक चारवटा गाविस मिलाएर बनाइएको माडी नगरपालिका पूर्वाधार विकासबाट पछाडि त छ नै, त्यसमा पनि जंगली जनावरबाट आक्रान्त पनि माडीवासी नै छन् । मान्छे माथि आक्रमणमात्र होइन, माडी क्षेत्रमा वन्यजन्तुले धेरै बालीनाली नोक्सान गरेको छ, जसको कुनै लेखाजोखा छैन । माडीका बासिन्दा जंगलमा बढी आश्रित रहेका छन् । जंगलसँगै जोडिएका घरखेत छन् । जसले गर्दा सजिलै वन्यजन्तुले आक्रमण गरिरहेको छ । 

माडीवासीका भौतिक संरचनाहरु पनि वन्यजन्तुको आक्रमणबाट भत्केका छन् । नगरपालिकाका प्रमुख ढकाल राष्ट्रिय निकुञ्ज ऐन २०२९ नै परिमार्जन हुनुपर्ने बताउँछन् । ‘वन्यजन्तुले बालीनाली नोक्सान गरे निकुञ्ज ऐनमा राहतको व्यवस्था छ, हामीले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छौँ’, प्रमुख ढकालले भने । 

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई निकुञ्जले १० लाख उपलव्ध गराउँदै आएको छ । पछिल्लोसमय नगरपालिकाले पनि कुनै वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा तत्काल २५ हजार उपलव्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *