अब पार्टीमा अध्यक्षज्यूहरुको मात्र हालिमुहाली हुँदैनः भीम रावल

 

साउन २०, काठमाडौं । कुटनीति मर्यादा तथा हाम्रो स्वाधीनताको दृष्टिबाट कुनै देशको गुप्तचरलाई ठूलाठूला पदमा बसेका र राज्यका महत्वपूर्ण पदमा बस्ने व्यक्तिहरुले त्यसरी भेट्नु भनेको देशको शीर निहुर्याउने काम हो । 

खरो रूपमा राजनीतिमा उत्रने छवि बनाएका सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता भीम रावल पार्टीभित्रै प्रतिपक्षी नेताको रुपमा चिनिन्छन् । 

null

उनले तत्कालिन एमालेमा रहँदा होस् या अहिले पार्टी एकतापछि नेकपामा रहँदा होस्, सरकारको सकारात्मक कामको प्रतिरक्षा र गलत कामको विरोध गर्दै आएका छन् । त्यसैले उनलाई पार्टीभित्रै पनि प्रतिपक्षीको आरोप लाग्दै आएको छ । 

नेकपाको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावलसँग देशको स्थिति, नेकपाको राजनीतिक अवस्था तथा सरकारका कामकारवाहीका विषयमा मकालु खबरका संवाददाता श्यामसुन्दर पुडासैनीले गरेको कुराकानीको संक्षिप्त अंशः 

पार्टी एकीकरणपछि पार्टीका कमिटी रहेनन् । साथसाथै पार्टीको निर्णय प्रक्रिया प्रणाली नै खलबलियो । समस्यालाई सामूहिक रूपमा टुंग्याउँदै जाने गरेको भए प्रभावकारी हुन्थ्यो । त्यसो नहुँदा समस्या भएको थियो । पछिल्लो समय सबै संरचनाहरु बनाइसकेका छौँ । तल्ला तहसम्म एकताले पूर्णता पाइसकेको छ । अहिले सामूहिक नेतृत्वमै पार्टी चलिरहेको छ । 

पार्टी एकीकरणको विशिष्ट अवस्थामा दुई अध्यक्षज्यूको विशेष भूमिका हुनु आवश्यकता थियो । तर, कतिपय निर्णयहरू सचिवालय, स्थायी कमिटीबाट आवश्यकता अनुसार केन्द्रीय कमिटीबाट अनुमोदन गरेर जानुपर्ने थियो । यदि त्यसो गरेको भए यस्तो अवस्था आउने थिएन होला । अब पार्टीका हरेक निर्णण प्रक्रियामा सामुहिक निर्णय हुनेछ र त्यही अनुसार पार्टी अघि बढ्छ भन्ने हामिलाई विश्वास छ । 

हाम्रो राजनीतिक प्रतिवेदनले निर्देशित गरेको क्रान्तिको कार्यदिशा तथा स्वाधीनताको बाटोमा कसरी जाने भन्ने विषयलाई एक नम्बरमा राखेको भए कुन विभागमा को व्यक्ति जान्छ भन्ने कुरा गौण हुन्थ्यो । तर, यी विषयमा छलफल नै छैन, ध्यानै छैन । त्यो भएपछि निजी हितका कुराले प्रश्रय पाउने भयो । त्यसकारण पार्टी स्कुल विभागको जुन विवाद गरिँदैछ, यो निजी हितकेन्द्रित विवाद हो । यसमा भन्दा राष्ट्रिय हितका विषयमा चर्चा गरेको भए हुन्थ्यो । 

जनताले नेकपालाई ५ बर्ष सरकार चलाउन स्ष्ट बुहमत दिएका छन् । हामीले जनताले दिएको बहुमतलाई कति सदुपयोग गर्न सक्छौं भन्ने परीक्षण पनि छ । 

पार्टी एकीकरण गर्दा जुन सहमति भएको थियो, सोही अनुसार नै अगाडि बढ्नुपर्ने थियो । यसबीचमा उहाँहरुले के–के सहमति गर्नुभयो, त्यसमा त हामी थिएनौँ । दुईजना साथीहरु साक्षी पनि बस्नुभएको थियो । त्यहाँ वास्तवमै के भएको थियो, उहाँहरुलाई नै थाहा होला । यस विषयमा हामी जानकार छैनौँ । 

सहमति गर्ने कार्यान्वयन नगर्ने हो भने उहाँहरूको मात्रै होइन, पार्टी राजनीतिको विश्वसनीयतामाथि नै प्रश्न खडा हुन्छ । सहमति भई हस्ताक्षर गरिसकेपछि पार्टीलाई जिम्मेवार दृष्टिकोणबाट अगाडि बढाउने जिम्मेवारी दुई अध्यक्षकै देखिन्छ । 

यदी सहमति भएको हो र कार्यान्वयन नहुने स्थिति आयो भने ठूलो अविश्वासको वातावरण सिर्जना हुन्छ । ठूला समस्या ल्याउँछ । विगतको कम्युनिष्ट आन्दोलनमा हामीले देखेका छौं । त्यस्तो स्थितिको पुनरावृत्ति नहुन दिनका लागि हामी सबै विशेषगरी शीर्ष नेतृत्व सजग हुनुपर्छ । 

यो सरकार जुन बहुमतका साथ बनेको छ । जनताको पनि अपेक्षा ठूला छन् । तर यहाँले भनेजस्तो निराश नै त छैनन् । केही सुधार भने गर्नैपर्छ । त्यसलाई पूरा गर्ने क्रममा राष्ट्रियता, स्वाधिनता, अखण्डता जनताको हकअधिकार, संविधान कार्यान्वयनमा कहीँ पनि त्रुटि नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । मैँले त्रुटि नहोस् भनेर पटक पटक सचेत गराउँदै आएको छु । यसले सरकारलाई नै सहयोग भइरहेको छ । जस्तै पार्टी विधानका कुरा, नागरिकताको विषय । 

धेरै कुराहरु गर्नुपर्ने छन्, धेरै काममा ढिलाई भएका छन् । तर धेरै राम्रा काम पनि भएका छन् । चीनसँग पारवाहन सम्झौता, बजेट तयार गर्दा धेरै कुरा सच्चाइयो, नयाँ कानुन निर्माण भयोे । यी कुराहरु हामीले देखेका छौँ । 

विगतमा कुनैबेला द्वन्द्वको अवस्थाबाट शान्ति प्रक्रियामा पुग्यौँ । सरकारहरु अस्थिर थिए । अब यत्रो बहुमत प्राप्त सरकार आइसकेपछि विगतका बाहृय हस्तक्षेपकारी गतिविधिहरुलाई रोक्ने र स्वाधीनताको दिशामा गएनौं भने आजको पुस्ताले मात्र होइन, इतिहासमा भोलिको पुस्ताले पनि हामीलाई धिक्कार्नेछ । कुटनीति मर्यादा तथा हाम्रो स्वाधीनताको दृष्टिबाट कुनै देशको गुप्तचरलाई ठूलाठूला पदमा बसेका र राज्यका महत्वपूर्ण पदमा बस्ने व्यक्तिहरुले त्यसरी भेट्नु भनेको देशको शीर निहुर्याउनु हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *