लकडाउन प्रभाब:घरमा न पैसा छ न अन्न

चैत्र २३,बिराटनगर । स्थानीय जहरु मियाँको काम गर्न नसक्ने गरी खुट्टा भाँचिएको छ  । श्रीमतीको श्रमबाट गुजारा चलिरहेकामा अहिले लकडाउन भएकोले काममा निस्कन नपाउँदा  परिवारलाई हातमुख जोड्न गाह्रो भएको छ ।   

घरमा न पैसा छ न अन्न  । लकडाउन जारी भएको आज १३ औँ दिनसम्म गरीब एवं विपन्न मुस्लिम परिवारले जसोतसो परिवार चलाए, अब उनीहरुलाई खाद्यान्नको अभाव हुन थालेको छ । 

दैनिक काम गरेर पाउने ज्यालाबाट जीविकोपार्जन गर्ने यस्ता परिवारले लकडाउनमा काम गर्न पाएका छैनन् भने उनीहरुमा अब जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ । “अब कसरी जीवन निर्वाह गर्ने हो ।” सुनसरी इनरुवा नगरपालिका वडा नं।७ मुस्लिम बस्तीका विपन्न एवं गरीब परिवारको दुःखेसो हो यो । काम गर्न नपाएको अवस्थामा कसैले राहत लिएर आउँछन् कि भनेर बाटो रुँगेर बस्नु उनीहरुको नयाँ दैनिकी भएको छ । तर राहत त के जनप्रतिनिधिले पनि भेटघाट वा सान्त्वना दिन पनि नआउने उनीहरुको गुनासो छ ।   

null

सामान्य अवस्थामा गाउँघरमै तथा केहीले सात किमी यात्रा गरेर इटहरी उपमहानगरपालिकाका गएर दैनिकी ज्यालादारीमा काम गरेर परिवार चलाईरहेका उनीहरु लकडाउनमा घर बाहिर निस्कने कुरै भएन । कोरोना भाइरसबाट बचाउन सरकारले यही चैत ११ देखि लकडाउन जारी गरेको थियो । 

लगातार दुई पटक तत्कालीन चाँदबेला गाविसको अध्यक्षमा निर्वाचित गराएको र पछिल्लो समयमा वडा सदस्य पदमा जिताएर सुनसरी जिल्ला समवन्य समितिका संयोजक हुने अवसर पाएका गोपाल राजभण्डारी कहिलेकाँही गाडी लिएर आए पनि उनको आश्वासन मात्र पाइएको स्थानीय निजाब मियाँले बताए । उनले भने , “म दिनभर बरफ बेचेर गुजारा गर्ने मानिस हुँ अहिले बजार बन्द छ, बरफ फ्याक्ट्री बन्द छ । कहाँ बरफ किन्नु र बेचेर पैसा कमाउनु र?” 

सोही गाउँका अताहुसेन मियाँले जनप्रतिनिधिलाई राहतका लागि अनेक अनुरोध गरेपनि अहिले सम्म राहत नआएको र सोही गाउँका हुनेखाने हाजी मोहम्मद रसुललाई गुहार माग्दा उहाँले करिव ७० परिवारमा १० केजी देखि १५ केजी चामल वितरण गरिदिएका छन्  । 

आफूहरु श्रम गर्ने मानिसहरु श्रम नगरी पैसा आउँदैन थाहा छ तर कहाँ काम गर्ने र कसरी समस्यालाई समाधान गर्ने चिन्ता परेको अर्का स्थानीय दुर्गेश चौधरीले भने ।   

अर्का स्थानीय आकुप मियाँले दिनभरी बस्दा बस्दा वाक्क लागेको र कहिले लकडाउन फुुकुवा हुन्छ र काम गर्न पाउँछु भन्ने आशामा रहेको बताए । उनले अहिलेका लागि राहत कुर्नु नै विकल्प भएको जनाए । सोही गाउँका मोहम्मद नजमुलले दुःखको बेलामा जनप्रतिनिधिले जनतालाई हेर्नुपर्ने बताए ।   

सो वडाका वडा अध्यक्ष किशोर सिंहले राहत वितरण गर्न लगत तयार गरिरहेको र नगरपालिकामा छलफल भइरहेको जानकारी दिँदै निर्णय भएपछि राहत वितरण गरिने जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *