वाइडबडी, शेरबहादुर र चौधौं महाधिवेसन
देउवाको राजनैतिक इतिहास नै अस्थिरतामा वितेको छ । पञ्चायतकालको अन्त्य तिर यही अस्थिरतालाई बुझेर नेताहरुले देउवालाई ‘उच्च अध्ययन गर’ भनेर बेलायत पठाइदिए । देउवा फर्किंदा पञ्चायत गैसकेको थियो, उनी गिरिजा प्रसाद कोइरालाको दाइना भएर बसे । कोइरालाले पनी उनलाई एकछत्र सत्तामा टिकाइ राखे । तथापि, एक ठाउँमा चुप लागेर बस्न नसक्ने बानी परेका डडेल्धुरेली ठकुरी खलक देउवाको अस्थिरता खत्तम भएन । गिरिजा प्रसादको आर्शिवाद पाएसँगै उनको महत्वकांक्षा दिन दुगुना रात चौगुणा बढ्यो । अनी आफ्नै राजनीतिका ‘गडफादर’ कोइरालालाई नै सिध्याउनतिर लागे । पार्टी भित्र गुट उपगुटको राजनीति भित्र्याए । फल स्वरुप २०५९ सालमा पार्टी समेत फुटाए । पार्टी फुटाउदा देउवाले कुनै सैद्दान्तिक मतभेद राखेनन्, ‘अन्याय भयो’ भन्दै आफुलाई भाग नपुगेको कुरा मात्र राखे । त्यति मात्रै नभएर तत्कालिन राजा र राज खानदानसँग उनको अस्थिर सम्बन्धले नै देशले ‘सक्रिय ज्ञानेन्द्र शासन’ भोग्नु पर्यो । उनलाई नजिकबाट चिन्नेहरू भन्छन ‘बेलायतबाट फर्किए पछि देउवाले पार्टीको सिद्दान्त र आदर्श भन्दा पनि ऐस आराम र पैसालाई प्राथमिकतामा राखे ।’
शेर बहादुर देउवा के बोल्छन र के गर्छन भन्ने कुरा उनले गरे पछि मात्र आम कार्यकर्तालाई थाहा हुन्छ । आजका मिति सम्म उनले कुनै दर्शन पढेको, दर्शन सम्बन्धि धारणा राखेको वा आफ्नो दर्शन प्रतिपादन गरेको कुनै कांग्रेसीजनलाई र कुनै नेपालीलाई थाहा छैन । उनलाई वीपीको सिद्धान्त समेत थाहा छैन । उनले कुनै अन्तर्वार्तामा ‘मैले यो पुस्तकमा यस्तो पढेको थिए’ भनेर कसैले सुनेको पनि छैन । उनले लेखेको कुनै लेख वा दृष्टिकोण आजका मिति सम्म कुनै नेपालीले पढ्ने सौभाग्य पनी पाएको देखिँदैन ।
null
देउवा यत्ति सम्म भुलक्कड छन् की कुनै अमुक ठाउँमा बनेको दस्तावेज पढे भने त्यो दस्तावेजको विषयमा कसैले अनौपचारिक कुरा उप्काए एकैछिनमा नाजवाफ हुन्छन् । कतिपय स्थानमा आफैले पढेको दस्तावेज वारे एकछिन पछि पत्रकारले प्रश्न गर्दा अल्मलिएर आफ्नो कमजोरी लुकाउन पत्रकारलाई समेत थर्काउँने हदसम्म जान्छन् । उनी सञ्चार क्षेत्रबाट समेत टाढा बस्न रुचाउँछन् । पार्टी सभापति भएपछी हरेक दिन विभिन्न सञ्चारकर्मीसँग सम्पर्कमा रहनुपर्ने भएपनी उनलाई कुनै पत्रकारले सितिमिती भेट्न सक्दैनन् । यदी कुनै पत्रकारले देउवालाई भेट गर्न पाए देउवाले पत्रकारको प्रश्नको उत्तर कम गाली बढि गर्छन् । उनको यो वाध्यता उनकै अज्ञानताले ल्याएको सजिलै बुझन सकिन्छ ।
हालै सम्पन्न भईरहेको भारतको चुनावमा नरेन्द्र मोदीले विपक्षिलाई ‘महामिलावट’ भने जस्तै तेल र पानी मिसिए सरि छ देउवा गुट । आफुलाई नेपालको जय प्रकाश नारायण सम्झिने प्रदीप गिरी देखी सुशील कोइरालाकी टीके बहिनी मीना सुब्बासम्म छन् यो मिलावटमा । गिरिजा प्रसाद कोइरालासँग जन्मजात मतभेद राख्ने, कोइरालाको अवसान पछि अवसर छोप्न गुट परिवर्तन गर्ने, लोभी र भोगी, डनगिरि र ठेक्कापट्टामा संलग्न, कहिल्यै चुनाव नजित्ने तर, केन्द्रिय नेतृत्वमा बसिराख्नु पर्ने तथा देउवा फेरी सभापति नहुने भए भने एकै रातमा गुट परिवर्तन गर्न खुट्टा उचाल्नेहरुको संगम छ उनको गुटमा ।
सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रदीप गिरि, प्रकाश शरण महत, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की लगायतको कट्टरपन्थी र स्व. गिरिजा प्रसाद कोइराला विरोधी समूह नै देउवाको मुख्य बल हो । गिरि, महत, श्रेष्ठ र कार्की भएनन् भने, देउवाको वाक्य बस्छ ।
देउवा गुटमा रहेका दुई मधेसी मूलका उपसभापति निधी र गच्छदार सौता सौता सरह छन् । निधीले आफ्नै अस्तित्व खोज्न सुरु गरेको र देउवा पत्नी आरजुको आय आर्जनमा व्यवधान सिर्जना गरेको कारण देउवाले साम, दाम, दण्ड, भेदका विद्यावारिधी गच्छदारलाई निधीको सौता हालेका छन् कांग्रेसमा । एक दसक आय आर्जनको राजनैतिक खेती गरेर तत्कालिन फोरम लोकतान्त्रिकका सबै नेता कार्यकर्तालाई शहीद बनाएर कांग्रेस फर्किएका गच्छदारको कार्यकर्तामा शून्य बराबर पकड छ । तर, निधीको तुजुक झार्न उनी देउवाका हुकुमका एक्का हुन् ।
आगामी महाधिवेसनमा गच्छदारले देउवा छोड्ने सम्भावना कम भए पनि देउवा विरुद्द रामचन्द्र र सिटौला वाहेक कोही तेस्रो व्यक्ति उम्मेदवार भयो भने अचानक निधी त्यतै मिल्ने सम्भावना देखिन्छ । गृहमंत्री हुँदा नवराज सिलवाल, शुशीला कार्की लगायतका काण्डमा आरजुले चिथोरेका घाउहरु अझै निधीको मस्तिष्कमा आलै छ ।
पार्टी राजनितीमा ‘कर्मकाण्डी’ र राजनैतिक निर्णय क्षमतामा ‘भंगेरे छाती’ भएका रामचन्द्र पौडेल र ‘अति महत्वाकांक्षी’ र ‘धुर्त’ कृष्ण प्रसाद सिटौला एक भएर जाने सम्भावना कमै देखिन्छ । १३ औं महाधिवेसन जस्तै यी दुवै उठे भने, देउवा गुट यथास्थानमा रहने र देउवाले जित्ने कुरामा कुनै शंका छैन । ‘आफू नहुने अवस्थामा देउवाले मलाइ बनाउँछन्’ भन्ने दुबैको अपेक्षामा पनि ग्रहण लाग्ने निश्चित छ । यी दुवै जनाको मुख्य काम नै देउवासँग भागबण्डा खोज्ने र आफ्नो कोटरिलाई चलाई राख्ने देखिएको छ । दुवै जना सभापतिमा उठे वा दुवै मिलेर एक जना उठे पनि देउवा गुटमा कुनै हलचल नहुने देखिंदा कांग्रेस राजनीतिमा अब दुबैको उपादेयता सकिएको कांग्रेसीहरु नै भन्न थालेका छन् ।
त्यस्तै गगन थापा र प्रदीप पौडेल जस्ता युवाहरु आगामी महाधिवेसनमा पनि सिटौलाको पछि लागे भने उनीहरुको राजनीतिमा पनि ग्रहण लाग्ने निश्चित देखिन्छ । महामन्त्री भएर देउवा इतर पक्षको नेतृत्व गरेर आगामी महाधिवेसनमा सभापतिको जीत हासिल गर्ने मौका गुमाएर पटक पटक देउवाकै लालीपपमा भुलिएका डा. शशांक कोइरालालाई त मेची देखि महाकाली सम्मका कार्यकर्ताहरुले ‘हुन्छ कोइराला’ भन्ने नाम नै राखेका छन् । ‘हुदैन नभन्ने तर, केही पनि नगर्ने’ शशांककै लाचारीले देउवाले मनपरी गर्ने अवसर पाएका छन् । र, आगामी महाधिवेसनमा देउवाले जिते भने त्यो शशांककै कारणले जित्छन ।
शेरबहादुर प्रतिपक्षी दलका नेता हुन् । वर्तमान ओली सरकारका अनेक घोटालाहरु प्रमाण सहित बाहिर आएका छन् । शेरबहादुर किन बोल्दैनन ? ओली र शेरबहादुरमा के सहमति छ, जसले उनी सत्तारुढ दलका उपनेता जस्ता भएर बसेका छन् ? वाइड बडी काण्ड, बुढी गण्डकी, बालुवाटारको जग्गा, स्वरोजगार कार्यक्रम, पुनर्निर्माण प्राधिकरण, महंगी, एनसेल कर असुली लगायतमा देउवा किन चुप छन् ? कि देउवा पनि सबै घोटालामा शेयर माग्छन ? देउवाको मौनब्रतले आम कांग्रेसी कार्यकर्ता छक्क परेका छन् ।
देउवाका एक निकटस्थ भन्छन ‘देउवा आगामी महाधिवेसन सम्म ओली सरकार नै रहोस भन्नेमा छन्, ओलीले उनलाई जिताउन साधन श्रोत प्रयोग गरिदिने बचन दिएका छन्, सरकार दाइना हुनुले कार्यकर्ता किन्न पनि त सहयोग पुग्छ नि ।’ दिन दहाडै देउवा निकटस्थ कार्यकर्ताले भेद खोल्नुमा कतै ‘दालमे कुछ काला है’ भने जस्तै त हैन ?