राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डीनलाई ल्यापटप गायब बनाएको आरोप

 

जेठ १०, काठमाडौं । राप्ति स्वास्थ्य विज्ञानकी डीन डा. ऋतु शर्मा बराललाई बरबुझारथ गर्न प्रतिष्ठानले सुचना नै प्रकाशित गरेको छ । डीनबाट राजिनामा दिएकी डा. बरालले प्रतिष्ठानका सरसामान अझै नबुझाएको र सम्पर्कविहीन भएको भन्दै प्रतिष्ठानले सुचना प्रकाशित गरेको छ । 

आज प्रतिष्ठानले कान्तिपुर दैनिकमा सुचना प्रकाशित गर्दै डा. ऋतु शर्मा बराललाई प्रतिष्ठानको नगदी, ल्यापटप तथा कागजपत्र नबुझाएसम्म राजीनामा स्वीकृत नहुने भन्दै तत्काल सरसामान बरबुझारथ गर्न भनेको छ । 

null

डा. बरालले प्रतिष्ठानको नियमावली अनुसार १ महिना अगाडी नै राजीनामा गर्ने पूर्व जानकारी समेत नदिइ हिँडेको तथा प्रतिष्ठानले ०७५ चैत्र २४ गते ०७६ बैशाख १७ गते र जेठ ३ गते आफैं उपस्थित भएर सरसामान बरबुझारथ गर्न पत्राचार गरेपनि उपस्थित नभएको जनाइएको छ । 

प्रतिष्ठानले प्रकाशित गरेको सुचना अनुसार डा. बरालको राजीनामा सरसामान बुझाएपछि मात्र स्वीकृतिको कारबाही अघि बढाइनेछ । अन्यथा प्रतिष्ठानले कानुन बमोजिम आवश्यक कारबाही गर्ने समेत बताएको छ । 

प्रतिष्ठान स्रोतका अनुसार डा. बरालले प्रतिष्ठानको नाममा रहेको ल्यापटप लगेकी छिन् भने केही कागजात समेत नबुझाएकोले सुचना नै प्रकाशित गरिएको हो । 

प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीको टर्चरका कारण ३ महिना अघि नै प्रतिष्ठानको डीनबाट राजीनामा दिएर गुमनाम भएकी डा. बरालसँग मकालु खबरले सम्पर्क गर्न खोज्दा उनको मोबाइल उठेन । 

राप्ति प्रतिष्ठानमा उपकुलपति डा. भण्डारीको दबदबा रहेको छ । उनको हुकुमी शैलीबाट आजित प्रतिष्ठानका पदाधिकारी, कर्मचारी धमाधम राजीनामा दिएर बाहिरिने क्रममा छन् । यसअघि नै डा. भण्डारीको असहयोग, अनावश्यक हस्तक्षेप सहन नसकी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले समेत राजिनामा दिएका थिए । 

प्रा.डा. श्रेष्ठले उपकुलपतिले प्रतिष्ठानको नाममा अवैध ढंगले काम गरिरहेकोले कारबाही गरिपाऊँ भन्दै सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव समक्ष उजुरी समेत दिएका थिए । त्यसको चार दिन पछि प्रतिष्ठानले प्रा.डा. श्रेष्ठलाई तत्काल हाजिर हुन वा कारबाही वेहोर्न चेतावनीमुलक सूचना समेत प्रकाशित गरेको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *