माघ १३ मा हुँदै थियो विवाह, तीन दिनअघि टिपरले लियो ज्यान

माघ १०, काठमाडौं । कञ्चनपुरमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   

कञ्चनपुरको पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा युवतीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बैतडीको दशरथ नगरपालिका १ गुरुखोलाकी २० वर्षीया रमिता रहेको प्रहरीले जनाएको छ । उनी साईकलमा सवार थिइन् । प्रहरीका अनुसार टिपरले उनको टाउको किचेपछि घटनास्थलमै ज्यान गएको हो । भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन् ।   

मृतक भट्टको यही माघ १३ गते विवाह तय भएको थियो । डेढ बर्ष उनले प्रकाश टेरसँग भागी विवाह गरेकी थिइन् । सांस्कृतिक परम्परा अनुसार विवाह भने माघ १३ गते हुन लागेको थियो ।   

उनी आफ्ना साथीहरुलाई विवाहको निम्ता बाँड्न हिँडेकी थिइन् । तर विवाह हुन नपाउँदै टिपरले उनको ज्यान लियो । अहिले उनको शव महाकाली अस्पतालमा राखिएको छ । 

चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *