उहानबाट ल्याइएका १७५ नेपालीलाई यसरी पुर्‍याइयो खरिपाटी (फोटोफिचर)

फागुन ४, काठमाडौं । कोरोना भाइरस प्रभावित चीनको उहानबाट उद्धार गरी ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटी पुर्‍याइएको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत ल्याइएको १ सय ७५ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै खरिपाटी पुर्‍याइएको हो ।   

विमानस्थलबाट उनीहरुलाई पाँच वटा गाडीमा राखेर क्वारेन्टाइन व्यवस्था गरिएको ठाउँ खरिपाटी लगिएको हो । ती गाडीलाई प्रहरीले विमानस्थलदेखि खरिपाटीसम्म स्कटिङ गरेर क्वारेन्टाइनमा पुर्‍याएको थियो । ती बससँगै एम्बुलेन्स, स्वास्थ्यकर्मीको टोली तथा एपीएफको गाडी पनि खरिपाटी पुगेका थिए । 

चीनस्थित नेपाली दूतावासका अनुसार उहानबाट १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिए पनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिए भने ४ जना स्वइच्छाले नेपाल नआएका हुन् । उक्त विमानमार्फत ल्याइएका १ सय ७५ जनामध्ये १ सय ७० जना विद्यार्थी छन् । अन्य २ जना भ्रमणका लागि गएका, १ जना कामका लागि गएका र १ जना बच्चा रहेकाले स्वइच्छाले नेपाल नफर्किएका हुन् । 

उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा १४ दिनसम्म राखिनेछ । त्यहा रहँदा परिवारसँग भेट्न दिइने छैन । कोरोना भाइरस संक्रमण छ छैन परीक्षण गरी स्वस्थ रहेको पाइएमा मात्र उनीहरूलाई १४ दिनपछि घर जान दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण भइसकेको भए पनि त्यसका लक्षण देखिन कम्तीमा २ हप्ता लाग्ने भनेकाले वुहानबाट ल्याइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्न लगिएको हो । 

नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको वाइडबडी जहाज नेपाली समय अनुसार राति ८ बजे वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यहाँबाट करिब १० बजे उडेको जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

तस्बीरहरू : प्रदीपराज वन्त, रासस  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *