यमराजकाे मुखबाट दाजूलाई फर्काउने बहिनीकाे भाइटिका

कार्तिक १२, काठमाडौं । काग, कुकुर, गाईलाई पूजा गरियो । तिहारको अन्तिम दिन आज गाेबर्द्नन पुजा र भाइटिका अर्थात दिदी बहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टिका र मखमली र गोदावरीको माला लगाइदिएर दिर्घायुको कामना गर्ने दिन । 

सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोकडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ । 

भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछन् । 

फाेटाे फाइल 

यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिका टालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । 

यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशी भएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ । 

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदान स्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ । 

दिदीबहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चात नै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजूभाइहरु आज दिदीवहिनीसँग टिका लगाउँदछन् । 

टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँईमा चकटि ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेलपानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै  तीन वा पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । 

फाेटाे फाइल 

त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । 

कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ । 

शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टिका लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन् । 

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।   

आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । 

आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आआफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । 

यस महान पर्व तिहारको आज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । दशैंलाई विस्तारै विदा गरेर तिहारको रमाईलोमा लुटपुटिदै गर्दा तिहारको झटपट विदाईले साह्रै नरमाईलो पनि हुन्छ । पर्वीय विदाहरू सक्किएर अब विद्यालयहरू सूचारु हुन्छ, कार्यलयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिन थाल्दछ । 

हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *