कलाकार तथा समाजसेवी राईद्वारा विद्यार्थीलाई पोसाक

मोरङ, ६ जेष्ठ । सुन्दरहरैँचा नगरपालिका नगरकार्यपालिका सदस्य एवम् कवि तथा कलाकार भक्तकिरण राईले सुन्दरहरैँचा –५ मा सञ्चालित श्रीलाल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नै खर्चमा विद्यालय पोसाक वितरण गरेका छन् । ९५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा राईले पोसाक वितरण गरेका हुन् । 

विद्यार्थीहरू नियमित रूपमा विद्यालय आऊन् र विद्यार्थी भर्ना सङ्ख्या बढ्न मद्दत पुगोस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए । कविता लेखन, गीत तथा सङ्गीतमा साधनारत समाजसेवी समेत रहेका राईले नगरकार्यपालिकाको बैठक बसेबापत् आफूले पाउने भत्ता जोहो गरेर यस्तै सामाजिक कार्यमा खर्चने गरेको बताए । 

 

null

उनले टिनको छानो भएको उक्त एकतले विद्यालयका विद्यार्थीहरूलाई गर्मी र जाडोको मौसममा पनि सहज ढङ्गले पठन–पाठनमा सघाऊ पुगोस् भन्ने उद्देश्यले विद्यालयमा सिलिङ लगाइदिने वचन दिएका छन् । राईले केही समयअघि उक्त वडाको मुसहर बस्तीकी एक विपन्न सुत्केरीका लागि आवास बनाइदिएका थिए । 

गत वर्ष ७३ जना मात्रै विद्यार्थी रहेको उक्त विद्यालयमा चालु वर्ष ९५ जना विद्यार्थी पुगेका छन । मनकारी दाताहरूको सहयोगकै कारण यसै वर्षदेखि अङ्गे्रजी माध्यमबाटसमेत पठन–पाठन सुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक राजु गौतमले बताए । दाताहरूबाट यसरी नै सहयोग बढ्दै गएमा विद्यालयले अपेक्षाकृत उपलब्धि हासिल गर्दै जाने गौतमको ठहर छ । 

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यम जरूरी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम घिमिरेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *