चिकित्सक र उपकरणको अभावमा माडीबासी उपचार गराउन भरतपुर धाउनुपर्ने बाध्यता

चितवन, २२ फागुन । चिकित्सक र उपकरणको अभावमा माडीबासी उपचार गराउन प्रायः भरतपुर नै जानुपर्ने बाध्यता छ । २०६९ सालमा स्वास्थ्य केन्द्र स्तरोन्नती भएर बनेको बघौडा अस्पताल अभावमै जेलिएको हो । तर, माडी नगरपालिकाले आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्ने गरी कयौंको उपचार खर्च जुटाउँदै आएको छ । 

नगरपालिकाले दीर्घरोगी, असहाय तथा अपाङ्गलाई सहयोग गर्ने गरी ‘सहायता स्वास्थ्य सेवा कार्यक्रम’ का लागि बजेट विनियोजन गरेको छ । ‘क्यान्सर, मृगौला, मुटुलगायतका दीर्घरोगीलाई सहयोग गर्दै आएका छौं ।’ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख शिवप्रसाद सुवेदीले भने,–‘हालसम्म ५० जनाले सहयोग लिएका छन् । आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नदिन सहयोग गरिएको हो । ५ लाख बजेट छुट्याइएको छ’, उनले भने,–‘५ देखि २० हजार सम्म सहयोग गर्ने गरेका छौं ।’ 

 

null

सुवेदीका अनुसार यही वर्ष बिरामी पहिचान भएकाले मात्र यो सहयोग लिन पाउनेछन् । सहयोग लिन चाहनेले वडा कार्यालय, चिकित्सकको सिफारिस, बिरामी पुर्जासहित नगरपालिकामा निवेदन दर्ता गर्नुपर्छ । मेयरले स्वीकृत गरेपछि स्वास्थ्य शाखाबाट सो सहयोग हस्तान्तरण हुनेछ । ‘बिरामीलाई उपचारमा प्रोत्साहन गर्न यो नौलो कार्यक्रमलाई निरन्तरता दिएका हौैं ।’ 

निर्धारित बजेट सकिएको छ, तर भैपरी माध्यमबाट भएपनि सहयोग उपलब्ध गराउँदै लगिनेछ । गत वर्ष ३ लाख बजेट यही कार्यक्रमका लागि छुट्याइएको थियो । सबै खाले क्यान्सरका बिरामी, मृगौलाको डायलाईसीस गर्नुपर्ने बिरामी र मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामी लाई लक्षित गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । 

अनुमान गरेभन्दा धेरै बिरामी आएकाले निर्धारित समयअगावै कार्यक्रमको बजेट सकिएको छ । नगरपालिकाले रातो र निलो परिचयपत्र पाएका अपाङ्गता भएकाको स्वास्थ्य बीमा गरिदिने नयाँ योजना कार्यान्वयनमा ल्याएको छ । बीमाका लागि ५ लाख बजेट छ । ५ जनाकोे परिवारले बुझाउनुपर्ने २ हजार ५ सय रुपैयाँ तिरेपछि वर्षभरी ५० हजार बराबरको औषधोपचार निःशुल्क हुने व्यवस्था छ । 

यस्तै, बघौडा अस्पतालमा उपचार गराउन आउने बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरिएको छ । यो केन्द्रीय सरकारले उपलब्ध गराएको बजेटमा आधारित छ । जसका लागि ८ लाख रुपैयाँ बजेट छ । माडी नगरपालिकाले स्वास्थ्यतर्फ सशर्त अनुदानका रुपमा ३ करोड ४१ लाख १४ हजार रुपैयाँ पाएको छ । जसमध्ये एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रमतर्फ ४० योजना छन् । आयुर्वेदतर्फ १३, क्षयरोग नियन्त्रणका ८, अस्पतालका ३, स्वास्थ्यचौकी तथा स्वास्थ्य केन्द्रका ८ शिर्षकमा शर्तको बजेट छ । 

नगरपालिकाले ३ करोड १५ लाख ८० हजार बजेट बराबरका कार्यक्रम स्वास्थ्य शाखालाई छुट्याएको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले स्वास्थ्य सेवालाई भरपर्दो र विश्वसनीय बनाउन नगरपालिकाले चासो दिइरहेको बताए । ‘स्वास्थ्य चौकी तथा अस्पतालमा थप पूर्वाधार विकास गर्न आवश्यक जग्गा खोजी हुनेछ’, उनले भने–‘सबै उपचार माडीमै सम्भव बनाउने गरी केन्द्र तथा प्रदेश सरकारको ध्यानाकर्षण गराइनेछ ।’ उनले बघौडा अस्पतालमा विशेषज्ञ चिकित्सक थप गर्ने, २५ शैया र्पुयाउने, आवश्यक उपकरणको व्यवस्था, स्वास्थ्य चौकीलाई स्वास्थ्य केन्द्रका रुपमा विकास गरिने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *