‘सफल प्रेमले आँखाको ज्योति ल्याए जस्तै भयो’
साउन २०, धरान । सिन्धुली नगरपालिका वडा नम्बर ५ चिसापानी झोडाका छविलाल नेपालीको जीवन ३५ वर्षअघि उज्यालो थियो । भर्खरै जवान हुँदै थिए । जीवनशैली फरक थियो । बेग्लै शान थियो । खुशी थिए । सुखी थिए । तर उनको खुशी धेरै टिक्न पाएन । उनले आफ्नै आँखाले जवानी महशुस गर्न पाएनन् ।
१५ वर्षको उमेरमै जलबिन्दुका कारण उनको आँखाको ज्योति गुम्यो । उनको जीवनमा निराशा छायो । देशका कयौँ अस्पताल चहारे तर उपलब्धि शून्य ।
null
अपांग कल्याण संघ सिन्धुलीका सदस्य समेत रहेका ५० वर्षीय छविलाल नेपाली आँखाको ज्योति गुमेपछि सर्वस्व गुमेजत्तिकै भएको गुनासो पोखे । उनले भने, ‘जलबिन्दुका कारण १५ बर्षको उमेरमा नै मैँले आँखाको ज्योति गुमाएँ । ज्योति फर्किने आशामा देशका सयौँ अस्पतालल चहारेँ । कुनै कसर छोडिनँ । तर उपलब्धि शून्य भयो ।’
जिन्दगी जसोतसो बित्दै गयो । एकदिन उनी आफ्ना भतिजको बिहेमा सिन्धुलीबाट हेटौँडा गएका थिए । त्यहीँबाट सुरु भयो उनको जीवनको नयाँ मोड । उनले प्रेमी फेला पारे । प्रेमको कथा सुरु भयो । उजाड जीवन रंगिन महशुस गर्न थाले । उनको जीवन नै परिवर्तन भयो । उनले सहारा पाए ।
रीता नेपाली उनको जीवनको सहारा बनेर आएको सुनाउँछन् छविलाल । छविलालका अनुसार रीता नेपाली (श्रीमती) अर्काकै घरमा घरधन्दा गाईभैंसी हेर्ने काम गर्थिन् । उनको परिवारको आर्थिक स्थिति सामान्य थियो । त्यसैले सो कार्य गर्नुको विकल्प थिएन ।
प्रेम र पारिवारिक विषयमा रीता पनि खुलिन् । उनले भनिन्, ‘मेरो परिवार गरिब थियो । अर्काको घर धन्दा गर्दै जीनव गुजारा गरिरहेका थियौँ । उहाँ (छविलाल) आफनो भतिजको बिहेमा हेटौँडा आउनुभएको (रीताको माईतीघर) थियो । त्यहीबेला उहाँसँग भेट भयो । प्रेम बस्यो ।’
प्रेममा उत्तरचढाव निकै आउँछन् । कमैका मात्र प्रेम सफल हुन्छन् । छविलाल त झन् दृष्टिविहिन । उनलाई कसरी सहज हुँदो हो प्रेम प्राप्त गर्न ? रिताले विगत सम्झिइन्, ‘पछि उहाँले माग्न आउनुभयो । आमा बुवामा आँखै नदेख्नेलाई कसरी आफ्नी छोरी दिने भन्ने चिन्ता थियो । तर पनि कसो कसो मागी विवाह भयो ।’
अहिले भने छविलाल खुशी छन् । सायद सुखी पनि । प्रेम जो मिल्यो जीवनमा । आज उनी श्रीमतीसँगै दैनिक रुपमा सबैका घरघर हिँडेर ब्यापार गर्छन् । दैनिकी ५ देखि ६ हजार कमाउँछन् ।
हाल उनले काडमाडौ किर्तिपुरमा रहेको एक अपाङ्ग कल्याण संघको अगरबत्ति बनाउने कम्पनीमा अगरबत्तिको मार्केटिङ अगरबत्ति लिएर कमिसनमा बेच्ने काम) गदै आएका छन् ।
उनीहरु विभिन्न सहरमा पुगेर दैनिक रुपमा ४ देखि ५ बोरा अगरबत्ति बेच्छन् । जसमा एक बोरामा ३० बण्डल अगरबत्ति हुन्छ । ती अगरबत्ति एक प्याकेटको एक सय रुपैयाँ पर्छ । उनीहरुले एक प्याकेट अगरबत्ति बेचे बापतको रु ५० पाउ“छन् । सोही अगरबत्तिको कमाईले छबिलाल र रीताले आफ्ना १० बर्षिया छोरा समीर नेपाली र ८ बर्षिया छोरी समिक्षा नेपालीको लालनपालन गरिरहेका छन् । सोही कमाईबाट छोराछोरीको पढाई खर्च जुटाउँछन् ।
हाल उनका छोराछोरी सिन्धुली जिल्लास्थित एक एनजीओको सहयोगमा फोसेटार स्कुलमा पढिरहेका छन् । जहाँ अनाथ बालबालिहरुलाई राख्ने गरिन्छ ।
उनीहरु भने विभिन्न सहर डुलेर व्यापार गर्छन् । व्यापारकै सिलसिलामा उनीहरु सुनसरीको धरान मात्रै तीन पटकसम्म आइपुगेका छन् । उनी भन्छन्, ‘धरानमा राम्रो व्यवहार गर्ने मान्ेछहरु छन् भन्ने सुनेको थिएँ । हो रहेछ । यहाँका मानिसहरु सहयोगी छन् । मेरा अगरबत्ति किनेर सहयोग गर्दे आएका छन् । त्यसैले पनि मलाई धरान आइरहन मन लाग्छ ।’ उनले धरानमा एक हप्तामा एक लाखभन्दा बढी संकलन गरेको अनुभव समेत सुनाए ।
उनले गत २०७२ सालको भुकम्पले क्षति पुगेको घर समेत व्यापारबाटै मर्मत गरे । सरकारले दिँदै आएको किस्ता रकम र आफूले कमाएको पैसाले आफ्नो ६ धुर जग्गामा राम्रै बस्ने घर बनाएका छन् उनले ।
उनले आफ्नी ३२ वर्षीय श्रीमती रीताको कारणले नै यो सबै सम्भव भएको बताए । उनले भने, ‘श्रीमती नै मेरा दुवै आँखा हुन् । म उनकै आँखाले संसार हेर्छु । उनी आएपछि मेरो जीवनको यात्रा सकारात्मक भएर बदलियो ।’