राजधानीमा वर्षासँगै हिउँ, चिसो बढ्यो
पुस २३, काठमाडौं । राजधानीमा अत्याधिक चिसो बढेको छ । चिसोसँगै वर्षा समेत भएको छ । पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा समेत भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो ।
null
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो । ‘आज राजधानी सहित पूर्वी भागमा वर्षा हुन्छ ।’ उनले भनिन्– ‘उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । काठमाडौं आसपासका क्षेत्रमा पनि हिउँ पर्ने सम्भावना छ ।’
आज विहानै देखि राजधानीको पश्चिमी क्षेत्र चन्द्रागिरीमा हिउँ परेको छ । चन्द्रागिरी, फुलचोकी क्षेत्रमा हिउँ परेको हो । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ । आज बिहानदेखि मकवानपुरको दामन र सिम भञ्ज्याङमा हिमपात भएको छ ।
महाशाखाकी कँडेलका अनुसार सोमबार साँझसम्मै राजधानीलगायत पूर्वी नेपालको मौसम चिसो रहनेछ । भारी वर्षाको सम्भावना नभएपनि साँझपखपछि बादल हट्ने अुमान गरिएको छ । यसैगरी भोली मंगलबार पनि केही पहाडी क्षेत्रमा बादल लाग्नेछ ।
देशको दक्षिणी क्षेत्र तराईमा भने मौसम सफा रहने पूर्वानुमान छ । आज राजधानी न्यूनतम तापक्रम आइतबारभन्दा पाँच डिग्री बढेको थियो ।