धरानमा बढ्यो चुनावी चहलपहल, यस्ता छन्, नगरप्रमुखका आकांक्षी

भाद्र २६, सुनसरी । निर्वाचन आयोगले उपनिर्वाचनको कार्यसूचि सार्वजनिक गरेसँगै धरानमा निर्वाचनमा चहलपहल बढेको छ । निर्वाचन आयोगले यहि मसिर १४ गते स्थानिय तहमा रिक्त रहेको स्थानमा उपनिर्वाचन गराउने भएपछि धरानमा राजनीतिक दलहरु चुनाव तयारीमा जुटेका छन ।   

गत वर्ष धरान उपमहानगर पालिकाका नगर प्रमुख तारा सुव्वा र वार्ड न ७ का वडाध्यक्ष भुवन मोक्तानको मुत्यु भएपछि दुई पद रिक्त रहेको छ । उपमहानगरपालिकामा उपमेयर मन्जु भण्डारी र वडाध्यक्षमा सदस्य जीवन सुवेदीले कार्यवाहक भएर काम गर्दै आएका छन ।   

मेयरका दावेदार कस्ता कस्ता ?   

धरानमा कम्युनिष्टहरुले सबै चुनावमा एक छत्र विजय हासिल गर्दै आएका कारण यो उपनिर्वाचनमा यसपटक नेपाली कांग्रैसलाई बामपन्थी गढ भत्काउने मौका छ । तथापि, आन्तरिक द्वन्द्वमा रुमलिएको कांग्रेसबाट चुनाव लड्न पुराना त्यागी नेता कार्यकर्ताहरुमा जोश जाँगर देखिएको छैन ।   

कांग्रेसबाट मेयरमा लड्नकै लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिर नै त्यागेका जिल्ला सचिव सुजेन्द्र तामाङ आन्तरिक रुपमा कांग्रेसीलाई मनाउन सक्रिय छन् । बाहिर प्रतिष्ठानबाट राजीनामा नै दिएर चुनावी मैदानमा उत्रिएका भनिएका सुजेन्द्र तामाङले आम जनतालाई ढाँटेको बुझिएको छ । २० वर्ष जागिर खाई पेन्सन पाक्न लागेका उनको राजिनामा प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनालले स्विकृत गरी सकेका भने छैनन् । नेपाली कांगे्रसका अर्का उम्मेदवारको रुपमा तिलक राईले फेरी चुनाव लडने बताएका छन । गत निर्वाचनमा मेयरकै उम्मेद्वार भई एमालेसँग पराजित राई हाल नेपाली कांग्रेस धरान नगर समिति सभापति हुन् । 

नेकपा विप्लव त्यागेर नेकपामा आएका नेकपाका केन्द्रिय सदस्य किरण कुमार राई, जिल्ला सदस्य प्रकाश राई, अईन्द्र वेघा, पूर्व मेयर मनोज कुमार मेन्याङवो, चोत्लुड, मुक्साहाड मेन्याङवो, विजय राई, रमेश बस्नेत, महिलाबाट चेतना श्रेङ्गको नाम चर्चामा छ । यी मध्ये प्रकाश राई, अईन्द्र वेघा, विजय राईले फेसवुक तथा पत्रपत्रिका मार्फत आफनो प्रचारप्रसार खुलेरै गर्न थालेका छन । पूर्व मेयर मनोज कुमार मेन्याङवो, रमेश बस्नेत, चोत्लुडले आफना कार्यकर्ता शुभेच्छुक मार्फत आफनो प्रचार गर्न थालेका छन ।   

भर्खरै नेकपामा प्रवेश गराई पार्टिले केन्द्रिय सदस्य बनाएका किरण कुमार राईको भने स्थानिय र शुभेच्छुकहरुले नै मेयरको प्रमुख दावेदारको रुपमा नाम लिँदै आएका छन् । किरण कुमार राई २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचनमा मनोज कुमार मेन्याङवोलाई नै भारी मतले पराजित गर्दै विजयी भएका थिए । उनलाई मेयर पदमा नेकपाले साझा उम्मेद्वारको रुपमा स्विकार गर्ने बताएपनि पूर्व एमाले पक्षधरले राई प्रति सन्तुष्ठ छैनन् ।  

संघीय समाजवादी पार्टीका नेता ध्यान बहादुर राईले किरणकुमार राईले उम्मेदवारी दिने हो भने उनीप्रति पार्टीको दृष्टिकोण सकारात्मक रहने सार्वजनिक गरेका छन् । धरान आदिवासी जनजातिको शहर भएकोले ध्यानबहादुर राईको भनाईमा जोडिनेहरुको जमात छ । उनले धरानमा एशियाली विकास बैंकको लगानीमा खानेपानी आयोजना ल्याउन ठूलो भूमिका निर्वाह गरेको भनिएपनि त्यो योजना अहिलेसम्म पुरा नहुँदा आधा धरानेहरु किरण कुमार राई प्रति असन्तुष्ठ छन् । जबजब धरानमा सुख्खायाम सँगै खानेपानी अभाव हुन्छ । किरणकुमार राईकै पालामा सुरु गरिएको आयोजनाको चर्को आलोचना हुन्छ ।   

यता धरानका पिता अर्थात विकसित स्वच्छ हराभरा र विकसित धरानका सर्जक भनेर पुर्वमेयर मनोज मेन्याङवो पुनः मेयर भएर आउनुपर्ने चर्चापनि उत्तिकै छ । मनोजकुमारलाई धरानको विकासमा ठूलो काम गरेको भन्नेहरुको संख्या जति छ उति नै सुकुम्बासीहरुको उठिबास लगाएको आरोप लगाउनेहरु पनि छन् । खासगरी धरानका खहरे, सर्दु, सेउती छेउछाउ बसोबास गर्ने भूमिहिनहरुले मनोजकुमारलाई त्यत्ति रुचाउँदैनन् । उनी पछिल्लो समय पार्टी र जनताका कामभन्दा आफ्नै होटल व्यवसायमा ब्यस्त छन् । उनलाई धरानमा जग्गा दलालीको काम गर्नेहरु र ब्यापारीहरुले काँध चर्चामा ल्याएका छन् ।   

गत स्थानीय निर्वाचनमा नेकपा माओवादीवाट नगर प्रमुखमा उम्मेदवार बनाईएका विद्यार्थी नेता अईन्द्र विक्रम वेघाले एमाले र कांग्रेस पछि तेश्रो स्थानमा मत प्राप्त गर्न सफल भएका थिए । सोहि चुनाव मार्फत नगरवासी माझ परीचित भएका मेघाले त्यसपछि कुनै रचनात्मक काम गरेर देखाएनन् बरु फेसवुके विकाशमा केन्द्रित भए । उनी समग्र धरानेका लागि परिचित नाम नभएपनि नेकपा माओवादी पक्षधरमा परिचित छन् ।   

यता नेकपा एमाले पार्टी भित्र लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका प्रकाश राईको उम्मेदवारीलाई पार्टीभित्र सकारात्मक रुपमा लिइएको छ । तर, प्रकाश राई राजनीति भन्दा ब्यवसाय बढि गर्ने कार्यकर्तामा पर्छन् । उनी नगरवासी माझ त्यति परिचित छैनन् । उनले टिकट पाएपनि पार्टीलाई चिनाउन निकै हम्मे पर्नेछ । यता धरानका सबै गतिविधि र समस्यालाई नजिकबाट नियालीरहेको दावी गर्ने पुर्वमाओवादीवाट आएका चोत्लुड र उनका दाजु मुक्साहाड मेन्याङवाे पनि मेयरका आकांक्षी हुन् । तर यी दुईलाई पार्टीमा नातावाद, जातिवाद लागु गरेर हैकम जमाउन खोजेको आरोप छ । यी दाजुभाई माथीको पछिल्लो समय अईन्द्र वेघा, अशोक राई लगायत युवा तथा विद्यार्थी नेताहरु सँग पानी बाराबारको सम्बन्ध छ ।   

प्रचार प्रसारमा जुटे पार्टीहरु 

उपनिर्वाचनको लागि धरानमा विशेष गरी नेपाली कांग्रेस र नेकपा धरान नगर कमिटिले आफना कार्यकर्तालाई भेला तथा प्रशिक्षण दिन थालेका छन । एमाले र माओवादी वीच पार्टी एकता टुगो लगाई नगर र वडामा सपथग्रहण कार्यक्रम गर्ने, टोलटोलमा कार्यकर्ता प्रशिक्षण र प्रवेश गराउने अभियान भइरहेको छ । वार्डको सपथग्रहण पछि नेकपाले टोल टोलमा कमिटि बनाउने देशव्यापी अभियान चलाउने भएको छ ।  

धरानमा सोहि अभियानलाई चुनाव प्रचारको समेत अभियान जोड्ने नेकपा नगर अध्यक्ष नारायण सुवेदी बताउँछन । यसै गरी नेपाली कांग्रेसले पनि वडाहरुमा चुनाव प्रचार प्रसार समिति बनाएर काम गरिरहेको नगर सभापति तिलक राई बताउँछन । उनले बामपन्थीले जितेको धरानमा खासै विकासका काम गर्न नसकेकोले यस पटक नेपाली कांग्रेसले ठोस योजना बनाएर चुनाबी मैदानमा उत्रने दावी गरे । गत स्थानिय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले २१ हजार, नेपाली कांग्रेसले १६ हजार र नेकपा माओवादीले ११ हजार मत प्राप्त गरेका थिए ।     

चार हजार मतदाता थपिए 

प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा ८९ हजार ५सय ४९ मतदाता रहेको धरानमा आगामी आउँदो उप निर्वाचनमा ४ हजार मतदाता थपिएर ९३ हजार ५सय मतदाता भएको  निर्वाचन आयोग सुनसरीका निमित्त प्रमुख अजय कुमार मिश्रले बताए । मिश्रका अनुसार गत साउन १६ गतेसम्म मतदाता नामावली संकलन भएको छ । मतदाता सख्या बढेसँगै मतदान स्थल पनि थपिने छ । 

प्रदेश १ को पाँचथरको फाल्गुनन्द गाउपालिका अध्यक्ष अमर कुमार नेम्वाङको सार्वजनिक कार्यक्रममा संवोधन गर्दागर्दै गत  माघमा मृत्यु भएको थियो । त्यस्तै एउटा गाउपालिकाका प्रमुख खड्ग वहादुर कटुवालको २०७४ साल पुस २० गते जीप दुर्घटनामा मृत्यु भएको थियो । धरानको २ स्थानमा नेकपा र १ स्थानमा नेपाली कांग्रेसले चुनाव जितेको क्षेत्र हो । ति मध्ये धरान देशकै चर्चित शहर र उपमहानगरपालिका भएको कारण सबैको ध्यान धरानको उप निर्वाचनमा केन्द्रित हुन पुगेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *