रोल्पाका द्धन्दपिडीतलाई अन्तिम राहत भुक्तानीमा सास्ती खेप्न परेन
“
रोल्पा, असार २८ । सशस्त्र द्वन्द्वमा सयको हाराहारीमा ज्यान गुमाई देशमै सबभन्दा बढी क्षति व्यहोरेका रोल्पा जेल्वाङका द्वन्द्वपीडित विगतमा सरकारले दिने किस्ताबन्दी राहत लिन २ दिनको पैदलयात्रा पछि सदरमुकाम आई राहत बुझेर घर फर्कंदा करिब एक हप्ता समय लाग्दथ्यो । समय धेरै खर्चिएर थोरै राहत लिँदाको सास्ती भोगेका उनीहरू अर्को पटक पुनः आउनु पर्ने बाध्यता सम्झँदै निराश भएर घर फर्कंन्थे ।
यसपटकको अन्तिम राहत भुक्तानीमा भने विगतको सास्तीलाई बिर्सेका उनीहरू केही खुशी देखिन्थे । कारण थियो अन्तिम किस्ताबापत उनीहरूले पाएको विगतको भन्दा ठूलो राहत रकम र भुक्तानी प्रक्रियामा देखिएको सहजता ।
जेल्वाङ रोल्पाको उदाहरण मात्रै हो । युद्धमा ठूलो क्षति व्यहोरेका जेल्वाङजस्ता गाविस रोल्पामा धेरै छन् । रोल्पामा दशवर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा हालसम्म बेपत्ता भएकाको आफन्तले सरकारद्वारा वितरण गरिएको अन्तिम राहत रकम बुझेका छन् । मङ्गलबारसम्म यसरी राहत रकम बुझ्नेमा मृतकका आफन्त ८७७, बेपत्ताका आफन्त २४ र सेना प्रहरीका आफन्त ३२ जना रहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।
सशस्त्र युद्धमा रोल्पाबाट मृत्यु हुने सर्वसाधारण ९०२, सेना प्रहरी ४४ र बेपत्ता ३३ जना रहेको स्थानीय शान्ति समिति रोल्पाले बताएको छ । सरकारले मृतक र बेपत्ताका परिवारजनलाई दश÷दश लाखका दरले राहत दिने घोषणा गरेअनुसार अन्तिम राहत किस्तास्वरुप हाल मृतक सर्वसाधारण र बेपत्ताका परिवारले रु पाँच÷पाँच लाखका दरले राहत बुझेका छन् भने सेना प्रहरीका आफन्तले रु एक लाख ५० हजारका दरले राहत बुझेको बताइएको छ ।
सेना प्रहरीका आफन्तले यसअघि नै बाँकी राहत बुझिसकेका कारण अन्तिम राहतस्वरुप रु एक लाख ५० हजार मात्र बुझेका हुन् । राहत लिनका लागि असार २७ गते अन्तिम मिति निर्धारण गरिएको भएपनि अझै केही मृतक र बेपत्ताका परिवारबाट राहत बुभ्mन बाँकी देखिएकाले बुधबार एक दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी डा. भट्टराईले जानकारी दिनुभयो ।
मृतक सर्वसाधारणका २५, मृतक सेना प्रहरीका १२ र बेपत्ताका नौ परिवार अझै राहतका लागि आइनपुगेको बताइएको छ । जिल्ला बाहिरको बसाइ, मृतकको हकदारको मृत्यु वा ढिला सूचना पुगेका कारण बाटोमा आउँदै गरेका कारण केही राहत लिन छुटेको हुनसक्ने प्रजिअ डा। भट्टराईले बताउनुभयो ।
“