नेपालका बैंकहरु ह्याक गरी ५ अर्ब विदेश लैजाने पिटरको योजना यसरी भयो विफल

असोज ८, काठमाडौं । नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ५ अर्ब ह्याक गरी विदेश लैजाने योजना विफल भएको छ ।   

काले भनिने पिटरले भारतमा बसेर नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ५ अर्ब ह्याक गरी विदेश लैजाने योजना बनाएका थिए । तर प्रहरीले उनी मार्फत् परिचालित १२ जना एजेन्टहरुलाई नियन्त्रणमा लिएपछि उनको योजना विफल भएको हो ।   

पक्राउ पर्नेहरूमा नुवाकोट, मेघाङ गाउँपालिका वडा नम्बर ४ का ४३ वर्षीय लवाङ तामाङ, रसुवा, नौकुण्ड गाउँपालिका वडा नम्बर ५ कि ४० वर्षीय लक्ष्मी लामा तामाङ, सोही ठाउँकी २० वर्षीय निर्मला तामाङ, १८ वर्षीय निमा तामाङ, कास्की तार्केश्वर नगरपालिका वडा नम्बर २ काभ्रेस्थलीका  २६ वर्षीय संजय घले, सर्लाही, हरिवन नगरपालिका वडा नम्बर ३ का ४२ वर्षीय पुष्पराज खड्का रहेका छन् ।  

त्यस्तै लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीय श्रवण कुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका वडा नम्बर ४ कि सुनिता श्रेष्ठ, भारत कलकत्ता स्थायी घर भइ कास्की टेबहाल बस्ने ३० वर्षीय शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय विजय साह र कैलालीकै भजनी नगरपालिका वडा नम्बर १ का ४५ वर्षीय चन्द्र बहादुर बुढालाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको हो ।   

कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक गरी चोरी भएको प्रहरीले पुष्टि गरेको छ । पानस रेमिट नयाँ बानेश्वरबाट मात्रै १२ लाख ह्याक भएको छ ।   

बैंक ह्याक गर्नका लागि लामो समयदेखि भारतको मुम्बई बसी नेपालका मानिसरुसँग सम्पर्क गरी भारतमा नै मिटिङ बोलाएका थिए पिटरले । उनले नेपालका मानिसहरुसँग कमिसनको डिल गरी विभिन्न बैंक तथा वित्तिय संस्थाको रकम ह्याक गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । मिटिङमा पिटरले ५ अर्ब भन्दा बढी रकम ह्याक गर्ने योजना बनाएको महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए ।   

नेपालका एजेण्टहरुलाई पिटरले नविल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरुमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । उनका अनुसार कृषि विकास बैंकका कर्मचारीहरुको आइडी प्रयोग गरी रकम झिकिएपछि अनुसन्धान थालिएको हो ।  बैंकको एउटा शाखाबाट अर्को शाखामा व्यक्तिका नाममा पैसा ट्रान्सफर भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यसमा बैंकका कर्मचारीहरुको मिलेमतो भए–नभएकोबारे अनुसन्धान भइरहेको पनि प्रहरी उपरिक्षक कार्कीले जानकारी दिए ।   

प्रहरीले वि च्याटमार्फत् अन्तर्राष्ट्रिय गिराेह नै बैंक ह्याक गर्न सक्रिय देखिएको पत्ता लगाएको हो । ह्याक गरिएको उक्त रकम विभिन्न ११ जनाको नाममा ट्रान्सफर भएको पनि प्रहरीले जानकारी दिएको छ । अनुन्धानकै क्रममा रहेका कारण खातावालाको नाम भने खुलाइएको छैन ।   

कैलाश विकास बैंकको ह्याकिङ प्रकरणमा भने कर्मचारीकै संलग्नता रहेको पनि प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।   

कृषि विकास बैंकका अनुसार बैंकको लहान शाखाबाट पैसा ह्याक गरी विभिन्न शाखा कार्यालयमा ट्रान्सफर भएको छ । लहान शाखाबाट प्रतिवेदन तयार हुँदै गरेको पनि बैंकले जनाएको छ । साथै बैंकले बैंकका बचतकर्ता तथा ऋणीहरुले राखेको रकम तथा धितो सुरक्षित रहेको पनि स्पष्ट पारेको छ ।   

ट्रान्सफर गरेको रकममध्ये ६० लाख प्रहरीले बरामद गरिसकेको छ । धनगढीबाटमात्रै १९ लाख रुपैयाँ निकालिएको थियो । 

कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर उनीहरुले एक पटकमा ९९ लाख रुपैयाँसम्म ट्रान्सफर गरेको देखिएको छ। कर्मचारीले दिएको हो या ह्याक भएको अनुसन्धान भइरहेको छ ।   

पहिलो पटक असोज ५ गते आइतबार पानस रेमिटेन्सबाट एकै व्यक्तिले ६० लाख रुपैयाँ झिकेका थिए। प्रहरीले उनलाई पक्राउ गर्दा ३१ लाख नगद उनकाे साथबाट बरामद गरेकाे थियाे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *