पूर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको स्वास्थ्य गम्भिर

फागुन १८, काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ । ह्याम्स अस्पतालले शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्दै अधिकारीको स्वास्थ्य बारे जानकारी गराएको हो । 

अस्पतालका अनुसार उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेका छन् । २४ घण्टादेखि पिसाव नगएको, रक्तचाप बढाउनका लागि औषधी प्रयोग गरिरहेको भएपनि काम नगरेकोले बचाउन सकिने संभावना न्यून रहेको अस्पतालका क्रिटिकल केयर सर्भिसेसका कोअर्डिनेटर डा. हेमराज पनेरुले जानकारी दिए । अधिकारीलाई उनलाई सजिलो बनाउने उपचार गरिरहेको अस्पतालले जनाएको छ । अरु कुनै समस्या देखिएमा तत्कालै जानकारी गराउने पनि अस्पतालले जानकारी दिएको छ । 

 

null

अस्पतालमा ३ हप्तादेखि उपचाररत अधिकारीलाई विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार आज साँझ ३ बजे जेठी छोरी लुना भारतवाट आउँदैछन् । उनी भारतबाट आएपछि परिवारले के गर्ने भन्ने विषयमा निर्णय हुनेछ । 

२०५१ सालमा जेष्ठ नागरिक भत्ता कार्यक्रम ल्याएर आमजनता माझ लोकप्रिय बनेका पूर्व उपप्रधानमन्त्री अधिकारी दुई पटक उपप्रधानसहित चार पटक अर्थमन्त्री बनेका थिए । अधिकारीले वि.सं २०६१ र २०६८ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए । 

उनले २०५६ सालमा पनि अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए । नेपाल कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकारको अर्थमन्त्री बनेका अधिकारीले पहिलो पटक अर्थमन्त्री बनेका बेलामा ‘आफ्नो गाउँ आफै बनाउ’ जस्ता जनता केन्द्रीत कार्यक्रम ल्याएका थिए । अधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका बेला वृद्ध/वृद्धालाई सम्मान स्वरुप भत्ताको व्यवस्था गरेका थिए । अधिकारीले सुरू गरेको सामाजिक सुरक्षाभत्ता कार्यक्रमले ७५ वर्ष पुगेका वृद्ध/वृद्धालाई एक सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको थियो । 

पहिलो पटक २०६१ सालमा उपप्रधानमन्त्री सहित अर्थमन्त्री बनेका बेला उनले सुत्केरी भत्ताको समेत व्यवस्था गरेका थिए । उनले महिला र पुरुषको नाममा या महिलाको नाममा मात्रै जग्गा दर्ता गर्दा लाग्ने शुल्कमा छुटको व्यवस्था गरेका थिए । गाउँगाउँमा सहकारी घरघरमा रोजगारी भन्ने अभियान उनकै पालामा संचालन भएको हो । अधिकारीले अघि सारेको महत्वपूर्ण कार्यक्रम ‘नौ स’ ले देशमा लोककल्याणकारीदेखि पूर्वाधार निर्माणका कार्य अघि बढाएको थियो अधिकारीलाई जनवादी नेताका रुपमा लिइन्छ । 

लोककल्याणकारी राज्य र संमृद्ध नेपाल निर्माणमा स्थानीय सडक, स्वच्छ पिउने पानी, सुलभ स्वास्थ्य, सीपमूलक तालिम र रोजगारी, शिक्षा र साक्षरता, सामुदायिक वृक्षारोपण, साना जलविद्युत् विकासबाट ग्रामीण विकास, साना तथा घरेलु विकासका कार्यक्रम ‘नौ स’ अन्तर्गत समेटिएका थिए । 

पहिलो पटक अर्थमन्त्री हुँदा २०५२/५३ सालको बजेट ल्याएका अधिकारीले स्वच्छ खानेपानी, शिक्षा र साक्षरता तथा स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा न्युनतम २० लाख बराबरका आयोजनाहरू कार्यान्वयन गर्ने लक्ष्य राखेका थिए । 

सडक तथा साना सिंचाइ स्थानीय विकासका मुख्य आधारहरू भएकाले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक कार्यक्रमका लागि कम्तीमा १५ लाख बराबरका कार्यक्रम पनि उनकै पालामा आएको थियो । 

कालीगण्डकी जलविद्युत परियोजना पनि भरतमोहन अधिकारीकै पालामा सुरु भएको हो । शिक्षा र स्वास्थ्यमा राज्यको लगानी सोचका साथ सहिद गंगालाल अस्पताल स्थापना र काठमाडौं विश्वविद्यालयलाई जग्गा दिने काम समेत उनको पालामा भएको थियो । उनकै पालामा मुक्त कमैया र सुकुम्बासीलाई जग्गा वितरणको कार्य भएको थियो । त्यसबेला ६० हजार सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिइएको थियो । 

भरतमोहन अधिकारीका तीन छोरी र श्रीमति छन् । जेठी छोरी लुना अधिकारी सिक्किममा बस्छिन् भने माहिली छोरी लिमा नेपालमै छिन् । कान्छी छोरी लिजा हिजो नै दुबईबाट काठमाडौ आइसकेकी छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *