आज २०४ औँ भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, असार २९ । आदिकवि भानुभक्त आचार्यको २०४औँ जन्मजयन्ती बिहीबार विविध कार्यक्रम गरी मनाइँदै छ । ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए ।

भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदैछन् । विसं १८७१ असार २९ गते तनहुँकाे चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए ।

भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घरघरमा लय हालेर पढ्ने पनि गरेका थिए । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् । ‘प्रश्नोत्तर’ कृतिमा मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ । भारतको दार्जिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रुपमा मनाउने गरिन्छ । उहाँको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।

यसैबीच भानुजयन्तीकै अवसरमा हिजो पनि विभिन्न कार्यक्रम भएको थियो । काठमाडौंमा साहित्यिक दौडको गरियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर लैनचौर काठमाडौँबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको घर बखुंबहाल, ललितपुरसम्म साहित्यकार लक्ष्मण सापकोटा ‘रामायण’ बोकेर भानुको पहिरनमा दौडनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *