नक्कली ऋणी बनाएर लघुवित्तको झण्डै दुई करोड हिनामिना गर्ने सात जनाबिरुद्ध मुद्दा

मंसिर २७, काठमाडौं । धादिङको एक लघुवित्तमा कर्मचारीमै मिलेमतोमा दुई करोड रुपैंया हिनामिना भएको छ । नाडेप लघुवित्त वित्तिय संस्थाका कर्मचारीले झण्डै दुई करोड रुपैयाँ हिनामिना गरेका हुन् । लघुवित्तको विराटनगर शाखा नम्बर ०२१ र ०२४ बाट १ करोड ९३ लाख २६ हजार १ सय १९ रुपैयाँ हिनामिना भएको पुष्टि भएको हो ।   

शाखा कार्यालयका प्रमुखसहित सात जना कर्मचारीको संलग्नतामा फर्जी सदस्य खडा गरेर १ करोड ९३ लाख हिनामिना गरेको खुलेपछि प्रहरीले सातजना विरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा दर्ता गरेको छ । नाडेपको केन्द्रीय कार्यालयमा गरेको उजुरीका आधारमा छानविनपछिको निष्कर्षसहित नाडेपका प्रमुख कार्याकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । 

फर्जी ऋणी खडा गरेर तत्कालिन विराटनगर शाखा प्रमुख बाराका ५२ वर्षीय विजयचन्द्र प्रसाद, रङ्गेली नगरपालिका १ का ३९ वर्षीय इन्द्रमणि बस्नेत, लेखा सहायक अधिकृत ४७ वर्षीय नारायण खराल, सोही ठाउँकी ३२ वर्षीया लुना पराजुली, फिल्ड सहायक विराटनगर १ का ३५ वर्षीय दिपक भट्टराई, लघुवित्त विराटनगर शाखाका २१ नम्बर केन्द्र प्रमुख ४५ वर्षीया मन्जुलादेवी यादव र २४ नम्बर केन्द्र प्रमुख ४९ वर्षीया बेबीकुमारी यादवलाई बैकिङ कसुर अन्तरगत मुद्दा दायर गरेको हो । यी मध्ये पाँच जना फरार रहेका छन् । 

लेखा सहायक अधिकृतद्वय नारायण खराल र लुना पराजुलीलाई गत कात्तिक २१ गते नै प्रहरीले पक्राउ गरेको थियो । सातजनाले नाडेप लघुवित्तय संस्थाको केन्द्र नं. २१ बाट ८७ लाख २५ हजार २ सय २३ रुपैयाँ र केन्द्र नं. २४ बाट १ करोड ५ लाख ९७ हजार ८ सय ९६ रुपैयाँ अपचलन गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

प्रहरीले पक्राउ गरेको सहायक लेखा अधिकृत पराजुली र खराललाई ‘बैकिङ्ग कुसर’ मुद्दामा अनुसन्धान गरेको छ । अनुसन्धानपछि शाखा प्रमुख सहित ५ जनालाई फरार र पक्राउ परि हिरासतमा रहेका दुई जना गरि ७ जनालाई मुद्दा दर्ता गरेको थियो । 

गत मंगलबार उच्च अदालतको वाणिज्य इजलासमा न्यायधिशद्वय लेखनाथ घिमिरे र महेश शर्माको संयुक्त इजालसले पराजुली र खराललाई जनही १५/१५ लाख धरौटीमा छोडन आदेश दिएको छ । 

यस लघुवित्तले ४६ जिल्लामा ८ वटा इलाका कार्यालयहरु तथा ७८ वटा शाखा तथा उपशाखा कार्याकाल मार्फत ८० हजार घरधुरीमा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *