गैंडाकोट नगरपालिकाको नगर सभा सकियो, समृद्ध गैंडाकोट महाअभियान घोषणा

गैंडाकोट, असार २९ । गैंडाकोट नगरपालिकाको नगर सभा बुधबार सकिएको छ । दुई दिनसम्म चलेको नगर सभाले समृद्ध गैंडाकोट महाअभियानको घोषणा गरेको छ । स्थानीय तहको पहिलो नगर सभाले आर्थिक वर्ष ०७४÷०७५ को लागि ४३ करोड ६९ लाख ५२ हजारको बजेट पारित गरेको छ । गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलले गैंडाकोट नगरपालिकाका प्रत्येक वडालाई ४३ लाख नघट्ने गरी बजेट विनियोजन गरिएको बताए । वडा स्तरीय योजनामा छुट्टिएको रकम ७ करोड ७४ लाख छ ।

‘विकासका पूर्वाधारबाहेक बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, दलित, आदिवासी तथा महिला लक्षित कार्यक्रममा बजेट विनियोजन भएको छ’ मेयर पौडेलले भने, ‘वडा स्तरीय योजना, ठूला पूर्वाधार तथा प्रवद्र्धनात्मक कार्यक्रममा भारीमात्रामा बजेट छुट्टाइएको छ ।’ उनले समृद्ध गैंडाकोट महाअभियान वर्षको रुपमा आगामी पाँच वर्षको कार्यकाललाई अगाडि बढाइने बताए । उनले भने, ‘गैंडाकोटको हरेक क्षेत्रमा विकासको गतिलाई तीव्र रुपमा अगाडि बढाएर समृद्ध गैंडाकोट बनाइने छ र यसको संकेत पहिलो वर्षमै देखिन्छ ।’

नगरपालिकाले नगरवासीको गुनासो सुन्नको लागि ‘हेलो मेयर गैंडाकोट’ कार्यक्रमको सुरू गर्ने भएको छ । नगर सभाले विद्युत् सुविधा नपुगेका क्षेत्रहरुमा विद्युत् विस्तारको कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक टोलको सडकमा सौर्य सडक बत्ती जडान गरी उज्यालो नगर बनाउने घोषणा गरेको छ ।

लगानीकर्ताको पहिचान र लगानी आकर्षित गरी नगरपालिकाको पहल र सहकार्यमा ‘गण्डकीको पानीमा गैंडाकोटको लगानी’को दीर्घकालीन अवधारणा ल्याइने नगरपालिकाका मेयर छत्र पौडेलले जानकारी गराए । उनले भने, ‘यही अवधारणाअनुरुप कालीगण्डकीमा बाँध बाँधी सुरुङको माध्यमबाट थुम्सीमा पावरहाउस निर्माण गर्ने गरी विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरिनेछ ।’

नगर सभाले वडा नं १८ को वोचोखोलाको चुनखानी, दमार र आहालेको बीचमा रहेको कोइलाखानी, मौलाकाली मन्दिरको उत्तरमा रहेको कोइलाखानीको अध्ययन, अन्वेषण र उत्खनन् गरी सञ्चालनमा ल्याउन नेपाल सरकार समक्ष पहल गरिने निर्णय गरेको छ ।
पर्यटन, कृषि, सडक र शिक्षालाई पनि प्राथमिकता दिएर नगर सभाले वडावडामा बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको वडा नं १ र १३ धार्मिक पर्यटनको क्षेत्रमा विकास गरिनेछ । नगर सभाले ज्येष्ठ नागरिक संरक्षण र सम्मानमा उचित नीति ल्याइने घोषणा गरेको छ । नगरका टोलटोलमा हरियालीसहित सडक सञ्जाल जोड्ने, गैंडाकोट चक्रपथ निर्माण गर्ने, गैंडाकोटलाई उत्कृष्ट र सुरक्षित आवासीय सहरको रुपमा विकास गर्ने, नारायणी नदी तटबन्धन गरी सार्वजनिक जग्गको संरक्षण गर्ने, किसानलाई निःशुल्क भेटेरीनरी सेवा उपलव्ध गराउने, नगरको सबै क्षेत्रमा स्वच्छ खानेपानी पु¥याउने घोषणा नगर सभाले गरेको छ ।

यसैगरी आगजनी, डुबान र कटानबाट बस्ती र जमिनको संरक्षण गर्ने, विभिन्न ९ विधामा गैंडाकोट वर्ष व्यक्तित्व विशेष सम्मान कार्यक्रम ल्याउने, पुशबिमा कार्यक्रमलाई प्रभावकारी बनाउने, भवन निर्माण संहितालाई कडाइ गर्ने, ७ रोपनी जग्गामा अत्याधुनिक गैंडाकोट सपिङ कम्प्लेक्स निर्माण गर्नेलगायतका सयौं कार्यक्रमहरु नगर सभाले पारित गरेको छ ।

‘भनिएका सबै कार्यक्रमहरु विस्तारै कार्यान्वयनमा आउँछन्, पहिलो वर्ष सबै कार्यक्रमहरु कार्यान्वयनको फेजमा जान अलिकति कठिन होला, तर गैंडाकोट नगरपालिकामा आर्थिक वर्ष ०७४÷०७५ मा जनताले देख्ने गरी नयाँ कार्यक्रमहरु पक्का अघि बढ्नेछन्’ मेयर पौडेलले भने । नगर सभाले लक्षित वर्गका कार्यक्रमअन्तर्गत सबैभन्दा बढी बजेट बालबालिका लक्षित कार्यक्रममा विनियोजन गरेको छ । जसमा ४२ लाख १६ हजार ८१७ रुपैयाँ छुट्टाइएको छ ।

विकासका योजनाहरू यस्ता छन्
– हेलो मेयर गैंडाकोट कार्यक्रमको थालनी
– उज्यालो नगर कार्यक्रम अभियान
– गण्डकीको पानीमा गैंडाकोटकै लगानी
– कोइला खानीका अध्ययन, अन्वेषण र उत्खनन्
– पर्यटन, कृषि, सडक र शिक्षालाई प्राथमिकता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *