किन बढ्दै छ एसिड आक्रमण ? रोकथामका यस्तो छ उपाय

 

 जेठ २, काठमाडाैं । बुधबार राती काठमाडाैंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भयो । काठमाडौंमा एसिड प्रहारको घटना सामान्य जस्तै हुन थालिसकेको छ । विगत देखिनै यस्ता घटना पटक पटक हुँदै आएका छन् । बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्रीवितरणमा कडिकडाउका लागि कडा कानुनको आवश्यकता भएको विशेषज्ञहरूले औंल्याएका छन् । 

यस्तो आक्रमणकारीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग उठेको छ । नेपालमा एसिड आक्रमणका घटना अन्य मुलुकको तुलनामा कम नै हुने गरेको छ । कानुन र उपलब्धतामा कडाइ गर्नसके घटनाहरू नै नहुने अवस्था ल्याउन सकिने भएकाले यसमा ढिलाइ गर्न नहुने दावि विशेषज्ञहरूको छ । 

null

विश्वमै सबभन्दा बढी आफ्नो देशमा एसिड आक्रमणका घटना हुन थालेपछि बंगलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानुन ल्याएको छ । बंगलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानुन ल्याएको हो । साथै एसिड सजिलैसँग किन्न नपाउने व्यवस्था गर्दै यसबारे व्यापक जनचेतनाको कार्यक्रम पनि चलाउँदै आएको छ । नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने विज्ञहरूको सुझाव छ । 

सन् २०१८ मा एसिड आक्रमणका २० घटना बंगलादेशमा भए । अघिल्ला वर्षहरूको आँकडामा निकै कम हो । एसिड उपलब्धतामा कडा व्यवस्था र कारबाहीका कारण नै घटनामा कमी आएको हो । नेपालमा भने यस्ता घटना बढिरहेका छन् । चिकित्सकहरूका अनुसार कानुन कमजोर हुनु, जनचेतना नहुनु र एसिड सजिलै पाइनु नै यस्ता अपराधका मूल कारण हुन् । नियमन, नियन्त्रण तथा कारबाहीमा कडाइ गर्न विलम्ब गरे नेपालमा अवस्था विगतको बंगलादेशमा जस्तै भयावह हुने संकेत देखिएका छन् । 

आक्रमणमा प्रयोग हुने रसायन सहजै पाईनुनै आक्रमण बढ्नुको मुख्य कारण रहेको फेक्ट नेपाल, कीर्तिपुर हस्पिटलका बर्न प्लास्टिक एन्ड रिकन्स्ट्रक्सन सर्जरी विभागका प्रमुख डा.किरण नकर्मी बताउँछन् । उनले मकालु खबरसँग भने, ‘अहिलेसम्म उपचारमा जति आएका छन्, उनीहरु रसायन सल्फयुरिक, नाइट्रिक र हाइड्रोक्लोरिक एसिडबाट पीडित भएका छन्, यी बस्तुका सहज बजारमा पाईनुले बढी घटना बढेका हुन् ।’ 

 

एसिड आक्रमण र दुर्घटनाको संख्या नेपालमा बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ । बर्ष दिन यता कीर्तिपुर अस्पतालमा १० जना एसिडको पोलाइमा परेर उपचार गर्न आएका छन् । त्यसमध्ये ५ महिला र एक पुरुष गरी ६ लाई कसैले प्रतिशोधपूर्वक आक्रमण गरेका थिए भने बाँकी ४ प्रयोगशालामा आफ्नै गल्तीले पोलाइमा परेको अस्पतालले जनाएको छ । 

एसिड पोलाइको उपचार गर्न सन् २०१४ मा त्यही अस्पतालमा १ जना आएका थिए भने अहिले बर्षेनी १० देखि १५ जना पुग्छन् । नेपालमा खास गरी प्रेम प्रकरणमा भएको खटपट, रिसइबी, प्रतिशोधका कारण एसिड आक्रमण हुने गरेको देखिएको छ ।  

२०७१ सालमा संगीता मगर र सीमा बस्नेतमाथि भएको एसिड आक्रमणपछि यो विषय बहसमा आयो र संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गरी एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको थियो । 

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । 

त्यस्तै एसिडले शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ । 

एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ । मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *