नेहा कक्करको कन्सर्ट आयोजक पक्राउ
जेठ २६, काठमाडौं । काठमाडौंमा आयोजना गरिएको बलिउड गायिका नेहा कक्करको कन्सर्टका आयोजक दीपक घिमिरे पक्राउ परेका छन् ।
हल क्षमताभन्दा बढी टिकट बेचेको उजुरीका आधारमा कन्सर्टका आयोजक घिमिरे पक्राउ परेका हुन् ।
null
हिजोे (शनिबार) पारामाउन्ट ईन्टरटेन्मेन्टले ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) मा कन्सर्टको आयोजना गरेको थियो । कन्सर्टमा नेहा कक्करसँगै इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आएका थिए ।
नेहाको कन्सर्ट भएको क्लबको सबै स्थानमा मान्छेको ठूलो घुइँचो रहेको थियो । स्थान अभावका कारण टिकट काटेका सयौँ दर्शकहरु कन्सर्ट हेर्न नपाएर फर्किएका थिए । उनीहरुको उजुरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो ।
अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेका घिमिरेले कन्सर्ट हेर्न नपाएका दर्शकको पैसा फिर्ता गरिदिने दाबी गरेका छन् ।