सीमामा अड्किएका नेपालीको रोदनः ‘घरमा भकारी रित्तो छ, आमा भोकाउनु भयो होला !’
तस्विरः मकालु खबर
वैशाख २, काठमाडौं । चार महिनाजति भएको थियो भारत पसेको । नेपालमा रोजगारीको अभावका कारण रोजीरोटीका लागि भारत धाउनु बाध्यता थियो उनको ।
तीन दाजुभाईमा कान्छा उनी । उनी अर्थात् बैतडीका राम महर्जन (नाम परिवर्तन) । भर्खरै ११ कक्षामा पढ्दैछन् । परीक्षा मात्रै दिने निधो गरी दाजुका काँधलाई आड दिन साथीभाईसँगै भारत गएका थिए राम ।
काम ठिकै चलिरहेको थियो । भारु १५ हजार बच्थ्यो महिनामा । घरदेखि भारत नजिकै भएका कारण ३–४ महिना अथवा आवश्यक परेका बेला आउजाउ भइरहन्थ्यो । तर अहिले भने घर आउन पाएका छैनन् । कारण ‘लकडाउन’, सीमा नाका बन्द ।
धार्चुलाको बालुवाकोट भन्ने ठाउँमा ४ सय जनाको हुलसँगै निस्सासिएका छन् उनी । कति साथीहरुले विना गल्ती भारतीय प्रहरीको लात सहनु परेको छ । मदिराको तालमा आउँछन्, भकुर्छन् । आजका दिनसम्म उनले भने कुटाइ खानु परेको छैन ।
बिहान बेलुकी दुई छाक खान पाएका छन्, त्यसको बदलामा लात सहनु पर्ने !
जेल जस्तो भएको छ त्यो ठाउँ । आफ्नो भन्दा पनि आमाको पीर छ उनलाई । घरमा बुढी आमा एक्लै छिन् । खेतमा गहुँ, जहु पाकिसके, भित्र्याउने कसले ?
केहीदिन अघिसम्म चैत्र २५ गते घर पठाउने भनेका रहेछन् त्यहाँका प्रहरीले्, त्यसपछि घर जान पाउने भन्दै सबै खुशीले गदगद थिए । तर उनको खुशी एक हप्ता नबित्दै तुहियो । कारण थियो– वैशाख ३ गतेसम्म लकडाउन लम्बिनु । अनि पाएनन् फर्कन, त्यहीँ थुनिए ।
लकडाउनको हल्ला चल्दाखेरी नै नेपाल फर्कन नचाहेका कहाँ हुन् र ? तर भनेजस्तो भएन !
उनले लकडाउनको हल्ला चलेका समय घर जाने कुरा ठेकेदारसामु चुहाएका थिए– ‘नाका बन्द हुन्छ भन्ने हल्ला चलेको छ, म घर फर्कन्छु । पैसा दिनुस् ।’
ठेकेदारको जवाफ थियो– ‘अहिले नजाऊ । अलिकति काम बाँकी छ, त्यो सकाएर अनि पैसा लिएर जानू ।’ त्यसको दुई चारदिनपछि ठेकेदार टाप ! घर भागेछन् ।
रित्तो हातै सही, घर त जान पाइयो भन्दै मख्ख पर्दै हिँडे त्यहाँबाट । जब भारतीय सीमा नाका धार्चुला आइपुगे तब राँको बल्यो मनमा । छिर्नै पाएनन् नेपाल । दुई तीनसम्म खुल्ला आकाशमूनि रात कटाए, नारा जुलुस गरे, अँह पाएनन् आउन ।
कतिपय नेपाली महाकाली नदि तरेर घर फर्किए । राम भने नेपाल सरकारको आदेश पालना गरी त्यतै बसे बालुवाकोटमा । न साहुबाट तलब पाए, न घर जान पाए ! नेपाल फर्कने दिन गन्दै, आमालाई सम्झदै दिन कटाउँदैछन् ।
भारतको पिथौरागढ प्रशासनले एक हजार बढी नेपालीलाई विभिन्न सेल्टरमा बाँडेको छ । धार्चुलाको जबाहरसिंह मिनि स्टेडियम, बलुवाकोट महाविद्यालय, जौलजीवी, निगलपानी र बरममा उनीहरूलाई राखिएको र सबैकाे व्यवस्थापन ऊ आफैँले हेरेको पिथौरागढ प्रशासनले जनाएको छ ।
विश्वभर महामारी फैलिएको छ । सबै देशहरुले आफ्ना नागरिक फर्काइरहेका छन् । नेपालले भने अवहेलना गरेको छ आफ्नै नागरिकलाई । दैलोसम्म आइपुग्दा पनि छिर्न दिइएको छैन ! राम भन्छन्– ‘नेपाल आउन नपाउँदा साह्रै दुःख लागेको छ । दिक्क भएको छ मन । साह्रै दुःख पाइयो ।’
घरमा भकारी भरिएको हुँदो हो त उनलाई त्यति चिन्ता लाग्ने थिएन पक्कै । बिहान र बेलुकी दुई छाक खान पाएकै थिए । बेलाबेलामा चिकित्सक आएर स्वास्थ्यको हालखबर बताइहाल्थे । साथीभाई साथमा छँदै थिए गफ्फिन । दुःख मान्नुपर्ने के थियो र अवस्था ?
भोकाएकी आमा छिन् घरमा, रित्तिएको भकारी छ ! यही सम्झिदा न हो मन अमिलो हुने !
‘आमालाई गाह्रो हुन्छ । घरमा खानेकुरा पनि सकिन लाग्यो भन्दै हुनुहुन्थ्यो ।’– चिन्तामा छन् राम ।
घर जान पाए खेतमा फलेका बाली भित्र्याउन पाउँथे । आमालाई सहायता हुन्थ्यो । आमाले खान पाइन् कि पाइनन्, अन्न छ कि सकियो, राम्रोसँग सम्पर्क पनि गर्न पाएका छैनन् ।
बाली लगाउन पाउँथे । दुई चार महिनापछि फल्छ, खाउँला भन्ने आश त बाँच्थ्यो सास रहुन्जेल !
आमाको दर्शन पाउन र त्यही आशालाई जिवित राख्नकै लागि हो, उनलाई घर जान हतारो भएको । नयाँ वर्ष त खल्लीबल्ली । यो साल बाँचे अर्को साल मनाइएला !
दाजुभाई सबै सँगै छन्, न्यास्रिसके आमाको पीरले । राम भन्छन्– ‘घरमा खानेकुरा सकिएको छ भन्ने कुरा सुनेको छु । आमाले के खानुभयो होला, चिन्ता लागिरहेको छ । आमाले काम त गर्न सक्नुहुन्छ तर एक्लै गाह्रो हुन्छ बाली भित्र्याउन । घरखर्च पनि छैन उहाँसँग ।’
उनका बुवा भने यो धर्तीमा छैनन् । झण्डैँ १५ वर्ष भयो निधन भएको । जेठा दाजुको परिवार कैलालीमा बस्छन्, बैतडीमा दुई भाई बस्छन् । ऋण छ घरमा । त्यसैले दुवै भाई भारत पुगेका हुन् पैसा कमाउन र आमालाई सुख दिन ।
मंसिरमा उनका दाजु गएका थिए भारत, त्यसपछि माघमा उनी पनि गए । घरखर्चमा राहत दिलाउन ।
तर पैसा लिएर फर्कन पाएनन् । ठेकेदारको फोन सम्पर्कमा आएन । अलपत्र परे धार्चुलामै ।
‘साहुसँग भारु २३ हजार लिन बाँकी छ । ऊ भागीहाल्यो । साथमा एक रुपैयाँ पनि छैन । यता रोगको डर उता भोकको । सुत्नका लागि ठाउँ पनि छैन । गरीबलाई सरकारले हेर्दो रहेनछ !’ उनले भने ।
कुरा गरिरहँदा उनी बारम्बार आमाको नाम लिइरहन्थे । सीमानाका कहिले खुल्छ, सोधिरहन्थे ।
सकेसम्म भारत जानु नपरोस्, आफ्नै देशमा काम गर्न पाइयोस् भन्ने चाहना छ उनको । हुन पनि, अर्काको देशमा पसिना बगाउने रहर कसलाई हुँदो हो !
नेपाल आउने, घर जाने औधी मन छ– ‘सरकारको कुरा मानेर हामी यहाँ बसेका छौँ १६–१७ दिनदेखि । अब सरकारले हाम्रो स्वास्थ्य जाँच गरेर नेपाल छिर्न दिएपनि हुन्थ्यो । कसैलाई जान दिने, कसैलाई नदिने, यो त सरासर भ्रष्टाचार भएन र ?’
– ‘हामीले भारत सरकारलाई भनेका छौँ कि तिम्रो गेटको ढोका खोलिदेऊ, त्यसपछि हामी हाम्रो गेटको ढोका आफैँ तोड्छौँ । हामी आफ्नो जन्मभूमिमा पुगेर मर्न चाहन्छौँ !’
–‘हामीलाई कि आफ्नै देश लैजाऊ कि गोली हानेर मार सरकार ! यसरी तड्पाई तड्पाई नमार !’
–‘आफ्ना आफन्तहरुलाई भने विदेशबाट हेलिकप्टरमा हालेर ल्याएको छ, हामीलाई चाहीँ किन यहाँ रोकेको ? कि त्यहाँ कोरोना छैन सरकार ? बुझ्नै सकिएन ।’
– ‘पुलिसको डण्डा खाएर बस्नुपरेको छ । बासी भात मिक्स गरिएको खाना खुवाइएको छ । सबैलाई एकैठाउँमा कोचाएर राख्दा कोरोना सर्दैन हो सरकार ? अब त हामी जसरी पनि नेपाल छिर्ने हो !’