अस्मिताको बयान सकियो, रवि र युवराजको भोलि

भदौ ८, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेकी अस्मिता कार्कीको बयान सकिएको छ ।   

चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले अनुसन्धान पश्चात् आइतबार पत्रकार लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ता गरेको थियो ।   

त्यसपछि अस्मितासँग बयान लिने क्रम सुरु भएको थियो । रवि र युवराजको भने भोलि (सोमबार) बिहान १० बजेबाट बयान सुरु हुनेछ ।   

मृतक शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रविसहित ३ जनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेपछि गएको साउन ३० गते रविसहित कँडेल र कार्की पक्राउ परेका थिए ।  

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताए थिए । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।   

आरोप पुष्टि भएमा रविसहित ३ जनालाई ५ बर्षको सजाय हुनसक्ने मुलुकी संहितामा उल्लेख छ । 

१ भदौ ०७५ देखि लागू भएको फौजदारी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले आत्महत्या गर्न बाध्य हुने गरी दुरुत्साहन गर्न हुँदैन । यदि, दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *