समाजको खिसिटिउरीले नडगमगाएको त्यो आत्मविश्वास !

फौदसिंह तामाङ र सुन्दरी योन्जनले ३ वटा छोरा जन्माए । एक छोरी । जन्मदा सबै सकुसल थिए । २०३८ सालमा अर्को गर्भ बस्यो सुन्दरीको । ३९ सालको असारे झरीमा फेरि अर्को छोरो जन्माइन् ।   

सामान्यभन्दा निकै सानो । उनीहरुलाई लाग्यो, ‘पाँचौँ सन्तान बाँच्दैन !’   

– ‘तर अहिलेसम्म बाँचेको छु !’   

‘म बिरामी भइरहन्थेँ रे । जसोतसो हुर्काउनु भयो । त्यसैले पनि मेरो पढाई १०÷११ वर्षको उमेरदेखि मात्रै सुरु भयो । अहिले त केही भएको छैन । स्वस्थ नै छु’, नेपाल होचा पुड्का संघका महासचिव तथा कलाकार लेखबहादुर मोक्तान सुनाउँछन् । उनी मोडल पनि हुन् ।   

रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर २ मा जन्मिएका उनी हाल स्वयम्भूमा बस्दै आएका छन् । उमेरले ३७ कटे । यी तीन दशकसँग उनका तीता मिठा अनुभवहरु गाँसिएका छन् ।   

परिवारका कान्छा सदस्य उनको बाल्यकाल ‘लाड प्यार’ मै हुर्कियो ।   

आफू कस्तो छु, उनी आफैँलाई थाहा थिएन । जब बढ्दो उमेर आयो तब अरुभन्दा अलि भिन्न लाग्न थाल्यो आफ्नो बनावट । हरेक साल उमेर उकालो लाग्दै गयो, तर हाइट बढेन । परिवारले अस्पतालमा परामर्श लिए । डाक्टरले ‘यहाँभन्दा उचाई बढ्दैन अब’ भने ।   

ढुंगाको काप फोरेर उम्रने पीपलको भन्दा कम थिएन आत्मविश्वास !   

तर समाज बाधक बनिदिँदा परिपक्वता खस्कियो । आत्मविश्वास ओरालो लाग्यो । लाज बढ्यो ।   

समाजको खिसिटिउरीका कारण घरबाहिर निस्कनै नपरे हुन्थ्यो भन्ने लाग्न थाल्यो ! 

आफ्नै समस्या र चुनौति त चाङै छन्, सार्वजनिक यातायात चढ्न गाह्रो । जागिर पाउन गाह्रो । भारी, गह्रुंगो सामान बोक्न गाह्रो । अग्लो स्थान भेट्न गाह्रो । त्यसैमाथि समाजले झन् थपिदिने ।   

‘हामी पनि सक्षम छौँ । बौद्धिक क्षमता छ हाम्रो पनि । आफ्नो पौरखले बाँचेका छौँ । कसैसँग हात फैलाएर भीख मागेका छैनौँ रैपनि भिखारी सोच्छ यो समाज । हामी पनि त यही संसारका मान्छे हौँ नि, कुनै अर्को ग्रहबाट आएका हौँ र ?’– समाजको विभेदपूर्ण नजरिया केलाउँदै उनले भने ।   

सुरुसुरुका दिनमा त बाटोमा अथवा घरबाहिर एक्लै हिँड्न निकै लजाउँथे लेख । हत्तपत्त कसैसँग नबोल्ने । आफूजस्तै मान्छे देख्दा त झन् बाटै मोडिएर हिँड्ने । आफूजस्तो मान्छे देख्दा हौसला बढ्नुपर्ने हो तर गिल्टी फिल हुन्थ्यो रे उनलाई ।   

‘बाटोमा निस्कियो कि हेरेको हेरै गर्छन् हामीजस्तो मान्छेलाई । हाँस्छन् । सानो मान्छे आयो भनेर होच्याउँछन् । अप्ठ्यारो महशुष हुन्थ्यो । नरमाइलो लाग्थ्यो । तर कलाकारितामा लागेदेखि त्यस्तो व्यवहार खेप्नु परेको छैन । सम्मान मिलेको छ’, लेख सुनाउँछन् ।   

‘अझै धेरै प्रगती गरी विभेद गर्ने समाजलाई जलाउने मन छ !’ 

नाम लेखबहादुर भएपनि पढ्न र लेख्नमा भने उनलाई खासै जाँगर चलेन । 

पढाइमा मध्यम थिए । घरैमा स्कूल थियो, र पनि उनलाई झन्झट लाग्थ्यो । सुत्न मन लाग्ने धेरै । अहिले सुत्न पाएपनि निन्द्रा लाग्दैन ! सपनाको भारीले थिचेपछि कसरी लाग्नु निन्द्रा ? 

करिब १७ वर्षअघि काठमाडौं छिरेका उनी प्लस टु पढ्दा पढ्दै कलाकारितातिर लागे । त्यसपछि पढाईमा ब्रेकै लाग्यो । सानोमा एसएलसी पास गरेपछि काठमाडौं आएर जागिर खान्छु भन्ने धोको थियो उनको तर पुरा भएन ।   

‘जागिरै पाउन गाह्रो हामी जस्तो सानो मान्छेलाई । बाँच्नै गाह्रो । एकपटक विद्युत प्राधिकरणमा प्रयास गरेको थिएँ, नामै निस्केन । आफ्नालाई मात्रै प्राथमिकता दिएको पाएँ । त्यसपछि मनै मर्यो, कोशिस नै गरिनँ’, लेख भन्छन्– ‘उचाई भएको भए त सहजै पान्थ्यो होला । आर्मी/पुलिसतिर भर्ती भइन्थ्यो होला ।’ 

लेखले २०६२ सालबाट कलाकारिता सुरु गरेका थिए । एक दर्जन बढी म्युजिक भिडियो गरिसकेका छन् । मेरी बास्सै लगायत ३/४ वटा टेलिश्रृंखलामा पनि अभिनय छ उनको । एउटा टिमसँग मिलेर ‘विरे छिरविरे’ नामक युट्युब सिरिज पनि गरेका थिए उनले, अब नयाँ वर्षबाट यसैलाई अघि बढाउने सोचमा छन् लेख ।   

आजभोलि भने नेपाल होचा पुड्का संघको ट्रेनिङ सुरु हुन लागेका कारण यतैतिर व्यस्त छन् लेख मोक्तान । उनलाई प्रेम पनि यही संघले जुराइदिएको हो ।   

संघमा आवद्ध भएपछि आउजाउ बढ्यो । रुक्मणी खड्का पनि त्यही संघमा आवद्ध थिइन् ।   

रुक्मणी अरुभन्दा भिन्न लाग्यो र आफैँले प्रस्ताव राखे । संघमा बोलाचाल नाइँ ।   

पीर थियो एउटै– साथीहरुले थाहा पाए भने…!   

प्राय साथी समूहमा मात्रै हिँड्ने भएका कारण रुक्मणीसँग भेटै हुँदैनथ्यो । फोनमा मात्रै कुरा हुन्थ्यो ! 

फोनकै भरमा ७/८ वर्ष चल्यो प्रेम । झाँगिदै गरेको प्रेमलाई वैधानिकता दिँदै २०७५ सालमा लगनगाँठो कसे । ‘प्रस्ताव धेरै आएको थियो अरुबाट पनि । तर खै उनीसँगै प्रेम बस्यो । सायद भाग्यको लेखाजोखा भनेको यही होला !’ 

उचाईमा खासै अन्तर छैन लेख र रुक्मणीको । लेख ३ फिट ९ इन्च, रुक्मणी दुई इन्च बढी । उमेर अन्तर १० वर्ष । आफूजस्तै मान्छे (कम उचाई) सँग विवाह गर्दा राम्रो हुन्छ भन्ने लाग्छ उनलाई ।   

भन्छन्– ‘आफूभन्दा फरक मान्छेसँगको सम्बन्ध दिगो हुँदैन जस्तो लाग्छ । भेदभाव हुन्छ । आफूजस्तोसँग विवाह गरियो भने एकअर्काको पीर मर्का बुझिन्छ । सहयोग मिल्छ ।’ 

विवाह गरेको डेढ वर्ष पुग्दै छ । काठमाडौंमा एउटा घडेरी जोडेपछि मात्रै परिवार विस्तार गर्ने सोच छ उनको । त्यसैले पनि फुर्सदिलो बस्न चाहँदैनन् उनी । नाइट क्लबमा नाइट ड्युटी छ । ‘डिजे’ ।   

बेलुकी ६ बजे कोठाबाट हिँड्छन्, बिहान ३ बजे आइपुग्छन् ।   

वास्तवमा यो उनको रहरको पेसा भने होइन । बाध्यता र परिस्थितिले उनलाई डिजे बनायो । 

सुरुसुरुमा त निकै गाह्रो भयो । म्युजिकको आवाजले तनाव ।   

कहिलेकाहीँ काम गरेकै ठाउँमा निन्द्राले झुप्प बनाउँथ्यो !   

सितीमिती काम पाइँदैन, गाह्रो भयो भनेर पाएको काम कसरी छोड्नु ?   

सधैँ आमा बुवाको आश गरेर मात्रै पनि त भएन । केही न केही त गर्नै पर्यो ! 

‘अहिले भने बानी परेको छ । हामीजस्तो मान्छेलाई पैसाकै अभाव हुन्छ, काम हुँदैन । समयले साथ दिए ७७ सालसम्म काठमाडौंमा एउटा घर बनाउने सपना छ । त्यसपछि मात्रै फ्यामीली प्लानिङ्ग गरिन्छ’ –लेखको सपना हो यो ।   

उनको अर्को योजना पनि छ । सरकारले संस्थाका लागि जग्गा दिए दाता खोजेर त्यहाँ अफिस निर्माण गर्ने, संघमा आवद्धहरुलाई तालिम दिने र स्वरोजगार बनाउने ।   

सरकारबाट योभन्दा ठुलो आशा पनि छैन उनको । मात्र आफूजस्ता मानिसलाई शिक्षा, स्वास्थ्य निःशुल्क गरिदेओस् । शिक्षा निःशुल्क भनिएपनि पैसा लिने गरेको उनको भनाइ छ ।   

…र अर्को सपना, ‘आफ्नै मिडिया हाउस खोल्ने र आफ्नो कलाको सदुपयोग गर्ने !’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *