बूढानीलकण्ठ नगरपालिकाको बजेट ७१ करोड

काठमाडौं, असार ३० । आर्थिक वर्ष २०७४/०७५ का लागि बूढानीलकण्ठ नगरपालिकामा ७० करोड ९७ लाख ८६ हजार ६ सय १० रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।

पूँजीगततर्फ ५४ करोड ९७ लाख ८६ हजार ६ सय १० रुपैयाँ र चालुतर्फ १८ करोड रुपैयाँ बजेट प्रस्तुत गरिएको छ ।बूढानीलकण्ठ नगरपालिकाको प्रथम नगरसभा बिहीबारदेखि सुरु भएको हो।

सभाको सांसद डा राजन भट्टराईले उद्घाटन गर्दै सरकारले स्थानीय तहलाई असाधारण अधिकार दिएकाले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तह लोकतन्त्रलाई संस्थागत गर्ने निकाय भएकाले सर्वसाधारणलाई अपनत्व हुने गरी काम गर्नुपर्ने बताउँदै स्थानीय तह स्थानीय सरकार भएकाले स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका प्रमुख उद्धव खरेलले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बूढानीलकण्ठको विकास गर्न सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख खरेलले खानेपानी र भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । उहाँका अनुसार खानेपानी पूर्वाधार निर्माण र वितरणमा एक करोड ५० लाख, शैक्षिक सुधार र पूर्वाधार विकासमा एक करोड २५ लाख, फोहोर मैला व्यवस्थापनमा एक करोड, बालमैत्री बूढानीलकण्ठ निर्माणमा ५० लाख र नगरपालिका भवन निर्माण गर्न पाँच करोड रुपैयाँ बजेट प्रस्तुत गरिएको थियो ।

उहाँले शनिबार बजेट र नीति तथा कार्यक्रम बारेमा छलफल गरिने जानकारी गराउनुभयो । कार्यक्रममा उपप्रमुख रमा राईले बूढानीलकण्ठको विकास गर्न आफूहरु प्रतिबद्ध भएको बताउनुभएको थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *